सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
'ल सुत अब। भोलि उठेर फेरि आराम गर्नु छ,' अहिले हरेक घरको कथा यही नै छ होला। लकडाउनको कारण कोही सुखी छ, भने कोही दुःखी। हरेक घरको कथा भिन्दाभिन्दै।
आजकल घरको कौसीमा उभिरहँदा हावा नै अनौठो लाग्छ। शुद्ध हावाको बानी नभएकाले अहिले हावाले अनुहारलाई छोएर जाँदा मन नै प्रफुल्लित हुन्छ। खाली बाटाहरू देख्दा निराश त लाग्छ तर पहिले धूलोमैलाले ढाकिएका बाटा अहिले सफा र चम्किरहेको देख्दा मन प्रसन्न हुन्छ।
चराहरूलाई पनि लकडाउनको खबर पुगेको छ जस्तो छ। हिजोआज उनीहरूको फूर्ति नै फरक छ। बिहान कोइलीको 'कुहुकुहुु' सुनेर उठ्न पाइन्छ। दिउँसो भँगेराहरूको चिरबिर चिरबिर सुनेर मन नै आनन्द हुन्छ। चराहरूको सुरिलो आवाज कानमा गुञ्जिदा मन नै खुसी र उत्साहले उफ्रन थाल्छ।
नेपालमा कोरोना भाइरसबाट संक्रमितको दर दिन प्रतिदिन बढ्दै छ। सरकारको तयारी र स्वास्थ्य सुविधाको व्यवस्था कमजोर छ। लकडाउन मात्र बढाएर समस्याको समाधान हुने त होइन।
यो वर्ष मैले एसइई परीक्षाका लागि बस्नुपर्ने थियो तर हालका लागि परीक्षा स्थगित गरिएको छ। हाम्रो सरकार भने यस्तो विश्वव्यापी संकटको समयमा पनि एसइई परीक्षा गराउनै पर्छ भन्ने पक्षमा छ। सरकारको यस्तो मानसिकता देखेर मलाई अचम्म लागेको छ।
लकडाउनका कारण हामी सबैको मनोविज्ञानमा ठूलो धक्का लागेको छ। काम गर्न नपाएर मानिसहरूलाई पैसा, खाना आदिको खाँचो भएको छ। कसैकसैमा केही नयाँ कुरा सिक्नुपर्छ है भन्ने मानसिकता आएको छ। कोही भने सुत्न, खान र खेल्न मै व्यस्त छन्।
बालबालिकाहरूको मनोविज्ञानमा चाहिँ कस्तो प्रभाव परेको छ त भन्ने प्रश्न आउँछ।
बालबालिकाहरूको ध्यान पक्कै पनि विचलित भएको छ। मनोविज्ञानमा ठेस पुगेको छ। लकडाउन बढ्दै गएकाले कतिपय स्कुलहरूले अनलाइन कक्षा सञ्चालन गरेका छन्। तर सबै बालबालिकाहरू यसमा संलग्न हुन पाएका छैनन्। कसैमा नयाँ कुराहरू सिक्ने जाँगर चलेको छ तर कसैले भने मज्जाले आराम गर्ने र खेल खेल्ने मौका पाएका छन्।
बालबालिकाहरू अलिकति अल्छी भएका छन्। दिन जसोतसो बित्दै छ तर अब कहिलेसम्म यस्तो भइरहने हो भन्ने प्रश्न बेलाबेला दिमागमा आइरहन्छ। बालबालिकाहरूले मनोरञ्जनका विभिन्न उपाय खोजेका छन्। कोही गितार बजाउन सिक्दै छन् भने कोही कलातर्फ आकर्षित भएका छन्। कोही खाना बनाउन सिक्दै छन् भने कोही घाँस काट्न सिक्दैछन्। बालबालिकाहरूले आफ्ना अभिभावकसँग समय बिताउन पाएका छन्।
लकडाउनको कारणले धेरै पछि हाम्रो घरको आँगनले बालबालिकाहरूको हाँसो, उत्साह र उमङ्ग देख्न पाएको छ। धेरै पछि बालबालिकाहरूको हातमा फोन होइन ब्याडमिन्टनको र्याकेट देखा पर्न थालेको छ। सबैको खाने मात्रा बढेको छ, जसको कारणले तौल पनि माथिमाथि गएकै होला।
घरमा मिठामिठा खाना खाए पनि रेस्टुरेन्टमा गएर कहिले खान पाइने होला त? फिल्महलमा गएर आनन्दले मकै खाँदै कहिले फिल्म हेर्न पाइने होला त? यस्ता कुरा सोच्दा मन नै आत्तिएर आउँछ।
कोरोना कस्तो प्रकारको भाइरस हो भन्ने कुरा कसैले पनि बुझ्न सकेको छैन। नेपालमा लकडाउन घोषणा गरे पनि हरेक दिन लकडाउन उल्लंघन गरेको खबर आइरहन्छ। लकडाउनको कारणले नै नेपालमा कोरोना फैलन पाएको छैन भन्ने कुरा सर्वसाधारणले बुझ्नुपर्छ र सरकारले तोकेका नियमहरूको पालना गर्नुपर्छ। सरकारले पनि भाइरसको परीक्षण बढाउनुपर्छ। सबैले बेला बेलामा हात धोइराख्नुपर्छ अनि मात्र नेपाल कोरोना भाइरसबाट मुक्त हुन सक्छ।
पत्रिकाहरू पढ्दा त लकडाउन अझै लम्बिन्छ जस्तो छ। बिस्तारै उद्योगहरू त खुल्दै छन् तर स्थिति सामान्य हुन अझै धेरै समय लाग्छ।
अब कहिले हो त हामी आनन्दले सडकमा हिँड्न पाउने? अब कहिले हो त हामी मास्कबिना बाहिर जान पाउने? के हामी फेरि सार्वजनिक यातायात चढ्न सक्छौं त? के हामी अब भिडमा जान सक्छौं त? यस्तो बेलामा हामी कत्तिको उत्पादक हुन सक्छौं? अब कहिले हो त स्थिति सामान्य हुने?
यी प्रश्नहरूका जवाफ सायद अनुत्तरित नै होलान्।
(अविशा भट्ट रातो बङ्गला स्कुलमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)