सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
आजभोलि मलाई खेल्न नपाएर छटपटी भइरहन्छ। यहाँ धनगढी आएपछि साँझतिर सधैं खेल्ने बानी परिसकेको थियाे। हुन त काठमाडौंमा पनि खेल्थे तर त्यहाँको आँगन नै सानो। लकडाउन भएपछि खेल्न पाएको छैन। आजभोलि कौशीबाट बाहिर हेर्दा साथीहरू पनि आफ्नै घरमा यताउता गरिरहेको देख्छु।
सुरूमा हामीलाई कोरोना भाइरसबारे केही थाहा थिएन। लकडाउन हुनुभन्दा केही दिन अगाडिदेखि हाम्रो खेल्ने काम रोकिएको थियो। घर आँगनमा समूहमा खेल्दा संक्रमण हुन्छ भनेर बुवाले रोक लगाउनु भएको थियो। लकडाउन अघिसम्म हामी लुकीलुकी खेल्ने गर्थ्याैं।
लकडाउन पछि त मैले आँगनमा नजाँदा केही दिनसम्म साथीहरू गेटसम्म आउने र मलाई हातले इसारा गरेर 'आऊ आऊ! केही हुँदैन!' भन्ने गर्थे। तर म जाँदिनथेँ। भित्र मनबाट खेल्ने मन भए पनि जाने आँट आएको थिएन। कस्तो बदमास होला यो कोरोना भनेर मनमनमा लागिरहन्छ।
विश्व महामारीको रूपमा देखिएको कोरोना भाइरस नभएको भए यी दिनहरू खुशीले बितिरहेका हुन्थे। म घुम्न डुल्न पाइरहेको हुन्थे। अझ सानीमाले यसपालि छुट्टीमा पोखरा घुम्न जाने कुरा गर्नुभएको थियो। म पनि उत्साही थिएँ। हुन पनि हामी काठमाडौंमा लामो बसाई भएर पनि पोखरा घुम्न पाएका थिएनौं।
काठमाडौंबाट धनगढी आएको २०७५ चैतमा नै हो। त्यति बेला परीक्षा दिएर गाउँको घर दार्चुला, गोकुलेश्वर जान काठमाडौंबाट आएका थियौं। काठमाडौंबाट आउँदा मेरो मनमा लागिरहेको थियो कि अब गाउँबाट फर्केपछि ठूलो चौर भएको एसओएस हर्मन माइनर स्कुल, सानोठिमीमा पढ्न पाउँछु। कत्ति मज्जा हुन्छ।
मैले निष्ट स्कुलबाट कक्षा ५ मा उच्च नतिजा ल्याएर एसओएसको कक्षा ६ को प्रवेश परीक्षा उत्तीर्ण गरी भर्ना भएको थिएँ। तर गाउँमा पुगेको बेला बुवाको सरूवा भक्तपुरबाट धनगढी भयो। अनि हाम्रो परिवार धनगढी बस्ने निर्णय भयो। त्यसपछि म ऐश्वर्य विद्या निकेतन धनगढीमा भर्ना भएर पढ्न थालेँ। कस्तो संयोग! काठमाडौं जानै पाइएन। यतै बसियो।
सुरूआत नयाँ विद्यालय, नयाँ वातावरण गाह्रो भयो। सबभन्दा कठिन त गर्मीको समयमा बिहान ४.४५ बजे नै विद्यालयको गाडीमा जान तयार हुनुपर्ने। केही समयसम्म निक्कै गाह्रो माने। अस्ति एक्कासि बुवाले हामी सबैलाई कोठामा बोलाउनुभयो। बुवा, आमा, दिदी र म बसिसकेपछि हामीले सल्लाह गर्यौं।
'कोरोना संक्रमणबाट जोगिन अझ १० दिनसम्म उच्च सतर्कता अपनाउने, बुवाले अब बाहिरको कुनै पनि कुरा नल्याउने' भनेर सहमति गराउनुभयो। हिजो त तरकारी सिद्धियो। आजदेखि के गर्ने हो थाहा छैन।
लकडाउन पछि हाम्रो दैनिक रूटिन पनि बदलिएको छ। बिहान उठ्ने बित्तिकै एक गिलास तातो पानी खान आमाले कर गर्नुहुन्छ। कुनै पनि खानेकुरा खानु अगाडि साबुनपानीले हात मिचिमिचि धुनुपर्छ। दिनमा दुईपटक तातो पानीमा अदुवा, टिम्मुर र ल्वाङ पिउनुपर्छ। सुत्नु अगाडि एक गिलास बेसार राखेको दुध पिउनुपर्छ। बेलाबेलामा स्यानिटाइजर प्रयोग गर्नुपर्छ।
टिभी र नेट चलाउन भने आजभोलि खुल्ला छ। दिउँसो केही अध्ययन, पेन्टिङ र भित्रको काम गर्ने गरेको छु। परीक्षा दिएर बसेको हुनाले पढाइमा धेरै समय दिनु परेको छैन। राति करिब एक घन्टा महाभारत हेर्ने गरेका छौं। महाभारत बुवाको चाहना भए पनि हामीलाई पनि रमाइलो लाग्न थालेको छ।
महाभारतमा हामीलाई उपयोगी केही प्रसंग रोचक छन्। राति अँध्यारोमा भीमले खाइरहँदा अर्जुन पुग्छन्। जिज्ञासु अर्जुनले बलवान भीमलाई सोधे, ‘तपाईं यो अन्धकारमा कसरी सजिलै खाना मुखमा राख्न सकिरहनुभएको छ?’ भीमले भने, ‘मुख त आफ्नै स्थानमा त छ नि!’ हातलाई त्यहाँ पुगाउने त हो। हातमा पनि आँखा हुन्छ क्या भाइ! अभ्यास अर्जुन अभ्यास!' त्यसबाट अर्जुन प्रेरित भएका छन्।
त्यस्तै अर्को प्रसंगमा गुरू द्रोणाचार्यले शिक्षा ग्रहण गर्दा शिकारूका दुइटा शत्रु र दुइटा मित्र हुने कुरा बताएका छन्।
अल्छी र निद्रा दुइटा ठूला शत्रु हुन्। यिनलाई त्याग गर्न सक्नुपर्छ एवं परिश्रम र सावधानी सिकारूका दुई महान मित्र हुन्। परिश्रम र सावधानी अपनाउन सक्ने सिकारू सधैं अजय अर्थात् विजेता हुन्छन्।
अर्को प्रसंगमा त्यति बेलाको धर्म अनुसार ब्राह्मण र क्षेत्रीयबाहेकले धनु विद्या पढ्न नपाउने हुन्छ। त्यही भएर एकलव्यले गुरू द्रोणाचार्यसँग प्रत्यक्ष सिक्न पाउँदैनन्। गुरू द्रोणाचार्यको प्रतिमा बनाएर एकलव्यले गुरू मान्छन्। गुरूले आफ्ना शिष्यलाई सिकाएको विद्यालाई टाढैबाट लुकीलुकी हेरेर आफ्नै अभ्यासमा धनु विद्यामा पारंगत पनि हुन्छन्।
एकलव्यको आफ्नो मेहनतलाई गुरू द्रोणाचार्यले गुरू दक्षिणाको रूपमा बुढी औंला मागेको कुराले भने मेरो चित्त बुझेको छैन। त्यस्ता महान आदरणीय गुरू द्रोणाले एकलव्यको त्यो संघर्ष र परिश्रमलाई किन निस्फल तुल्याएका होलान्? मैले अझै बुझ्न सकेको छैन।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)