सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरस महामारी विश्वभर फैलिएको छ। लकडाउनका कारण सबै मानिसहरू आ-आफ्नाे घरमा बन्द भएका छन्।
लकडाउनमा मेरो लागि भान्सा नयाँ पहिचान भएको छ। जसरी कम्प्युटरबाट अनलाइन शिक्षा दिइएको छ। त्यसैगरी मैले आमाको सहयोगबाट भान्सा चिन्न पाएकी छु। जुन कुरा मैले अहिलेसम्म राम्ररी सिक्न सकेकी थिइनँ, त्यो ज्ञान लकडाउनमा पाएँ।
भान्सामा खाना पकाउने तरिका सिकेँ। लकडाउनमा धेरै समय आमासँग भान्सामा बिताएँ। भान्सा र प्रसिद्ध नेपाली मसालाले हामीलाई यो महामारी कोरोना भाइरससँग लड्ने शक्ति दिए जस्तो मलाई लाग्छ। हाम्रो भान्सामा विभिन्न रोगबाट लड्ने जडिबुटी तथा मसाला छन् जसले भित्रभित्रै हाम्रो प्रतिरोधात्मक शक्ति बढाउँछ।
भान्सामा भएको ल्वाङले हाम्रो दाँतलाई मजबुत बनाउँछ। त्यहाँ भएका हरिया तरकारी र पहेँला फलफूलले हामीलाई तन्दुरूस्त पार्छ।
त्यसैगरी, बेसारले शरीरको छालालाई चम्किलो बनाउँछ। भान्साका यी विभिन्न मसाला देखेर मलाई अझै समय आमासँग भान्सामा बिताउन मन लाग्न थालेको छ।
जति समय हामी भान्सामा खाना पकाउन लगाउँछौं, त्यसपछि पूरा परिवार सँगै बसेर खाँदा मेरो मन सुखमय हुन्छ। लकडाउनमा बजार बन्द हुँदा पनि म र आमाले इन्टरनेटको सहयोगले आजसम्म हामीले नपकाएका खानेकुरा र मिठाइहरू बनायौं। भान्सामा धेरै समय बितायौं।
दिनभरी मोबाइल हेर्नुभन्दा भान्सामा धेरै कुरा सिकेर म खुसी छु।
लकडाउनमा मैले थाहा पाएँ कि आमाले कति धैर्यसँग काम गरेर हाम्रो लागि खाना पकाउनु हुन्छ। लकडाउनमा मेरो परिचय भान्सासँग भएर म धेरै खुसी छु।
(मिसिका जयसवाल बुढानिलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)