सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम प्रांशु भुसाल हो। म बुढानिलकण्ठ स्कुलमा सात कक्षामा पढ्छु। हाम्रो स्कुल आवासीय स्कुल भएकाले म छात्रावासमा बस्छु।
छात्रावासमा हाम्रो दैनिक कामको तालिका हुन्छ। बिहान उठेर व्यक्तिगत सरसफाइको नित्यकाम सकेर स्कुल ड्रेस लगाई ब्रेकफास्टपछि म स्कुल जान्थेँ। हाम्रो स्कुल बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म चल्थ्यो।
अरू समय छात्रावासको नियमअनुसार गर्नुपर्थ्यो। एक दिन हाम्रो परीक्षा अगाडि सरेको सूचना आयो। परीक्षाको तयारी नगरेकाले मलाई दुःख लाग्यो। चाँडै परीक्षा सकेर घर जान पाइने भएकाले खुसी पनि लाग्यो। परीक्षा सकिनासाथ बिदा भयो।
बिदा भएपछि सुरूसुरूमा त रमाइलो लाग्यो। म र बहिनी ऐंसेलु र किम्बु पाक्यो कि भनि दिनदिनै हेर्न जान थाल्यौं। केही दिनपछि किम्बु र ऐंसेलु खान पनि थाल्यौं। पछिपछि किम्बु खान जान झ्याउ लाग्न थाल्यो।
बिदामा हामीले दैनिक तालिका बनाएर घरका काम गर्न सिक्यौं। राम्रा राम्रा फिल्म हेरेर मनोरञ्जन समेत लियौं। बाबाले म र बहिनीका बीच चार्ट पेपर प्रतियोगिता गराउनुभयो। चेस, लुडो खेलाउनुभयो। हामी सबैजना मिलेर विभिन्न खेलहरु खेल्यौं।
मंगलबारबाट हाम्रो स्कुलले अनलाइन कक्षा सुरू गरेको छ। स्कुल नगइकन घरमै बसेर पढ्न पाइएको छ। बिहान ८ बजेबाट १२ बजेसम्म अनलाइन कक्षा हुन्छ। एउटा कक्षापछि केहीबेर ब्रेक पनि दिइन्छ। माइक्रोसफ्ट टिम्सबाट कक्षा चलाइएको छ। हामीलाई 'फरमल' ड्रेस लगाउन पर्दैन। स्कुलले दिएको आचारसंहिताको पालना भने गर्नु पर्छ।
हामीले अनलाइनबाटै गृहकार्य पनि पाउँछौ। गृहकार्य भने कापीमा गरेर स्क्यान गरी बुझाउनुपर्छ। मेरी आमा पनि शिक्षक हुनुहुन्छ। उहाँको स्कुलमा पनि अनलाइन कक्षा सुरू भएको छ। उहाँहरूले जुमबाट पढाउनुहुन्छ। बहिनीको पनि कक्षा सुरू भएको छ। आजकल त हाम्रो घरमा एकएक कोठामा आमाबाबाले पढाउने, मैले र बहिनीले पढ्ने गर्छौं।
पहिलेपहिले अनलाइन कक्षाका बारेमा सुनेको र पढेको मात्र थिएँ। लकडाउनका बेला स्कुलले कक्षा सुरू गरेर हामीलाई नयाँ कुरा सिक्ने मौका दियो। हाम्रो स्कुललाई म धन्यवाद दिन चाहन्छु। कतिपय स्कुलमा इन्टरनेट र बिजुली बत्ती नभएर अनलाइन कक्षा सुरू भएका छैनन् रे। सरकारले ती ठाउँमा बत्ती र इन्टरनेटको व्यवस्था गरेर विद्यार्थीलाई पढ्ने अवसर दिलाइदिनु पर्छ।
अरू बेलाको कक्षाजस्तो नभए पनि अनलाइनबाट हामीले धेरै कुरा पढ्न सक्दा रहेछौं। शिक्षकशिक्षिकासँग अन्तर्क्रिया गर्न सक्ने रहेछौं। किताब नै नभए पनि पढ्न र पढाउन मिल्ने रहेछ। अप्ठ्यारो अवस्थामा यस्ता कक्षाको निकै महत्त्व हुने रहेछ।
यसैले लकडाउन र महामारीका बेलामा यस्तै भर्चुअल कक्षा सबैतिर चलाउनु पर्छ। इन्टरनेट र कम्प्युटर किन्न नसक्ने विद्यार्थीलाई सरकारले उपलब्ध गराउनु पर्छ। अनि पो बालबालिकालाई भविष्यका कर्णधार भन्न पाइन्छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)