सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम सहज विक्रम लामिछाने हो। म कक्षा तीनमा पढ्छु। मेरो विद्यालयको नाम सेन्ट जेभियर्स हो। ललितपुरको जावलाखेलमा छ। म पनि जावलाखेलमै बस्छु। म, बाबा र मम्मीसँगै बस्छौं। हाम्रो परिवार सानो छ।
तीन कक्षामा गएदेखि कोरोना भाइरसले गर्दा स्कुल जान पाएको छैन। अहिले स्कुलले जुमबाट अनलाइन कक्षा सुरू गरेको छ। मलाई अनलाइन कक्षामा पढ्न रमाइलो लाग्छ। म बस्ने ठाउँमा मलाई खेल्नको लागि खासै साथीहरू छैनन्। धेरैजसो बाबाममीसँग नै खेल्छु। फुटबल, ब्याटमिन्टन जस्ता खेल खेल्न रूचाउँछु। लकडाउनको समयमा ब्याटमिन्टन धेरै राम्रो खेल्न सक्ने भएको छु। मलाई बाबाममी पनि साथी जस्तै लाग्छ। उहाँहरूसँग खेल्न रमाइलो लाग्छ। हामी घरमा लुडो, चेस, बाघचालजस्ता ‘इन्डोर गेम’ हरू पनि खेल्छौं। गेममा पहिलो नै हुन मन लाग्छ।
लकडाउनले गर्दा अहिले स्कुल जान नपाए पनि घरमै अलिअलि पढ्ने, खेल्ने र ममीलाई भान्सामा सघाउने गर्छु। कालो चिया बनाउन पनि आउँछ। आफ्नो रूमाल, मोजाजस्ता ससाना लुगा पनि धुन कोशिस गर्छु। बाबाममी र म घरमा वादविवाद पनि खेल्छौं। धन ठूलो कि विद्या ठूलो, बल ठूलो कि बुद्धिजस्ता शीर्षकमा अलिअलि तर्क गर्न सिकेको छु।
लकडाउनको समयमा स्कुल जान नपाएर दुःख लागे पनि घरमा बस्दा रमाइलो लागेको छ। घरमा बस्दा चित्र कोर्ने र कथाका किताबहरू पढ्ने पनि गर्छु। घरमा बस्दा फलफूल, अण्डा र दालभात खाने गर्छु। मलाई चकलेट धेरै मन पर्छ।
मेरो गाउँ नुवाकोट हो। मलाई गाउँ पनि मन पर्छ। तर, यति लामो बिदामा पनि गाउँ जान पाइनँ। गाउँमा हजुरआमा, अंकल, आन्टी, दिदी र भाइहरू बस्नुहुन्छ। गाउँ गएर भाइहरूसँग खेल्न मन छ। मेरो गाउँमा खेतबारी र वस्तुहरू पनि छन्। कुकुर बिराला पनि छन्। मलाई घरपालुवा जनावर धेरै मन पर्छ।
अहिले मलाई कोरोना भाइरसको अन्त्य होस् र छिट्टै स्कुल जान पाइयोस् जस्तो लागेको छ।
धन्यवाद।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)