सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चीनको वुहानबाट सन् २०१९ को अन्त्यमा सुरू भएको कोरोना भाइरस अहिले विश्वभरि फैलिएको छ। विश्वका लगभग सबै देश लकडाउनमा छन्। हामी पनि चैत ७ हप्तादेखि लकडाउनमा छौं। मेरो भ्याली भ्यू स्कूल मध्य बानेश्वरमा ८ कक्षाको अन्तिम दिन एक विषयको परीक्षा बाँकी हुँदै सरकारको निर्देशनमा बन्द भयो। हामी सबैको स्वास्थ्यको ख्याल गरेरै सरकारले लकडाउन लागू गरेको र भाइरसको विस्तारलाई रोक्न लकडाउनलाई निरन्तरता दिएको भन्ने मैले समाचारहरूबाट थाहा पाइरहेकी छु।
म जस्तै विश्वका लाखौं विद्यार्थी पढ्ने स्कुल, कलेजहरू मात्र हैन उद्योग, कारखाना, यातायात, सेवामूलक व्यवसाय बन्द छन्। विश्वभरि नै मानिसको आवतजावत र जमघट रोकिएको छ। अझ भनौं घडी र समय चलेको भए पनि पूरा विश्वकाे सामाजिक जीवनचक्र रोकिएको छ।
मेरो ९१ वर्षे बुढो हजुरबुवाले समेत आजसम्म यस्तो देखेको थिइनँ भनेर अचम्म मान्दै हुनुहुन्छ। यस्तो खालको महामारी अहिलेसम्म देखिएको थिएन भन्ने कुरा हामी सबैले थाहा पाउँदैछौं। झण्डै सय वर्षअघि फरक खालको महामारीले हजारौं मान्छे मरेका थिए रे। बाबाले इन्टरनेटबाट पढेर भन्नुभएको।
सय वर्षअघि यो विश्व र मानव जीवन कस्तो थियो होला? आज विज्ञान र प्रविधिको विकास भइसक्दा त हामीलाई माहामारीबाट कहिले र कसरी छुटकारा मिल्ला भन्ने निश्चित छैन। त्योबेला कसरी त्यस्तो महामारीबाट मानिसहरूले छुटकारा पाए होलान्? कति पीडादायी थियो होला त्यति बेलाको अवस्था? सम्झ्दा पनि डर लाग्छ। हामीले विगतबाट शिक्षा र जानकारी लिने हो। वर्तमानलाई आत्मसात गरेर भविष्यका लागि सचेत र सुरक्षित हुनुपर्छ भन्ने कुरा अहिलेको महामारीबाट सिक्नुपर्छ।
जनसंख्या, औद्योगिक विकासले प्रकृति र वातावरणको विनास भयो। मान्छेले जीवन सुविधा सम्पन्न र आरामदायी बनाउन मात्र होइन शक्तिको प्रतिस्पर्धामा भएको आणविक आविस्कारले प्राकृतिक सन्तुलनमा खलबल भएर यस्ता माहामारीसँग लड्न मानिसहरूलाई गाह्रो परेको भन्ने जस्ता कुरा हजुुरबुवा, हजुरआमाबाट सुनेँ।
विज्ञानको विकास र प्रयोग प्रकृतिलाई हानी हुने गरी गर्नु हुँदैन रहेछ। उहाँहरूले भनेको यस्ता कुरा राम्ररी बुझ्न नसके पनि प्रकृति र वातावरण र हाम्रो जीवन बीचको सम्बन्ध कस्तो रहेछ भनेर अलिअलि बुझ्न थालेकी छु। यसबाहेक घर आँगन सरसफाई, खाना पकाउने, लुगा धुने जस्ता थुप्रै व्यवहारिक कुरा सिक्ने मौका पाएको छु।
धार्मिक पूजापाठ र भजनकिर्तनमा सहभागी भएर किताबमा नपढेका थुप्रै कुरा बुझ्न पनि पाइयाे। भाइसँग खेल्ने, टिभी हर्ने मात्र होइन बाबाआमाबाट कथा कहानी सुनेर पनि दिन बिताउन त्यति गाह्रो भएको छैन। परिवारका सबै सदस्य लामो समय सँगै बिताउन पाउनु पनि एउटा अवसर नै हुँदो रहेछ। यो समयले हामीलाई फरक तरिकाले बाँच्ने र सिक्ने अवसर दियो भनेर सकारात्मक रूपमा पनि लिन सकिन्छ।
कोरोनाको डरले हामीलाई घरमा बस्न बाध्य पारेको छ। यदि सामान्य अवस्था भएको भए अहिले हामी नयाँ किताब बाेकेर स्कुल ड्रेसमा स्कुल जान्थ्यौं। साथीभाइसँग भेटघाट रमाइलो र गुरूहरूबाट नयाँ कुरा सिक्दै हुन्थ्यौं। हामी मात्र किन विश्वका हामीजस्तै साथीहरू पनि पढ्दै हुन्थे। विश्व नै चलायमान हुन्थ्यो। सबै कुरा सामान्य र कोरोना महामारी अगाडिको जस्तै भइरहेको हुन्थ्यो।
सबै कुरा पहिले जस्तो कहिले होला भन्न त सकिन्न। यो कठिन समय लामो नरहला भन्ने आशा भने गर्न सक्छौं। कोरोनाबाट मुक्त हुन औषधि र खोपको आविष्कार गर्न विश्वका वैज्ञानिकहरू अनुसन्धानमा लागिरहनुभएको छ। उहाँहरूले हामी र आगामी पुस्ता सबैलाई यस महामारीबाट मुक्त पार्ने उपाय चाँडै पत्ता लगाउनु हुनेछ। क्षितिजमा उज्यालो किरण चाँडै देखिनेछ।
यो त केही समयको कठिन परीक्षा मात्र हो। परीक्षा राम्रो भएपछि नतिजा पनि राम्रै हुनेछ। विश्व फेरि सामान्य हुनेछ। हामी सबै फेरि नयाँ बिहानीमा उत्साह र उमंगका साथ अगाडि बढ्नेछौं। अहिलेलाई सरकारले भनेजस्तै घरमा बसौं। सुरक्षित बसौं।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)