सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
के तपाईंलाई लाग्छ इतिहास दोहोरिन्छ? हामीले धेरै पुस्तकमा पढ्दा र धेरै कुरामा इतिहास दोहोरिएको पाउँछौं। कतै भने पाउँदैनौं। धेरै मानिसहरू 'यो जमानामा यस्तो कुरा हुन्छ' भनेर पत्याउँदैनन्। कोही अझै पनि यस्तो कुरामा विश्वास गर्छन्।
जसरी अहिले संसारभर कोरोना भाइरस फैलिएको छ, त्यसरी नै केही वर्षअघि इबोला भाइरस थियो भन्ने हामीले सुनिरहेका छौं। के अहिले त्यही भाइरसको इतिहास दोहोरिएको हो?
हुन त यो पृथ्वी नै एउटा इतिहास हो। हजारौं वर्ष पहिला सूर्यको टुक्रा निक्लिएर पृथ्वी बनेको हो भन्ने इतिहासको पानामा हामी पाउँछौं। यदि इतिहास दोहोरिने नै हो रहेछ भने के अब फेरि अर्को ग्रह पनि बन्छ?
भन्छन्, पृथ्वीमा सबैभन्दा पहिला डायनासोरहरू बस्थे। एउटा वस्तु आकाशबाट खसेर यो धर्तीकै विनाश भएर डायनासोरहरू लोप भएका थिए। त्यसपछि मानव सभ्यता सुरू भएको मानिन्छ। के यो कथा साँचो हो त? यदि हो र इतिहास दोहोरिन्छ भने के फेरि पृथ्वीको विनाश भएर मानव सभ्यता सकिन्छ? यदि पहिलाको इतिहास दोहोरियो हो भने फेरि मानव सभ्यता सक्किएर फेरि डायनासोर नै आउछन्? कि अरू कुनै जीव?
अहिले कति मानिसहरू पुनर्जन्ममा पनि विश्वास गर्छन्। त्यो पनि इतिहास नै हो। पुनर्जन्म पनि कसैको जीवनको इतिहास नै दोहोरिएको हो। कति यस्ता मानिसहरू हुन्छन् जो इतिहास दोहोरिन्छ भन्ने कुरामा त विश्वास राख्छन् तर पुनर्जन्ममा विश्वास गर्दैनन्।
मेरो विचारमा इतिहास दोहोरिने कुरा भगवानको हातमा छ। जसरी हामी भगवानमा विश्वास राख्छौं, मलाई त्यही विश्वासको कारण यो सबै कुरा भगवानकै हातमा छ जस्तो लाग्छ। इतिहास दोहोरिन्छ कि दोहोरिँदैन भन्ने कुरा हामीलाई थाहा त छैन तर यो सबै विश्वासको कुरा हो।
सबैको फरक फरक विचार हुन्छ। हामीले कसैको विचारलाई पनि नराम्रो मान्नु हुँदैन किनकी हामी कसैलाई पनि सत्य कुरा थाहा छैन। त्यसैले सबैको सोचलाई सम्मान गर्नुपर्छ।
(सन्सिला सुनाम बुढानिलकण्ठ स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)