सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम कौशिन कार्की हो। घर उर्लाबारी मोरङ हो। बाबाको नाम कुमार, ममीको सरीता र भाइको सुयोग हो। म पशुपति आवासीय विद्यालय उर्लाबारीमा अध्ययन गर्छु।
भर्खर सकिएको फाइनल परीक्षाबाट कक्षा ३ उत्तीर्ण गरी ४ कक्षा प्रवेश गरेकी छु। कक्षा उत्तीर्ण गरे पनि मैले विद्यालय जान पाएकी छैन। नयाँ कक्षामा भर्ना हुन र साथीहरूसँग खेल्न र रमाइलो गर्न पाएकी छैन।
कक्षा ३ को रिजल्ट आयो तर हेर्न पाएकी छैन। ममीले विद्यालयमा फोन गरेर रिजल्ट सोधिदिनु भयो। मैले ८९ प्रतिशत ल्याएकी छु रे। मेरा सबै साथीहरू पनि पास भएछन्। मेरो रोल नम्बर ६ भएछ।
कोरोनाका कारण लकडाउन भएको ४७ दिन भयो। ममी, भाइ र म घरमा बसिरहेका छौं। मामाघर पनि जान पाएकी छैन। अरूबेला छुट्टी भए हुन्थ्यो भन्ने लाग्थ्यो। तर लकडाउन निकै लामो लागिरहेको छ। लकडाउनले बाबा पनि नेपाल आउन पाउनु भएन। बाबा आएपछि घुम्न जाने भनेर योजना थियो। कक्षा १ मा पढ्दा ममीबाबासँग कतार घुम्न भएको याद आइरहेको छ। त्यो बेला भाइ जन्मेको थिएन।
स्कुलका मिल्ने साथीहरू स्मारिका, आदर्श, प्रेस्कालाई मिस गरिरहेकी छु। त्यस्तै, अल्बर्ट सर, अंशुमा म्यामलाई पनि मिस गरिरहेकी छु। ट्युसन पढाउने अंजुमा म्यामलाई पनि मिस गरिरहेको छु। कहिलेकाहीँ मेरी साथी स्मारिकासँग फोनमा कुरा गर्छु। त्यसले पनि मलाई मिस गरेकी छ रे। चाँडै भेटुम्ला भनेकी छु।
ममीले मेरो फेसबुक अकाउन्ट बनाइदिनु भयो। धेरै मैले नदेखेका आफन्त, अंकल आन्टीहरू फेसबुकमा कनेक्ट हुनु भएको छ। म धेरै चलाउन जान्दिनँ तर लेखेका कुरा र फोटोहरू हेर्छु।
लकडाउनको समयमा ममी र भाइसँग बसेर टिभीमा हिन्दी र अंग्रेजी फिल्म हेर्यौं। भाइले फिल्म मन पराउँदैन। सानै भएकाले बुझ्दैन। उसले कार्टुन हेर्छ। उसलाई गीतको भिडियो मन पर्छ। बेलाबेला भिडियो हेरेर नाच्छ।
अरूबेला साथीहरूसँग घरबाहिर एकछिन खेल्ने बानी थियो। आजकल कोही बाहिर निस्कदैनन्। म पनि निस्कन्न। ममीलाई लुडो ल्याइदिनु भनेँ। ल्याइदिनु भयो तर खेल्ने साथी छैन। भाइले खेल्न जान्दैन। त्यही भएर भाइसँग जिस्कने, लुकी खेल्ने मात्र गर्छु। भाइ सानै छ। बेलाबेला झगडा पर्छ।
बाबा साउदी अरबमा हुनुहुन्छ। मे महिनामा आउने अनि घुम्न जाने भन्नु भएको थियो। अहिले त हवाईजहाज नै चल्दैन रे। बाबा आउन पाउनु भएन। दैनिक भिडियो कलमा कुरा हुन्छ।
शनिबार ममीले घुमाउन लानु हुन्थ्यो। रेष्टुरेन्टमा खाजा खान्थ्यौं। लकडाउन लागेपछि घुम्न जान पाएको छैन। रेष्टुरेन्टको मःमः र आइसक्रिम मिस गरिरहेकी छु। लकडाउनमा युट्युब हेरेर आफैं केक बनाउन खोजेँ तर राम्रो भएन।
लकडाउन सकिएपछि चाँडै स्कुल जान पाउने आशामा छु। स्कुलमा नयाँ कक्षाका साथीहरूसँग भेट्न हतार लागेको छ। नयाँ कक्षाका सर र म्याडमहरूलाई भेट्न मन छ। ममीले कक्षा ४ को किताब किनेर ल्याइदिनु भएको छ। चाँडै स्कुल गएर ति किताबहरूको पाठ पढ्ने मन छ। लकडाउन सकिएपछि बाबा आउनुहुन्छ र घुम्न जान पाइन्छ भनेर पनि सोचेकी छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)