सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम संकल्प भट्टराई हो। म समृद्धि स्कुलमा कक्षा ६ मा पढ्छु। मेरो गाउँ तनहुँ, बन्दिपुर हो। अहिले हामी काठमाडौंको तारकेश्वर नगरपालिका लोलाङमा बस्छौं।
हाम्रो विद्यालयको अन्तिम परीक्षा चैतको दोस्रो हप्तामा गर्ने कुरा थियो। कोरोना महामारीका कारण परीक्षा अगाडि सरेर चैत ३ गते नै सकियो। परीक्षा छिटो सकिएपछि धेरै दिन बिदा हुने कुराले म निकै रमाएको थिएँ। साथीहरू पनि खुसी थिएँ। यो बिदामा मेरो गाउँ जाने योजना थियो।
गाउँमा गएर गोरू, भैंसी चराउने र पौडी खेल्ने कुरा सम्झिएर पनि म ज्यादै खुसी भएको थिएँ। कोराेना महामारीका कारण आमाबुबाले मलाई गाउँ पठाउनु भएन। दिक्क लाग्यो।
केही दिन त साइकल चलाउने र युट्युब हेर्ने गर्दा रमाइलै लागेको थियो। पछि लकडाउनका कारण घरबाट बाहिर निस्कन पनि पाइएन। साइकल चलाउन पनि बन्द भयो। युट्युब हेर्न पनि मन लाग्न छाड्यो। लकडाउन भएको हप्ता दिन जतिमा त मलाई यति धेरै दिक्क लाग्यो बरू स्कुल जान पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो।
आमाबुवाले महाभारत पढ्ने कुरा गर्नुभयो। मेरो बुवाले पहिले पनि मलाई महाभारत, रामायणका कथाहरू सुनाउनु भएको थियो। ती कथा फेरि सुन्न पाइने भयो भनेर म खुसी भएँ।
हामीले महाभारत र रामायणका कथा पालैपालो पढ्यौं। मलाई ती कथा ज्यादै रमाइला लागे। यी दुवै किताब लय मिलाएर पढ्नु पर्ने रहेछ। सुरूमा त मलाई गाह्रो लाग्यो। विस्तारै अलिअलि पढ्न सक्ने भएँ। अहिले त म पनि लय हालेर कविता पढ्न सक्छु।
अहिले त लेखनाथ पौड्यालका कविता पनि लय हालेर पढ्न सक्छु।
घरमा हामीले काम पनि मिलेर गर्न थाल्यौं। आमा र दिदीले खाना बनाउनु हुन्थ्यो। बाबा र म मिलेर भाँडा माझ्थ्यौं। यो बिदामा मैले पनि चिया पकाउन, अम्लेट बनाउन सिकेँ। तरकारी केलाउन, भात पकाउन र आलु फ्राई गर्न पनि सकेँ। कोठा बढार्न र लुगा धुन पनि सिकेँ।
लकडाउनमा म ५ कक्षा पास भएर ६ कक्षा पुगेँ। एक हप्ता भयो हाम्रो अनलाइन पढाई पनि सुरू भएको। दिनको तीन घन्टा पढाइ हुन्छ। कुनै गुरू, गुरूआमाले रमाइलोसँग पढाउनु हुन्छ भने कुनैले पढाएको बेला ज्यादै अल्छी लाग्छ। गृहकार्य धेरै दिएको मलाई मन पर्दैन। कहिलेकाहीँ बत्ती जान्छ र इन्टरनेट पनि हुँदैन।
अनलाइन कक्षा सुरू भएपछि मैले अंग्रेजी तथा नेपाली टाइप पनि अलिअलि सिक्दै छु। यो लेख पनि मैले केही आफैंले टाइप गरेको हुँ। बाँकी बुबाले टाइप गरिदिनुभयो।
लकडाउन अल्छीलाग्दो भए पनि मैले नयाँ कुरा सिक्ने मौका पाएँ। यो कोरोना भाइरसको औषधि छिट्टै पत्ता लागेर जीवन पहिले जस्तै होस् जस्तो लाग्छ। स्कुल र साथीहरूलाई धेरै मिस गरेको छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)