सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मलाई याद छ २०७६ फागुन २१ गते बिहान ९ बजे म ममीसँग स्कुटरमा स्कुल जाँदै थिएँ। एयरपोर्ट नजिक पुगेपछि ममीले भन्नुभयो, 'छोरी कोरोनाको कारण सरकारले सबै स्कुलकाे परीक्षा चैत ५ भित्र सकाउनु पर्ने भनेको छ।'
म आश्चर्यमा परेँ र किन ममी भनेर प्रश्न गरेँ। उहाँले कोरोना भाइरस चीन हुँदै अन्य मुलुकमा फैलँदै गएको, हजारौँ मान्छेले ज्यान गुमाइएको भन्दै नेपालमा पनि सरकारले कोरोना रोकथामको लागि परीक्षा छिटो सकाउनु पर्ने बारेमा जानकारी गराउनुभयो। अन्य देशमा कोरोनाको कारण मानिसको ज्यान गएको त थाहा थियो तर हाम्रो देशमा यसको असर पर्छ र परीक्षा नै सर्छ भन्ने मैले सोचेको रहेनछु।
ममीसँग कुरा गर्दागर्दै स्कुल पुगेँ। कक्षा ११/१२ का दाइदिदीहरूको परीक्षा चलिरहेको रहेछ। त्यसैले म एकछिन स्कुलको चौरमा बसिरहेँ। कक्षा सुरू हुन पाँच मिनेट थियो। सबै साथी विद्यालय आइसकेका थिए। हामी सबै मैदानमा बसिरहेका थियौं। मैले ममीले भनेको कुरा साथीहरूलाई सुनाएँ। उनीहरू सबै छक्क परे।
आत्तिन पनि थाले, 'ला हामीले पढेकै छैनौं। छिटो परीक्षा भयो भने के गर्ने?' चैतको ९ गतेबाट परीक्षा हुने भनिएको थियो। त्यही अनुसारको तयारी गरिरहेको थिएँ। अचानक फागुन २७ गतेबाट हुने भनेपछि म पनि चिन्तित भएँ।
परीक्षाको लागि ५ दिन बाँकी थियो। के के पढ्ने, परीक्षा कसरी दिने भनेर सबै जनाको मनमा प्रश्न उठ्यो। सबै जना कक्षामा गयौं। शिक्षकहरूले पनि केही ढिला नगरी अध्ययनमा ध्यान दिन भन्नुभयो। अघिपछि केही हल्ला हुने हाम्रो कक्षा त्यो दिनबाट निकै शान्त हुन थाल्यो। परीक्षाको अघिल्लो दिनसम्म सबैले अध्ययन तर्फ अलि बढी नै ध्यान दिइरहेका थिए।
कक्षा ९ बाट १० मा जाने बेला भएको थियो। सबै विषयको पाठ याद गर्नु थियो। परिस्थितिको सामना गरेर परीक्षा उत्तीर्ण गर्नु नै थियो। त्यसैले सबैले मिहेनेत गरेर परीक्षा दियौं। परीक्षा सकिएपछि बिदा भयो। चैत ८ गते काठमाडौंबाट बागलुङ जानको लागि मामामाइजू आउनु भएको थियो। परीक्षा सकिएकाले म र भाइ पनि मामामाइजूसँग बागलुङ गयौ।
चैत ११ गते मामासँग म र भाइ पोखरा फर्कने र गाउँको घर जाने योजना बनाएका थियौं। ११ गते नै सरकारले कोरोना रोकथामको लागि भन्दै लकडाउन गर्यो। लकडाउनले गाडीहरू नचल्ने भएपछि हामी पोखरा फर्कन पाएनौं। लामो समय पछि मामा घर गएको र सबैजना भएकाले पनि मामा घरमा रमाइरहेका थियौं।
सधैं एक्लै हुने हजुरआमा यो समयमा भने घरभरी छोरा बुहारी नातिनातिना देख्दा खुसी हुनुहुन्थ्यो। घरिघरि दसैं आएजस्तो भो भन्नुहुन्थ्यो। हप्तादिनपछि मलाई चिसोले रूघा लाग्यो। कान दुख्न थाल्यो। भाइलाई पनि रूघा खोकी लाग्न थाल्यो। हजुरआमाले जडिबुटीबाट तयार गरेको घरेलु औषधि खायाैं।
