सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो लागि आमा संसारको सबै प्रकाश बराबर हुन्। जोसँग पूरै संसार उज्यालो र छर्लङ्ग पार्न सक्ने क्षमता छ। हामी सबैले आमाको लागि आफ्नो भावना त अभिव्यक्त गर्छौं तर आमाको हाम्रोनिम्ति भावना कहिल्यै अभिव्यक्त हुँदैन। लकडाउनको समयमा मैले मेरी आमाको मेरो निम्ति भावनाको विश्लेषण गर्ने अवसर पाएँ।
मातातिर्थ औंसीमा म कुनै फरक भवना लिएर उठेको थिइनँ। यो दिन क्रुर मान्छेहरू आफ्नो जन्मदिने आमालाई बृद्धाश्रममा लगेर छोडेर जान्छन् र कर्तव्यपरायन छु भनेर आमासँग फोटो खिचेर फेसबुकमा हालेर ढोंग रच्छन्। त्यसैले मान्छेका लागि हरेक दिन मातातिर्थ औंसी र कुशे औंसी हुनुपर्छ।
त्यो दिन मेरी आमा सानो टीकाको थाली बोकेर म कति बेला उठ्छु भनेर प्रतीक्षा गरिरहनु भएकाे थियो। म उठेपछि टीका लगाइदिएर भन्नुभयो, 'आज मातातिर्थ औंसीको दिन मैले तिमीले मलाई शुभकामना दिन्छौ भनेर टीका लगाइदिएको होइन। मेरो लागि तिमी नै हौ मेरी आमा। मलाई खुसी साथ बाँच्ने प्रेरणा दिने। जतिसुकै जटिल समस्यालाई पार गर्न हौसला दिने। मातातिर्थ औंसीको शुभकामना मेरी छोरी।'
त्यो दिन मैले आफ्नो महत्त्व बुझेँ। संसारका सबै आमाहरू जो आफ्नो इच्छा आकांक्षालाई बेग्लै राखेर, आफ्नो छोराछोरीलाई आकाश चुमाउने लक्ष्य बोकेर हिँड्छन्, सबै आमाहरूलाई मेरो कोटीकोटी नमन।
अब आउने मातातिर्थ र कुशे औंसीमा फेसबुकमा ढोंग रच्न होइन, अहिलेसम्मको सबै गल्तीकाे माफी मागेर आदरसाथ शुभकमना व्यक्त गरौं। हामी सबै आ-आफ्ना मातापिताको जिउने आधार हौं। हामी आ-आफ्ना मातापिताको मात्र नभएर यो धर्तीमाताको पनि वंशज हौं। रामायणमा पनि श्री रामले लक्ष्मणलाई आफ्नो धर्ती माताको महिमाको गीत गाउँदै भनेका छ्न्,
अपि स्वर्ण मयि लङ्का
नमे लक्ष्मन रोचतेस्
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
आजैदेखि आफ्नो आमालाई खुसी बनाएर यो संसारलाई उज्यालो बनाऔं। कुपुत्र जन्मन सक्छ, कुमाता हुन्न केही गरी। माता हुन् वा महामाता सम्झन्छु म सधैंभरी।
(सौम्या घिमिरे बुढानिलकण्ठ स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)