सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
गृहकार्य गर्दा खाना खाने समय भएकाले म होस्टेलको डाइनिङ हलतिर लागे। त्यहाँ गएर खाना खाएपछि होस्टेलतर्फ फर्किंदा एउटा साथीले भन्यो, ‘सरकारले त कोरोनाको कारण सबै परीक्षा ४ गतेअघि सक्नु भनेको छ रे!’
मैले त्यो कुरा नपत्याइकन होस्टेलमा पुगेँ। त्यहाँ पनि यस विषयको पक्ष र विपक्षका दुई समूह बनेर छलफल चल्दै थियो। म विपक्षमा लागेँ। पछि हामी गृहकार्य गर्न ध्यान दिइरहेको बेला सरकारको निर्देशनअनुसार परीक्षा अगाडि सरेको कुरा सुनाउनु भयो। म हिस्स परेँ। परीक्षाको तयारीको मेरो योजना भताभुङ्ग भयो। अघिल्ला वर्ष भन्दा परीक्षा राम्रो गर्ने मेरो लक्ष्य कोरोनाले भताभुङ्ग पार्यो।
केही दिन अघि कक्षाबाट फर्कंदा सूचना पाटीमा टाँसिएको सूचना नियाल्दा कोरोनाको बारेमा पहिलो पटक जानेको थिएँ। त्यतिखेर त कोरोना रूघाखोकीको जस्तै समान्य भाइरस होला भन्ने ठानेको थिएँ। त्यसको दुई साता नबित्दै कोरोनाको असर मेरो परीक्षामा पर्यो। परीक्षा अघि सर्दा कोरोना सामान्य भाइरस ठान्नु गल्ती हुने अनुभूति भयो। कोरोना भाइरसको असरले त्यसपछिका मेरा दिन सोचेभन्दा अर्कै भएँ।
अघि सरेको परीक्षा जेनतेन दिइसक्दा सधैंझै लामो बिदा सुरू भयो। यसपालि पहिलेका बिदा भन्दा लामो थियो। लामो बिदामा गर्ने कामका योजना मनमनै बनाउँदै थिएँ। तराईमा हजुरबा, हजुरआमालाई भेट्न जाने, मामाघर जाने, विभिन्न ठाउँ घुम्न जाने ठाउँ आदिको सूची बनाउँदै थिएँ।
परीक्षा अघि सारे जस्तै सरकारले अपर्झट लकडाउन (लकडाउन) घोषणा गर्यो। चैत ११ गतेदेखि सबै नेपाली जस्तै म पनि घरभित्रै खुम्चिएर बस्नु पर्यो। दुई हप्तापछि लकडाउन खुलेपछि घुम्न जान पाइने धोको मनमा छँदैथ्यो।
नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या थपिँदै जाँदा लकडाउन लम्बिँदै गयो। अहिले लकडाउन भएको दुई महिना हुन लाग्दा पनि टुङ्गिने छाँट छैन। घर बस्दाबस्दा मेरो घुम्न जाने धोको कुनामा धकेलेर मनको आँगन दिक्दारीले ओगटेको छ। आफ्नै घर हेर्न मन नलाग्ने, आफ्नै कोठामा छिर्न मन नलाग्ने भइसक्यो। केही कुरामा पनि मन नरम्ने भएको छ। केही कुरामा पनि धैर्य रहँदैन।
बाहिर निस्कौं कोरोनाको डर। घरमा बस्नेलाई यस्तो छ भने भाडाको कोठामा बस्ने कैयौं मानिस छन्। तिनलाई कोठामा खुम्चिएर बस्न पर्दा झन् कस्तो भएको होला? दैनिक प्रयोग हुने शाैचालय जस्ता कुरा अरूसँग साझा गर्नुपर्दा तिनलाई कोरोना भाइरसको डरले कति सताउँदो होला?
