सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चैत ६ गते बिहानै 'ममाले आजदेखि स्कुल बिदा' भनेपछि मात्र थाहा भयो कोरोनाले गर्दा मेरो स्कुल बिदा भएको रहेछ। सुरूका केही दिन धेरै डर लाग्यो। मलाई पनि कोरोना लाग्यो भने? ममाले सम्झाउनु भयो- राम्रोसँग साबुनपानीले हात धुने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गरी सफा बसेमा केही पनि हुँदैन।
ममाले पढाउने कलेजहरू पनि लकडाउनको कारण बिदा भएकाले बाबाले हामी दुवैलाई आफूसँगै आफ्नो अफिस बाँके जिल्लाको इप्रका धनौली खजुरामा लैजानुभयो। सबैको बिदा हुँदा पनि बाबाको बिदा हुँदैन रहेछ। बाबाजस्तै अरू धेरै पुलिस अंकल, आन्टीहरूको पनि बिदा नहुँदो रहेछ। यता अफिसमा बाबासँग बस्दा बल्ल मैले थाहा पाएँ कि यस्तो अप्ठ्यारो बेलामा पुलिसहरू त सुत्न पनि नपाउँदा रहेछन्।
थोरै होमवर्क गर्न पनि म अल्छि मान्थेँ। यहाँ आएर बाबा र अरू पुलिस अंकल आन्टीहरूले दिन रात नभनी काम गरेको देखेर उहाँहरू जस्तै हुन मन लागेको छ। उहाँहरूलाई त शनिबार, बिदा, लन्चब्रेक, साथीहरूसँग बोल्ने खेल्ने समय केही पनि नहुँदो रहेछ।
बाबासँगै बस्दा पनि म कहिलेकाहीँ मात्रै बाबालाई देख्न पाउँछु। सँधै ड्युटीमा अफिस बाहिर जानु पर्ने र मान्छेहरूको समस्याको समाधान गर्नुपर्ने भएकाले हामी बसेको बाबाको क्वाटरमा आउनुअघि उहाँ सधैं नुहाउनु हुन्छ।
बाबासँग एकछिन बस्न नपाउँदै उहाँकाे फोन बज्न थालिहाल्छ। अनि बाबा मलाई छोडेर गइहाल्नुहुन्छ। सधैं काममा व्यस्त रहने ममा भने म सँगै हुनु भएकाले मलाई रमाइलै भइरहेको छ।
हामी कथा किताबहरू पढेर, बाबाको अफिसभित्रै खेलेर, भाइबरमा मेरो साथी आरभसँग कुरा गरेर र धेरै माइन क्राफ्ट भिडिओहरू हेरेर दिन बिताउँदैछौं।
अहिले त स्कुलबाट गृहकार्यहरू पनि पठाइदिनुभएको छ। गृहकार्य गर्न अल्छी लाग्दा झ्यालबाट बाहिर हेर्छु। कति धेरै अरूको सेवा र रक्षा गरिरहेका पुलिस अंकल आन्टीहरू देख्छु। उहाँहरू जस्तै बन्नु छ भनेर गृहकार्य राम्रा अक्षरमा गर्न थाल्छु।
गृहकार्य गर्दैगर्दा ड्युटी सकाएर आउनु भएका अंकलहरूमध्ये एक जनाले सधैं भन्ने गरेको सुन्छु, 'ड्युटी गर्ने पुलिसलाई कोरोना लाग्दैन अरे!'
म निदाउनुअघि बाबालाई भेटे भने पक्कै सोध्छु, 'बाबा, के साँच्चै सबैलाई लाग्ने कोरोना पुलिसलाई लाग्दैन हो?'
(आग्नयराज थपलिया सेन्ट जेभियर स्कुल जावलाखेल, ललितपुरमा कक्षा २ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com