सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
सन २०२० को सुरूदेखि नै चीनको वुहानमा कोरोना भाइरसले धेरै मान्छे मरेको समाचार आयो। स्कुलहरू समेत बन्द भएर मान्छेहरू घरबाट बाहिर निस्कन नपाएको खबर फैलिए पछि त पोहोर साल ग्रेटवाल लगायत चीनका विभिन्न ठाउँ घुमेको खुबै याद आयो।
स्कुलमा साथीहरूले फेसबुकमा भिडिओ हेरेको धेरै मान्छे मरेको कुरा गर्थे। घरमा मामुबाबाले पनि नेपालमा कोरोना आयो भने त बर्बाद हुन्छ भन्नुहुन्थ्यो। बिस्तारै नेपाल लगायत संसारका अरू देशमा पनि कोरोना फैलिएको हल्ला चल्यो। हाम्रो स्कुलको फाइनल परीक्षा पनि छिट्टै हुने भनेर नोटिस आयो। चैतको ५ गते नै परीक्षा सकियो।
फाइनल परीक्षा सकिएपछि मामुसँग मामाघर जाने योजना थियो। तर परीक्षा सकिएको एक हप्तामै लकडाउन सुरू भएकाले जान पाएनौं। लकडाउन सुरू हुने एक दिन अघि नै साथीहरू त गाउँ गइसकेछन्। म त एक्लै भएँ। न त कोठा बाहिर जान मिल्ने, न त साथीहरू भेटिने। साह्रै सुनसान लाग्यो।
परीक्षा पछिको खाली समयमा पढ्नको लागि बाबाले ह्यारिपोर्टर र अरू स्टोरी बुकहरू पनि ल्याइदिनु भएको थियो। केही दिनसम्म त तिनै किताब पढेर बसेँ। तर केही दिनमै 'चिल्ड्रेन्स स्टोरी', 'ब्ल्याक ब्यूटी', '३६५ स्टोरी फर गर्ल्स' लगायत ह्यारिपोर्टरका पाँच भोल्युम पढेर भ्याएँ। सबभन्दा मन परेको चाहिँ एनफ्र्यांकको डायरी हो। अहिलेको लकडाउन जस्तै कथा रहेछ। अरू किताब पाइएन। त्यसैले कोठामा भएका ड्रइङ पेपरहरू खोजेर कोर्न सुरू गरेँ। त्यो पनि भ्याइयो। बजार पूरै बन्द भएकाले अरू पेपर किन्न पाइएन।
स्कुल खुल्ने ठेगान त छैन। तर अनलाइन र टिभीमा आउने कक्षा पनि रमाइलो छ। लामो समयदेखि साथीहरूसँग भेट्न, खेल्न नपाउँदा नमज्जा लागिरहन्छ। साथीहरूसँग खेलेर रमाउनु जस्तो मज्जा इन्टरनेट, टिभी हेरेर वा भित्रै खेलेर नहुँदो रहेछ।
बिहान उठेर कोठाभित्रै जगिङ गर्छु। मामुबाबासँग ध्यान गर्छु, व्यायाम गर्छु। नजिकैको पसलबाट बेलुन ल्याएर कोठा भित्रै बाबासँग त्यसैको बल बनाएर खेल्छु। अब त घरभित्रै खेल्ने बानी परिसक्यो।
हुन त कोरोना लाग्दैमा मान्छे मरिहाल्ने होइन रे। पौष्टिक आहार खाने, नियमित व्यायाम गर्ने र खुसी रहने मान्छेलाई कोरोना लागे पनि आफैं सन्चो हुन्छ भनेर मामुले मलाई सम्झाउनु भएको छ। तर नेपालमा कोरोनाका बिरामीहरू धेरै भेटिएको समाचार आएपछि मलाई नराम्रो लागेको छ। मामु नर्स भएकाले धेरै समय अस्पतालमै जानुहुन्छ। ड्युटीबाट आएपछि मेरो नजिक नआऊ छोरी भन्नु हुन्छ।
अस्पतालको ड्रेस बाहिरै राखेर बाथरूम छिर्नुहुन्छ। त्यसपछि कोठामा आउनुहुन्छ। अलग्गै बस्नुहुन्छ। अस्पतालका बिरामीबाट आफूलाई सर्न सक्छ अनि आफूबाट परिवारलाई सर्न सक्छ भनेर मामुले त्यसो गरेको थाहा भए पनि मलाई भने मामुसँग टाँस्सिएरै बस्न, सँगै खान, सुत्न पाए हुन्थ्यो जस्तो लागिरहन्छ।
केहीगरी मामुलाई कोरोना सर्यो भने दुई हप्ताभन्दा बढी अस्पतालमै बस्नुपर्छ रे। घरमा आउन मिल्दैन भन्नुहुन्छ। यो सुन्दा मलाई साह्रै चिन्ता लाग्छ।
समाचारमा डाक्टर र नर्सहरूलाई पनि कोरोना सरेर मृत्यु भएको खबर सुन्दा त निकै डर लाग्छ। तर हालसम्म नेपालमा कोरानाले बिरामी नमरेको बरू सन्चो भएर घर फर्किएको खबर सुन्दा भने एकदम खुसी लाग्छ।
(अ महाराजगंज, काठमाडाैंमा बस्छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)