सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
अन्तिम परीक्षा सकिएपछि काठमाडौं सहर घुम्ने ठूलो रहर थियो। बाबाले पनि यसपटक वार्षिक परीक्षा सकिएपछि नयाँ शैक्षिक सत्र सुरू नहुन्जेल काठमाडौं घुमाउने बाचा गर्नुभएको थियो। कोरोना भाइरसका कारण विश्व नै प्रभावित भएकाले मेराे इच्छा पूरा हुन पाएन। नेपाल सरकारले पनि घर बाहिर ननिस्कन अनुरोधका साथ लकडाउन जारी गर्यो। गाडी, हवाइजहाज सबै बन्द भए।
परीक्षा सकिएपछिको केही दिन त कस्तो आनन्द लाग्ने। न गृहकार्य गर्नुपर्ने, न स्कुल तयारीका लागि बिहानै उठ्नुपर्ने। परीक्षा सकिएको केही दिन त घरमा आमाबाबा र साथीभाइसँग रमाइलो गरी बित्यो। तर लामो समयसम्म घरमा बसिरहँदा त कस्तो अत्यास लाग्ने रहेछ। कहाँ जाउँ, के गरूँ समय बिताउनै गाह्रो।
चैतकाे अन्तिम साता परीक्षाको रिजल्ट आउने र वैशाखको पहिलो सातादेखि विद्यालय सुरू हुने सुचना भएअनुसार मेरो मनमा धेरै खुल्दुलीहरू थिए। परीक्षाको परिणाम कस्तो हुने हो? नयाँ किताब, थपिएका नयाँ साथीभाइ आदिले मेरो मन उत्सुकताले भरिएको थियो। लकडाउन निरन्तर लम्बिएकाले मेरो उत्सुकता पूरा हुन पाएन।
यसरी लामो समयसम्म घरमा बसिरहन पनि पट्यार लाग्दो। घरमा टिभी पनि छैन। इन्टरनेट भने जोडिएको छ। कहिलेकाहीँ मामुबाबाको मोबाइलमा युट्युब हेर्छु। युट्युब पनि कति हेर्नु? त्यसैले कहिले आफ्नै कक्षाको किताबहरू पढ्छु। कहिले भाइ र बाबासँग अन्ताक्षरी खेल्छु। कहिले चित्रहरू पनि बनाउँछु। चित्रकला मलाई एकदम मन पर्छ। चित्र बनाएर मामुबाबालाई देखाउछु। खुसी भएर स्याबास् भन्नु हुन्छ। म फुरूंग हुन्छु। यसरी नै समय बितिरहेको छ।
एकदिन मामुले मलाई भान्सामा बोलाएर आफूले खाना पकाउँदै पकाउने तरिकाका बारे भन्नुभयो। मैले पनि ध्यान दिएर सुनेँ र हेरेँ। भोलिपल्ट मामुले मलाई खाना पकाउन भन्नुभयो। म पनि खुसी हुँदै खाना पकाउन तयार भएँ। मामुले भने अनुसार सबै सामान तयार गरी खाना पकाएँ। भात त पहिले पनि पकाउन सक्थें तर तरकारी दाल पकाउन आउँथेन। यस पटक तरकारी र दाल पनि पकाउन सिकेँ।
मामुबाबाले पनि त्यसदिन खाना मिठो छ भन्नुभयो। म खाना पकाउन जानेकाेमा एकदम फुरूंग भएँ। अब त मामुबाबा नभएका बेला पनि सजिलै खाना पकाउन सक्छु। सामान्य भए पनि धेरै ठूलो कुरा सिकेको जस्तो लागिरहेको छ।
यसै समयमा मैले साइकल चलाउन पनि सिकेँ। घर नजिकैको चौरमा साइकल सिकेँ। यसले ममा एउटा अर्को खुसी थप्यो। यी साना कुराहरू हाम्रो जीवनमा कति धेरै महत्वपूर्ण छन् भन्ने मलाई अनुभूति भइरहेको छ।
एकदिन म घरमा खाना खाइरहेकी थिएँ। गेटमा 'दिदीदिदी' भनी बोलाएको आवाज आयो। म दगुर्दै गेटतिर गएँ। दुई जना म जत्रै, एक जना मेरो भाइ जत्रै ढोकामा उभिरहेका थिए। मैले के हो भनेर सोधेँ। उनीहरूले चामल दिनु न भने।
लकडाउनका कारण उनीहरूको बुवा काममा जान नपाएकाले घरमा खाना नभएको उनीहरूले बताए। मैले यो कुरा मामुबाबालाई आएर भने। उहाँहरूले भाँडोमा चामल र केही पैसा दिन भन्नुभयो। मैले लगेर उनीहरूलाई चामल र पैसा दिएँ।
'तिमीहरू जस्तै बालबालिकाको कस्तो दयनीय अवस्था छ हेर त? यस्तो अवस्थामा सबैले सबैको सहयोग गर्नुपर्छ,' बाबाले भन्नुभयो।
मलाई यो कुराले साह्रै मन छोयो। ती बालबालिकालाई केही समय सम्झिरहेँ र मनमनै सोचेँ यस्ता घरपरिवार र बालबालिकालाई पहिचान गरी समयमै सरकारले व्यवस्था गरेको भए उनीहरू घर घरमा गएर माग्नु पर्ने अवस्था आउँथेन होला।
यसै बेलादेखि हामीले खाना कहिल्यै फाल्नु हुँदैन भन्ने कुराको पनि मलाई ज्ञान भयो।
(ईशा थापा, तक्षशिला एकेडेमी, कोहलपुरमा कक्षा ४ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com