सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चीनबाट आएको काेराेना भाइरस संक्रमण रोक्न नेपाल तथा अन्य देशमा लकडाउन छ। हाम्रो स्कुल पनि बन्द छ। त्यस्तैगरी, अरू ठाउँहरू पनि बन्द छन्।
कोरोना संक्रमणका कारण मानिसहरूमा डर बढेको छ। यसका सकारात्मक र नकारात्मक पक्ष दुवै छन्। सकारात्मक पक्षमा प्रदूषण कम भएको छ। वातावरण सन्तुलित भएको छ। हामीले विभिन्न रचनात्मक कुरा सिक्न पाएका छौं। सधैंभरी दौडधुप गरिरहने मामुबाबासँग घरमा समय बिताउन पाएका छौं।
नकारात्मक पक्षमा मानिसहरूमा निराशा फैलिएकाे छ। कोरोना बाहेकका अरू रोग लागे उपचार नपाइने अवस्था छ। स्कुल गएर पढ्न पाइएको छैन। दिनदिनै कति धेरै मानिसको मृत्यु भएको छ। संसारकै अर्थतन्त्र घटेको छ। कोरोनाको उपचारको लागि औषधी पत्ता लागेको छैन। त्यसैले हामीले सावधानीका उपायहरू अपनाउनु पर्छ। जस्तै, समय समयमा हात धुने, नाक र मुख नछुने, सामाजिक दुरी कायम राख्ने, आदि।
चिकित्सक, प्रहरी अनि कतिपय कर्मचारीहरू यस्तो अप्ठ्याराेका बेला पनि खटिएका छन्। यो एउटा ठूलो बलिदान हो। मेराे मामुबाबा पनि अफिस जानुहुन्छ। यस्तो बेला भाइ र म बुवा (हजुरबुवा) सँग बस्ने गर्छौं। कहिलेकाहीँ मामु घरै बसेर कम्प्युटरमा अफिसको काम गर्नुहुन्छ। कतिपय कम्प्युटरका काम म मामुलाई सिकाइदिन्छु अनि मख्ख पर्छु।
मलाई कोरोना भाइरससँग डराउन हुन्न जस्तो लाग्छ। हामी जति डराउँछौ, हाम्रो इम्युनिटी त्यति नै घट्छ। वैज्ञानिकहरू कोरोनाको भ्याक्सिन पत्ता लगाउन धेरै खटिइराखेका छन्। मचाहिँ उनीहरूको मेहनतले चाँडोभन्दा चाँडो भ्याक्सिन पत्ता लागोस् भनेर भगवानसँग प्रार्थना गरिरहेको छु।
मेरो स्कुल लकडाउनका कारण खुलेकै छैन। अरूतिर अनलाइन कक्षाको निकै चर्चा भएको छ। पोखरा महानगरपालिकाले यस्तो कक्षाले सबै विद्यार्थी र अभिभावकलाई न्याय गर्दैन भनेको कारण हाम्रो स्कुलले कक्षा सञ्चालन गरेको छैन। त्यसैले म गुगल र युट्युबबाटै ज्ञानगुनका कुरा सिकिरहेको छु। समय बिताउन गेम खेल्ने र टिभी हेर्ने गर्छु। मलाई बाबाले कक्षा सातको गणित किताब ल्याइदिनुभएको छ। म त्यसको प्रश्नहरू समाधान गर्छु। अस्ति भर्खर युट्युब हेरेर केक, रसवरी बनाउन सिकेँ, बाबामामु मख्ख पर्नुभयाे।
मैले खाना पकाउन पनि सिकेको छु तर मामुबाबाले नभ्याउँदा मात्रै पकाउने गर्छु। मन लाग्दा भ्याकुम लगाउने, कोठा मिलाउने पनि गर्छु। त्यस्तै मेरो चार वर्षको सानो भाइलाई पढाउन र उसँग खेल्न पनि असाध्यै रमाइलो लाग्छ। बाहिर खेल्न मन लाग्दा छतबाट हेर्छु। कोही साथी बाहिर नदेखेपछि लकडाउन सम्झन्छु तर बिहान बेलुकी हामी पारिवार मिलेर ब्याडमिन्टन खेल्ने गर्छौं।
मामुले सेतोपाटीमा केटाकेटी स्तम्भ आउने गरेको कुरा गर्दै मलाई पनि लेख भन्नुभयो। मैले त्यहाँका सबै लेखहरू पढेपछि म पनि लेख्न सक्छु भन्ने लाग्यो। केही दिनबाट नेपालमा पनि कोरोना संक्रमितको संख्या धेरै नै बढेको छ। सबैमा डरको मात्रा बढिरहेको छ। अझ निम्न वर्गका मानिसहरूलाई त खानको पनि समस्या परिहेको कुरा समाचारमा पढ्दा साह्रै नमज्जा लाग्छ।
संसारमा प्रत्येक दिन धेरै मानिस खान नपाएर मरेका छन्। नेपालमा गरिबहरूलाई सहयोग गर्न भनेर सरकारले राहत बाँडेको भए पनि धेरै ठाउँमा राहत बाँड्ने काम प्रभावकारी भएको छैन भन्ने समाचार सुनिन्छ। यो कुराले भने मलाई नराम्रो लाग्छ।
सरकारले अझै जेठ ५ गतेसम्मका लागि लकडाउन थपको छ। त्यसैले लकडाउनको पालना गर्दै हामी सबैजना स्वस्थ र सुरक्षित रहौं भन्ने सन्देश दिन चाहन्छु।
(सचेत सुबेदी एसओएस हरमन माइनर स्कुल, गण्डकीमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)