सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्ते। मेरो नाम दिव्या दाहाल हो। म जाजरकोटबाट कक्षा तीनको परीक्षा दिएर सुर्खेत आएर बसिरहेकी छु। लकडाउनले गर्दा चार कक्षामा सुर्खेतको कुन स्कुलमा पढ्ने केही थाहा छैन।
मेरो पुर्ख्यौली घर जाजरकोट खलंगा हो। अहिले भर्खरै लकडाउन हुनुभन्दा एक हप्ता अगाडि मात्रै हामी सुर्खेतमा घर बनाएर सरेका छौं। ममीसँग बसेर पढ्नका लागि म सुर्खेत पहिलोपटक आएकी हुँ।
तर लकडाउनले गर्दा सुर्खेतको बजार अहिलेसम्म देखेकाे छैन। घरभित्र बसेको पनि यतिका दिन भयो। मेरो घर नयाँ बन्दै गरेको भएकाले ममी र म मात्रै बस्छाैं। घरमा एकदम सुनसान लाग्छ।
बाबा साउदी अरबमा जागिर गर्नुहुन्छ। मेरो जस्तै तपाईंहरू धेरैको बाबा पनि विदेशमा हुनुहुन्छ होला। ममीको किराना पसल छ। अहिले लकडाउनका कारण सबै बन्द छ। पसल खोल्न पाउनु भएको छैन। पसलको सामानहरू बिग्रन लाग्यो होला भनेर ममीले चिन्ता गर्नुहुन्छ। बन्दले गर्दा घरमा इन्टरनेट पनि जोड्न पाएका छैनौं। छिमेकी आन्टीको घरमा गएर युट्युब हेर्छु।
मलाई मेरो अंकलले अनलाइनबाट कक्षा ४ को गणित र अरू विषय सिकाइ दिनुहुन्छ। मलाई होमवर्क पनि मेसेन्जरबाट पठाइदिनुहुन्छ। म दिनभर प्राय अंकलले दिनुभएको होमवर्क गरेर समय बिताउँछु।
जाजरकोटका साथीहरूको घरको हजुरआमा, हजुरबुवा, अंकल, आन्टीको याद आइरहन्छ। मामाघरको हजुरआमाले मलाई माछा ल्याएर भेट्न आउने भन्नु भएको थियो। मलाई माछा एकदम मन पर्छ। बन्दले गर्दा माछा पनि खान पाएकी छैन।
खेल्ने साथीहरू पनि अहिले नयाँ ठाउँमा कोही छैनन्। ममीसँग सुर्खेत बजार घुम्ने, नयाँ लुगा किन्ने, आइसक्रिम खाने कस्तो इच्छा थियो। काक्रेबिहार, देउती बज्यै मन्दिर घुम्न जाने र फोटो खिचेर बाबालाई पठाइदिने भनेको पनि पूरा भएको छैन।
कोरोना भाइरसले संसारभर र नेपालमा पनि धेरै मान्छे बिरामी भएका छन रे। अनि धेरै मान्छे मरिरहेका छन्। यो भाइरस सुरूमा चीनबाट आएको हो। मलाई पनि एकदम डर लागेको छ।
यो रोगबाट बच्नका लागि साबुनपानीले हात धोइरहनुपर्छ रे। हात कसैसँग मिलाउनु हुँदैन रे। काम गर्दा सधैं मास्क लगाउनुपर्छ रे। ज्वरो आयो, खोकी लाग्यो र सास फेर्न अप्ठ्यारो हुने बित्तिकै अस्पताल गइहाल्नुपर्छ रे।
मेराे बाबा र सबैको बाबाहरू सुरक्षितसँग बस्नुहोला ल। सुरक्षित हुनका लागि मैले भनेको जस्तै गर्नुहोला नि। हजुरहरूको स्वास्थ्य सधैं राम्रो होस् भनेर भगवानसँग प्राथना गरिरहन्छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)