चैत १५ गते साँझ ४ बजे ममीको फोन आयो। म र भाइ बिरामी भएको कुरा सुनाएँ। ममी अलि आत्तिनु भयो। त्यही दिन बागलुङमा एक जना दिदीमा कोरोना संक्रमण देखिएको थियो। ममीले सर्तकता अपनाएर बस्न र नआत्तिन भन्नुभयो। उहाँले हामीलाई बागलुङबाट पोखरा ल्याउन धेरै उपायको खोजी गर्नु भएछ। अन्तमा केही उपाय नभएपछि त्यही दिन स्कुटर लिएर बागलुङ आइपुग्नु भयो। राति ८ बजे ममीलाई देख्दा निकै खुसी लाग्यो। पछि ममीले सुनसान रातमा एक्लो यात्राको अनुभव सुनाउनुभयो। डर पनि लाग्यो।
त्यो रात भाइ बिरामी भएर रातभर सुतेन। पेट दुख्यो भनेर आत्तियो। भोलिपल्ट पोखरा जाने एउटा गाडीमा कुरा त भयो तर कोरोना परीक्षणको नमूना लिन आएका गाडीमा म र भाइ जान मानेनौं। ममीसँगै स्कुटरमा म र भाइ जान तयार भयौं।
विभिन्न ठाउँमा प्रहरीको कडा चेकजाँच थियो। सधै भिडभाड हुने बाटो सुनसान थियो। रमाइलो अनुभूति गर्न थालेँ। सुनसान बाटो वरिपरिका रूख विरूवाको हरिया पातहरू। चराचुरूंगीका चिरबिर आवाजहरू, बाटोभरी खेलिरहेका बाख्रा पाठाहरू देख्दा कोरोनाको सबै महामारी र भयावहलाई बिर्सेर यात्रालाई रमाइलो बनाइरहेँ। एकनासको यात्रामा म प्रकृतिसँग रमाइरहेकी थिएँ। प्रकृतिको सुन्दर स्वरूप देख्दा मलाई हात फिजाएर उडुँउडुँ जस्तो लाग्यो।
बीच बीचमा थकान मेट्दै र साथमा लगेको खाजा खाँदै करिब सबा ३ घण्टामा हामी पोखरा आइपुग्यौं। बाबालाई आफ्ना अनुभव सुनायौं। कोरोनाको त्रास बढिरहेको थियो। बाबाआमाले समाचार हेर्दा सधै झिँजो मान्ने म कोरोनाको बारेमा बुझ्न समाचार अपडेट हुन थालेँ।
इटालीको भयावह, स्पेन, अमेरिका, लगयतका देशहरूको अवस्थाबारे जानकारी लिँदै गर्दा भारतमा पनि संक्रमणको दर र मृत्यु हुनेको संख्या बढिरहेको थियो। भारतसँगको खुला सिमानाले गर्दा सङक्रमण नेपालका लागि पनि जोखिम हुँदैछ भन्ने कुरा जब बुझ्न थाले झन् चिन्ता थपिँदै जान्थ्यो।
लकडाउनको धेरै दिन कटिसकेको छ। म ममीबाबालाई एउटै प्रश्न गर्थेँ, 'नेपालमा कति जना थपिए? कति निको भएर घर गए?'
लकडाउनमा मैले सबैभन्दा बढी स्कुल र साथीभाइलाई मिस गरेकी छु। कक्षा ९ को रिजल्ट जान्ने हुटहुटी पूरा भएको छैन। कहिलेकाहीँ घरमा स्कुल ड्रेस लगाएर ऐना अगाडि उभिएर रहरहरू मेट्ने प्रयास गर्छु। स्कुल जाने दिन कहिले आउला भन्ने पर्खाइले साह्रै सताएको छ। घरमा बसेर अध्ययन पनि गरेकी छु। स्कुलमा गएर पढेको जस्तो मजा नहुने रहेछ। अब त लकडाउन सकिन्छ होला भन्याे झनै थपिने समाचारले दिक्क बनाएको छ।
यसो सम्झन्छु म जस्ता धेरै विद्यार्थीहरू छन्। सबैले यो परिस्थितिको सामना गरेका छन्। म पनि आत्तिनु हुँदैन भनेर आफैंलाई बुझाउँछु। अर्को विकल्प पनि त छैन।
आशा छ, कोरोना संक्रमण छिट्टै सकिन्छ। पहिलाको जस्तै रमाइलो दिन आउने छ। हामी सबै खुसी साथ बाँच्ने छौ।
(प्राप्ति लम्साल फिष्टेल एकेडेमी पार्दी १७, पोखरामा कक्षा ९ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)