सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरसका कारण म आजकल घरमै बसिरहेकी छु। लकडाउन भएको पनि धेरै दिन भइसक्यो। कक्षा ६ को अन्तिम परीक्षा सकिएदेखि म घरमै थुनिएकी छु। सुरूसुरूमा घर बस्दा के गरौं कसो गरौं जस्तो हुन्थ्यो। अहिले म अनलाइन कक्षामा व्यस्त भएकी छु।
विद्यालयले अनलाइन कक्षा वैशाख ८ गतेदेखि सुरू गरेको छ। त्यो भन्दा अगाडि म स्पाइनी ब्याबलरको अनलाइन कक्षामा पढ्थेँ। त्यसमा मैले धेरै कुरा सिकेँ। किताबहरू पढेँ। सारांश लेखेँ, चित्र कोरेँ। धेरै कुरा गरेँ। हाम्रो विद्यालयले पहिला फेसबुकमार्फत कक्षा सञ्चालन गर्यो। अहिले जुम क्लाउडबाट कक्षा सञ्चालन गरेको छ। हाम्रा शिक्षक शिक्षिकाले हामीलाई जुममार्फत पाठहरू बुझाउनुहुन्छ। अनि गृहकार्य दिनुहुन्छ। ती गृहकार्य हामीले इमेलबाट शिक्षकलाई पठाउनुपर्छ।
घरमा बसेर पढ्दा मैले यसका केही फाइदा र केही बेफाइदा बारेमा जानकारी पाए। यस प्रकार प्रस्तुत गरेकी छु।
अनलाइन कक्षाका फाइदाहरू:
- लकडाउन भए पनि पढ्न पाइने,
- घरमै बसेर पढ्न पाइने, बसको यात्रा गर्नु नपर्ने र जाममा फस्नु नपर्ने,
- आमाबुवाको सहयोग लिएर पढ्न पाइने,
- शान्तिपूर्ण वातावरणमा पढ्न पाइने,
- हतारहतार तयार भएर विद्यालय हिँड्नुपर्ने कार्यबाट मुक्ति पाइने
- आनन्द र पारिवारिक वातावरणमा कक्षा लिन पाइने,
- पर्याप्त समय पाइएकाले आनन्दले कक्षा कार्य र गृहकार्य गर्न पाइने,
अनलाइन कक्षाका बेफाइदाहरूः
- ध्यान यताउता जान सक्छ
- एक्लै भएर अल्छी लाग्न सक्छ
- नेट नभएकाले पढ्न पाउदैनन्। नेट 'स्लो' हुने तथा घरिघरि गइरहने हुँदा राम्रोसँग पढ्न नसकिने,
- कक्षा कोठामा साथीहरूसँग बसेर पढ्दा आउने आनन्द र रमाइलो घरमा बसेर पढ्दा नआउने रहेछ,
- सबैले उत्तिकै रूपमा अनलाइन कक्षा लिन नसक्ने,
- गाउँगाउँमा यो असम्भव हुने,
- हरेक विद्यार्थीसँग ग्याजेट हुनुपर्ने तथा डाटाबाट चलाउदा महंगाे पर्न सक्ने।
लकडाउनको बेला अनलाइन कक्षा सञ्चालन गरेर पढाउन सक्ने भए पनि दुर्गम र विकट ठाउँमा बस्ने विद्यार्थीलाई इन्टरनेटको सहज पहुँच नहुने हाम्रो जस्तो देशमा सहज र पहुचयोग्य बनाउनु पर्छ।
साथै, त्यसको गुणस्तर बढाई अनलाइन कक्षा सञ्चालन गर्ने आवश्यक व्यवस्था मिलाउन सके लकडाउनको समयमा समेत घरबाटै अनलाइन कक्षा सञ्चालन गरी ज्ञान बढाउन सक्ने अनुभव यस अनलाइन कक्षाबाट मैले गरेकी छु।
(मोनिता पौडेल सेन्ट जेभियर्स स्कुल जावलाखेलमा कक्षा ७ मा अध्यनरत छिन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)