कोरोनाको खबर लिन आमाबुबाले रेडियो, टेलिभिजनका समाचार पछ्याउँदा रेडियो सुन्ने टेलिभिजन हेर्ने बाध्यता आइपरेको छ। रेडियो टेलिभिजनमा बच्चाबच्चीलाई यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर उपदेश आउँछ। आमाबाबुलाई रेडियो टेलिभिजनले बताएका कुरा आफ्ना सन्तानले गर्नुपर्छ जस्तो लाग्दो हो। त्यसैले केटाकेटीका इच्छा के छन् भनेर सोच्नुभन्दा रेडियो टेलिभिजनका कुरा पछ्याउन दवाब दिइन्छ। खाना पकाउन, घरको सरसफाइ गर्न, चित्र बनाउन, आदि। मन नलागे पनि गर्न पर्ने दवाब पर्छ। हाम्रो चाहना, मनस्थिति कस्ताे छ भन्ने विचार गरिँदैन।
विद्यालय जान पाए साथीहरू हुन्थे, न्यास्रो कम हुन्थ्यो जस्तो लाग्छ। लकडाउन लम्बिँदै जाँदा विद्यालय खुल्ने टुङ्गो छैन। यस्तो अवस्थामा मेरो विद्यालयले अनलाइन कक्षा सुरू गरेको छ। यसले दैनिकीमा केही विविधता थपेको छ। अनलाइन कक्षमा शिक्षकले पढाएको उस्तै भए पनि साथीहरू भेटेर मन खोलेर कुराकानी गर्ने अवसर भने छैन। हामीले गृहकार्य गर्न पाउँछौ र त्यसलाई अनलाइनमै बुझाउँछौ। अनलाइनमा पढ्दा पनि कक्षामा पढेको जस्तै अनुभव भएको छ। शिक्षकले पनि नियमित कक्षामा पढाए जसरी बुझाएर पढाउनुभएको छ। नबुझेको कुरा उत्तिखेरै सोधेर बुझ्न सकिन्छ।
एकै शिक्षकले कक्षाकोठामा भन्दा धेरै विद्यार्थीलाई एकै पटक पढाउन सक्नुहुन्छ। तर अनलाइन कक्षामा केही भिन्नता हुने नै भए। हामीले शिक्षकलाई देख्न सक्छौं तर शिक्षकले देख्न सक्नुहुन्न। सबै विद्यार्थीले पढाइमा ध्यान नदिएको शिक्षकले थाहा पाउन सक्नुहुन्न। अनलाइन कक्षा नेपाल सरकारले पनि सुरू गर्ने तयारी हुँदै गरेको समाचार आएका छन्।
सरकारले अनलाइन कक्षाबाट विद्यालय खुल्न नसकेको अवधिमा शिक्षणलाई नियमित बनाउनु राम्रो काम हो। तर नेपालको सबै भागमा टेलिभिजन, इन्टरनेटको पहुँच छैन। टेलिभिजन र इन्टरनेटको पहुँच भएका क्षेत्रमा पनि सबै घर यसमा जोडिन सकेका छैनन्। सबै विद्यालयमा इन्टरनेटको सुविधा पुगेको छैन। सरकारले टेलिभिजन र इन्टरनेटको पहुँचबाट बाहिर रहेका बालबालिकालाई कसरी समेट्ने भन्ने योजना नबनाई अनलाइन कक्षा सुरू गर्दा थुप्रै बालबालिका यसबाट बञ्चित हुनुपर्ने छ। लकडाउन लम्बिँदै जाँदा विद्यालयको पढाइ मात्र होइन अन्य क्षेत्रमा पनि कोरोनाको कहर बढ्दै छ।
नेपालमा दैनिक ज्यालादारी गरेर छाक टार्ने लाखौं परिवार छन्। दैनिक छाक टार्ने समस्याले गर्दा उनीहरूलाई रोगको भन्दा भोकको डर छ। सरकारले प्रदान गरेको राहतले कति दिन चल्ने हो भन्ने चिन्ता छ। कतिले त राहत पाउन नसकेको समाचार आएका छन्। उनीहरूलाई कोरोना भाइरस भन्दा लकडाउन नै ठूलो समस्या बनेको छ होला!
लकडाउनले धेरै मानिस जम्मा हुने र आवतजावत गर्ने बजार, उद्योग, कलाकारखाना सबै बन्द छन्। मजदुर काममा जान पाएका छैनन्। यसले कलकारखानाबाट सामान उत्पादन हुन पाएको छैन। उत्पादित वस्तुमा बिक्री हुने अवस्था पनि छैन। उद्योग व्यापार व्यवसायमा ठूलो घाटा भएको छ।
आफ्नो व्यापार व्यवसाय चौपट हुने डरले मानिसहरूले व्यापार व्यवसाय सञ्चालन गर्ने, सामान ढुवानी गर्ने, पसले खोल्ने गरेका छन्। कैयौं व्यक्तिलाई आफ्ना अत्यावश्यक काम गर्नु पर्ने बाध्यता छ। यो अवस्थाले लकडाउनमा पनि आवतजावत नरोकिएको जस्तो भएको छ। सबैले बुझ्नुपर्ने कुरा लकडाउन उल्लंघन भएर कोरोनाको संक्रमण फैलन सक्छ। यसले लकडाउन झन लामो हुन सक्छ।
नेपालमा पनि संयुक्त राज्य अमेरिकाको जस्तो अवस्था हुन सक्छ। त्यसैले कोरोना फैलन नदिने उपाय लकडाउनको पूर्ण पालना नै हो। धेरै समस्या भए पनि आफूलाई घरमै केही समय सीमित राख्नु बेस हुन्छ। देशलाई कोरोनामुक्त बनाउन पनि सहयोग पुग्छ। त्यसैले घरमै बसौं, कोरोनालाई जितौं।
(अपूर्व सुवेदी बुढानिलकण्ठ स्कुलमा कक्षा ९मा ध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)