सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्ते। मेरो नाम रिजन के.सी. हो। मेरो घर दाङ तुल्सीपुर हो। अहिले हिमाल एकाडेमी तुल्सीपुरमा कक्षा ६ मा पढ्छु।
मेरो स्कुल लकडाउनका कारण बन्द छ। बाबाममी दुवै शिक्षक भएकाले मलाई घरमा उहाँहरूले नै सिकाइरहनुभएको छ। हाम्रो कक्षा ५ को अन्तिम परीक्षा सकिएर स्कुल बिदा हुन्छ भन्ने थियो। बिदामा बाबाममी र सानो बहिनीसँग हाम्रो पुर्ख्याैली घर र मामा घर सल्यानमा घुम्न जाने, खेल्ने, रमाइलो गरेर बिताउने योजना थियो।
सल्यान गएर घरको हजुरआमा, ठूलोबुवा ठूलोममी, दाइदिदीहरू र मामाघरमा मामामाइजू, भाइहरू र हजुरबुवा हजुरआमासँग भेट्ने, मामाघरको भाइ र साथीहरूसँग खोलामा पौडी खेल्न जाने, माछा मार्ने, काफल खाने, ऐसेलु खाने ठूलो सपना लकडाउनले पूरा गर्न दिएन। मलाई गाउँघर, खोला, जंगलमा घुम्न जान एकदम मन पर्छ।
लकडाउन भएको पनि अब त झण्डै डेढ महिना भयो। अझै हटने निश्चित छैन। लकडाउन शब्द मेरो लागि पहिलो पटक भएकाले यसको अर्थ र यस अबधीमा अपनाउनु पर्ने साबधानी प्रति मलाई कुनै जानकारी थिएन। बाबाममी र रेडियो टेलिभिजनबाट घरमै सुरक्षित बस्नु, बाहिर कतै ननिस्कनु भन्ने लकडाउनको अर्थ थाहा पाएँ।
यो अवधिमा अन्य समयभन्दा सरसफाइमा बढी ध्यान दिने, साबुनपानीले मिचिमिचि हात धुने, सबैसँग तीन हात टाढै बस्ने, खोक्दा वा हाछ्युँ गर्दा कुहिनामुनि घोप्टो परेर गर्ने वा रूमाल प्रयोग गर्ने, अरूको घरमा नजाने, आफनो घरमा पनि कोही पाहुना नआउने भन्ने कुरा थाहा पाएँ।
लकडाउनमा घरमा सबै परिवारसँग लामो समय बसेको मेरो पहिलो अनुभव हो। यसले गर्दा मेरो सानो बहिनीलाई मैले समय दिन पाएँ। मैले जानेको कुरा बहिनीलार्ई सिकाइरहेको छु। तर पनि लकडाउनका कारण घरभित्रै बसिरहँदा कहिलेकाहीँ मन साह्रै छटपटिन्छ। याे समयमा युट्युबमा खाने परिकारका भिडिओ हेरेर सबै मिलेर बनाउँछौ, खान्छौ। समय बितेको पत्तो हुँदैन।
विश्वभर फैलिएको कोरोना भाइरस छिटो अन्त्य भइदिए हुन्थ्यो जस्तो लाग्छ। स्कुल खुलेको, स्कुलमा पढिरहेको, साथीभाइसँग भेटेको, साइकल चलाउँदै साथीहरूसँग प्रतिस्पर्धा गरेको, साथिहरूसँग कुराकानी गरेको सपना देखिरहन्छु।
बाबासँग ल्यापटपमा कम्प्युटर सम्बन्धी कुराहरू पनि सिक्दैछु। ममीसँग गमलाका फूलहरूमा पानी चार्छु, गोडमेल गर्छु। कोठा सफा गर्छु। बहिनीलाई चित्र बनाउन सिकाउँछु। युट्युबमा 'सर्च' गरेर कक्षा ६ को गणित, विज्ञान, अंग्रेजी र नेपाली विषयवस्तु हेर्छु र आफूले पनि त्यहीअनुसार अभ्यास गर्छु।
मेरो फेसबुक अकाउन्ट पनि बाबाले भर्खरै बनाइदिनुभएको छ। कहिलेकाहीँ मेसेन्जरमा कक्षाका साथीहरूसँग, सर-म्यामहरूसँग र आफन्तहरूसँग भिडिओ कल गर्छु। समय गएको पत्तो हुँदैन।
घरमा बाबाममी बहिनीसँग कहिले मोबाइलमा लुडो खेल्छौं, कहिले क्यारमबोर्ड खेल्छौं, सँगै नेपाली पुराना चलचित्रहरू हेर्छौं। भान्सामा सँगै मिलेर पकाउँछौ, कपडाहरू सबैले मिलेर सँगै धुन्छौं।
यसरी ममीबाबा र बहिनीसँग सँगसँगै खेल्दा, समय बिताउँदा बिताउँदै घरमै मेराे असल साथीहरू पो भेटाए। मेरो ममीबाबा र बहिनी मेरो मिल्ने असल साथी बन्नुहोला भनेर कहिल्यै सोचेको थिइनँ।
तपाईंहरूले पनि आफ्नै घरको परिवारका सदस्यलाई असल साथी बनाउनुहोस्। घर परिवारको सदस्य नै हाम्रो जीवनभरिको असल र सधैं साथमै भइरहने साथी हुन्। उहाँहरूलाई सहयोग गर्नुहोस्। उहाँहरूका कुरा सुन्नुहोस्।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com