सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
विश्वभर नै फैलिएको कोरोना भाइरसको महामारीले संसार आज ठप्प भएको छ। चीनको वुहानबाट फैलिएको यस भाइरसको संक्रमणका कारण विकराल परिस्थितिको सिर्जना हुन पुगेको हो। यो अकल्पनीय परिस्थिति हो।
विश्वका ठूल्ठूला देशले पनि यस महामारीबाट सिर्जिएको भयावह परिस्थिति भोग्नुपरिरहेको छ। सडकहरू, उद्योगहरू, ठूल्ठूला सहरहरू सुनसान बनेका छन्। संसारका व्यस्त सहरहरू अकल्पनीय मौनतामा रुमल्लिरहेका छन्।
सन् २०२० को आगमनमा नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्ने झन्डै दुई लाख पचास हजार मानिसहरू हामीमाझ छैनन्।
कोरोना महामारीबाट नेपाल पनि प्रभावित बन्दै गइरहेको संकेत देखापर्न थालेको छ।
हामी झन्डै डेढ महिनाको लकडाउनको अवधिमा संघर्षरत छौं। रोग नफैलियोस् भनेर अहिले सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यता छ। भिडभाडमा नजाने, संक्रमितको सम्पर्कमा नआउने, मास्क तथा स्यानिटाइजर प्रयोगमा ध्यान दिने आदि कामले यसको जोखिम कम त होला तर यससँगै समाजका विभिन्न पक्षहरूमा पर्न गएको असरबाट मुक्ति पाउन केही समय लाग्न सक्छ।
हाम्रा सामाजिक, आर्थिक, दैनिक, सांस्कृतिक आदि समस्त पक्षलाई यसले तहसनहस बनाइदिएको छ। सबभन्दा बढी असर थोरै आय भएका गरिब, मजदुर तथा असहायहरूलाई परेको छ। भोकमरीको भयावह अवस्था सिर्जना हुने देखिएको छ। मजदुरी गर्ने र एक छाक खाएर दिन काट्नेहरूका लागि आज काठमाडौं निर्दयी सहर बन्न पुगेको छ।
रुँदै–रुँदै राजमार्गहरूमा पैदल यात्रा गर्न विवश छन्, सहरका शरणार्थी। आज गाउँको सामीप्य खोज्दै लामो यात्रामा तल्लीन छन् मजदुरहरू।
महामारीका कारण सबैतिर भविष्यप्रतिको अन्योल बढेको छ। जति चुनौती हामीले सामना गर्नुपरेको छ त्यति नै अवसरहरू पनि खडा हुन सक्ने देखिन्छ।
अब विश्व समुदायले आफ्ना मूल्य–मान्यतामा परिवर्तन गरी भविष्यमा यस्ता संकटसँग जुध्ने योजनाको तर्जुमा गर्नुपर्ने बेला आएको छ। शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रहरूमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ। पर्यावरणीय अनुकूलतालाई ध्यानमा राखी अबका पिँढीले भविष्यप्रति सचेत हुनुपर्ने देखिएको छ।
कामना गरौं, यस चरम संकटको घडीबाट मानवजातिले यथाशीघ्र मुक्ति पाउनेछन्।
(अनुष्का भट्टराई, बुढानिलकण्ठ स्कुलमा कक्षा दसमा पढ्छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)