सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
लकडाउन सुरू भएदेखि दिनको दुई, तीन घन्टा फिल्म हेरेरै बित्छ। पढाईमा रूचि भए पनि फिल्म हेर्न मलाई असाध्यै मन पर्छ। युट्युबमा उपलब्ध धेरै नयाँ-पुराना फिल्म मैले हेरिसकेँ। उमेरअनुसार फिल्मको रोजाइ पनि फरक पर्छ कि क्या हो?
हजुरबुवालाई मन परेको फिल्म बाबाले हेर्नु हुन्न। बाबालाई मन परेका र बाबाले हेर्नु भनेका फिल्मले मलाई बाधेर राख्न सक्दैनन्। अझ भनौं म त्यस्ता फिल्म हेरिदिउँ न त भनेर समय कटाउन हेरिदिन्छु। यो पटक हेरेका फिल्ममध्ये म जस्तै केटाकेटी नै प्रमुख पात्र रहेको 'पाखी ए टाएरवाला' हाे। यिनका बाले टायरको काम गर्थे कि क्या हो? फिल्म 'पाहुना द लिटिल भिजिटर' र यो फिल्म हेरेर मैले के सिकेँ भन्ने बारेमा यो लेख छ।
फिल्म 'पाहुनाः द लिटिल भिजिटर' मा तीन बच्चा र उनीहरूका आमाबुवा नेपालमा भएको हिंसाबाट बच्न आफ्नो थातथलो छाडी शरण लिन भारत जान्छन्। आमाबाबुबाट टाढा रहँदा बाँच्नका लागि गरिरहेको संघर्षको कथा पनि हो।
अमृता सबैभन्दा जेठी हो भने प्रणय र विशाल भाइहरू हुन्। गोलिबारीबाट बच्न भाग्दै गर्दा अचानक बुवालाई गोली लागेपछि बच्चाहरूलाई गाउँलेको जिम्मा लगाएर आमा बुवालाई खोज्न फर्किन्छिन्। अमृता, प्रणय र विशालचाहिँ गाउँले सँगै पहिलो रात जंगलमै बिताउँछन्।
अनेक पात्रमध्ये राई बुढो अलि गफाडी हुन्छ। पियक्कड छ बुढो। समूहमा भारत गएर चर्चमा शरण लिने कुरा उठ्दा प्रतिवाद गर्छ। बुढा र उसको छोरा बीचमा द्वन्द्व देखिन्छ। छोरा सकारात्मक सोचको छ भने बुढा 'अरे'का कुरामा ठोकुवा गर्छ। कृश्चियनहरू प्रति पूर्वाग्राही देखिन्छ। कृश्चियनहरूले उनीहरूको धर्म परिवर्तन गराइदिने, आफ्ना भगवान, घरबार, आमाबुवा नै बिर्साइदिने र पादरी राक्षसी स्वभावको केटाकेटी खाइदिने हुँदा चर्चमा शरण लिन नहुने कुरा गर्छ। गाउँलेहरूले बुढाको कुरा हावादारी भएको दावी सहित चर्चमै शरण लिने निर्णयमा पुग्छन्।
आमाबुवाबाट अलग भएको प्रणयले भने राई बुढाको कुरा पत्याउँछ र दिदीसँग कुरा साट्छ। लामो र कठिन यात्राको अन्त्यतिर पादरीले आफ्नो सानो भाइ विशाललाई खाइदिने डरले दिदीसँग मिलेर समूहबाट भागेर बाक्लो जंगलमा लुक्छन्। पहिलो रात एउटा पुलमुनि बिताएका उनीहरूले दोस्रो दिन एउटा थोत्रो फ्याँकिएको कवाडी गाडी भेटाँउछन्। त्यसैलाई अस्थायी घर बनाउँछन्। समय सँगै सामान जोडजाड गर्दै जान्छन्। आमा आउने आशमा पर्खिरहन्छन्। कठिन मोडमा जिन्दगी सहज बनाउने प्रायस गरिरहन्छन्। आपतको बेला जंगली कन्दमुल खाएरै बाच्छन्।
खरायोलाई पासोमा पारेर खाने प्रणयको योजनालाई मासु खानु हुँदैन, हिंसा गर्नु हुँदैन, परिवारसँगको बिछोड पिडादायी हुने, आमाजस्तै खरायोकी आमा पनि आफ्नो बच्चा आउने आशमा होलिने भन्दै मानवीयता देखाएर छोडिदिन्छन्।
यो दृश्य वास्तवमै मन छुने छ। कथाका मुख्य दुई पात्र आफ्नी आमाको वचन पूरा गर्न हरसम्भव प्रयासरत छन्।
अँध्यारोदेखि असाध्यै डराउने प्रणय दिदीका लागि भने अँध्यारोमा सहयोग गर्छ। अमृता उमेरमा बच्चा भए पनि व्यवहारमा भने पक्का छे। आमाको वचन पूरा गर्न प्रणयले बाख्रा चराउने र ज्याला बापत भाइ विशालका लागि दूध लिएर आउँछ। अमृताको खाने कुराको व्यवस्था गर्न एक जना दयालु गर्भवती महिलालाई घरका साना काममा सहयोग गरेर खाना र पैसा कमाउँछिन्।
अन्तिममा कथाले नाटकीय मोड लिन्छ। त्यो थोत्रो गाडी कसैले लिएर जान्छ। गाडी लिएर जानेले सानो भाइ विशाललाई पादरीले लिएर गएको कुरा प्रणयमार्फत अमृताले थाहा पाउँछे। आफ्नो ज्यानको बाजी राखेर आमाको वचन पूरा गर्न उनीहरू चर्चमा जान्छन्। भाइ पनि भेटिन्छ। परिवारसँग पुनर्मिलन पनि हुन्छ।
यो फिल्म हेरेर मैले के सिकें भने जस्तोसुकै अप्ठ्यारो आइपरे पनि जिन्दगी सहज वा असहज जे भए पनि मर्नै परे पनि आमाबाबुले दिएको वचन, जिम्मेवारी पूरा गर्नु हामी छोराछोरीको मुख्य कर्तव्य रहेछ। हुन त म पहिलेदेखि जिम्मेवार छोरी हो। म कर्तव्य निष्ठ छु। अझै फिल्म हेरिसकेपछि आफ्ना जिम्मेवारीहरूबाट पछाडि नहट्ने वचन यसै लेखमार्फत आमाबुवालाई दिन चाहन्छु।
भात पकाउने र भाँडा माझ्ने काम छोरी मान्छेको मात्रै झैं गरेर देखाएको, भाइहरूको सबै जिम्मेवारी दिदीले लिएको देखाए पनि घरमुलीको जिम्मेवारी आमाले छोरालाई दिएको चित्त बुझ्दो लागेन। तर पनि यो फिल्म मनपर्यो। तपाईंलाई पनि मनपर्न सक्छ, हेर्नुस् है।
(एलिसा घिमिरे सैनिक आवासीय महाविद्यालय सल्लाघारी, भक्तपुरमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)