सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हाम्रो परिवार सामान्य परिभाषित परिवारभन्दा अलि फरक छ। हाम्रो परिवार ठूलो छ। हामी बालबालिकाहरू घरमा दिदीहरूसँग बस्छौं र बाबाहरू घर बाहिर बस्नु हुन्छ। उहाँहरू नै हाम्रो आमाबाबा, काकाकाकी, दाइदिदी, आफन्त र सब थोक हो। अभिभावक हो।
हाम्रो घरको आफ्नै नियम छ। सबैको सजिलोका लागि बनाएको आ-आफ्नो समय तालिका छ। हामी बच्चाहरूको आफ्नै तालिका छ भने दिदीहरूको पनि आफ्नै।
बिहान ५ः३० मा उठ्ने, हात मुख धुने, योग र ध्यान गर्ने, चिया खाने, पढ्ने र खान खाएर ८ः४५ मा स्कुल जाने। त्यस्तै बेलुका ३ः१५ मा घर आएपछि खाजा खाने, होमवर्क गर्ने, पढ्ने, खाना खाने र ९ः३० मा सुत्ने।
८ कक्षाबाट स्कुलमा कोचिङ हुने भएकाले हामी ठूला बच्चाहरू ५ बजेपछि मात्र घर आइपुग्थ्यौं। थकाई धेरै लागेको हुन्थ्यो। हतार हतार खाजा खाएर होमेवर्क गर्न बस्थ्यौं। होमेवर्क यति धेरै हुन्थ्यो कि सुत्ने समयसम्ममा कहिलेकाहीँ बाहेक ११ बजेपछि मात्र सकिन्थ्यो। कहिले त बिहान ५ बजे अगाडि उठेर गर्नुपर्थ्यो।
यदि फेरि घरको नियम पालना नगरे हामी आफैंले बनाएको सजाय पाउने गर्थ्यौं। फेरि योग, ध्यान भनेको आफ्नै शरीरलाई स्वाथ्य राख्न हो। याे थाहा हुँदाहुँदै पनि कहिलेकाहीँ धेरै निद्रा र अल्छी लाग्थ्यो र सजाय पाउथ्यौं। हामी सधैं शनिबारको पर्खाइमा मनमनै दिन गनेर बस्थ्यौं।
ओहो! त्यो शनिबार बिहान ७ बजेसम्म आनन्दले सुत्न पाउने, खाना अरू दिनभन्दा विशेष, गर्मी मौसममा पौडी खेल्न जाने, ३ घन्टा टिभी हेर्न पाउने, खेल्न पाउने, कति रमाइलो हुन्थ्यो। कति चाँडो रात परेको जस्तो लाग्थ्यो। महिनाको अन्तिम आइतबार पनि स्कुल बिदा हुने भएकाले लगातारको दुई दिने बिदा कहिले नगए नि हुन्थ्यो नि! सधैं यस्तै भइरहे हुन्थ्यो नि जस्तो लाग्थ्यो। यसरी नै हाम्रो व्यस्त जीवन चलिरहेको थियो।
एक्कासि चीनको वुहान भन्ने ठाउँबाट फैलिएको कोरोना भाइरसले हाम्रो दैनिकीमा ठूलो परिवर्तन ल्यायो। सरकारले चैत ५ भन्दाअगाडि परीक्षा सक्नुपर्ने घोषणा गरेकाले अन्तिम परीक्षा पनि राम्रो तयारी बिनै दिनु पर्यो। नतिजा के कस्तो आउने हो थाहा छैन।
ठूलो दाइको एसइई पनि रोकियो। राति अबेरसम्म बसेर तयारी गर्नु हुन्थ्यो। परीक्षाको अघिल्लो रात मात्र परीक्षा नहुने खबर सुनेर धेरै निराश हुनु भयो। राम्रो नम्बर लाउने सोचले होला आजभोलि धेरै पढ्न लाग्नु भएको छ। कहिलेकाहीँ परीक्षा गर्नु हुँदैन भन्ने समाचार सुनेर दोधारमा पर्नु हुन्छ। आफैंसँग रिसाए जस्तै गर्नु हुन्छ।
परीक्षा पछिको बिदामा घरबाट भ्रमण जाने योजना थियो। धेरै रमाइलो गर्ने सोचेका थियौं। पूरा भएन। काेरोनाले गर्दा स्कुल बिदा हुने भएकाले लामो समय फुर्सदले घरमै बस्न पाइने भयो भनेर धेरै खुसी थियौं। हामीले आफ्नो सुरक्षाका लागि लकडाउन सुरू हुनुभन्दा अघिबाटै घर बाहिर जान बन्द गरेका थियौं। नेपालमा लकडाउन सुरू भएसँगै हाम्रो घरको नियम पनि लकडाउनमा पर्यो। स्कुल बन्द भएर घरको नियम पालना गर्नु नपर्ने खबरले हामी धेरै खुसी भयौं।
सुरूको २ हप्ता शिक्षकले दिनुभएको सिर्जनात्मक होमवर्क, घरकै लागि क्राफ्टको काम गर्दै, कहिले नाच्दै गाउँदै रमाइलो गरी बित्यो। सरकारले लकडाउन वैशाख ३ सम्म गर्ने भन्दा हामी अचम्ममा पर्यौं।
आजभोलि बिहान ८ बजे पछाडि, कहिले त ९ बजे तिर उठ्छौं। खान खाने बेलासम्म खेल्छौं। खाएपछि आ-आफ्नो कोठा, बाथरूम सफा गर्छौं। अनि स्कुलको अनलाइन कक्षामा १ घन्टा हाजिर हुन्छौं। नेटवर्कको समस्याले गर्दा अनलाइन कक्षामा कुरा कम बुझिन्छ। तर जाने जति होमवर्क गर्छौं। त्यसपछिको काम टिभी हेर्ने, खेल्ने र कहिलेकाहीँ डायरी लेख्ने र दिदीहरूलाई भान्सामा सहयोग गर्ने हुन्छ।
कोरोनाअघि हप्ताभरि पर्खेर बस्ने त्यो शनिबार जस्तो दिन आजभोलि हाम्रो दैनिकी बनेको छ। तर पनि खासै खुसी छैनौं। कोरोनाअघि हामीलाई आफ्नो काम पूरा गर्न समय कसरी मिलाउने होला भनेर धौधौ पर्थ्यो। आज त्यस्तो कुनै चिन्ता छैन। तर पनि हामी खासै खुसी छैनौं। आजभोलि दिन बिताउन धेरै गाह्रो हुन्छ, कारण चाहिन्छ। त्यसैले फुर्सद जीवनभन्दा व्यस्त जीवन नै ठीक रहेछ भन्ने लग्न थालेको छ।
कोरोनाले गर्दा हाम्रो खानाको तालिका पनि असर परेको छ। खानामा दाल, भात, तरकारी फरकफरक, साग, सलाद र अचार अनिवार्य हुन्थ्यो। दैनिक फलफूल हुन्थ्यो। हामी दिनमा ५ पटक खान्थ्यौं। अहिले बिहान, बेलुका साधा दाल, भात, तरकारी र एक चोटी खाजा खान्छौं र पनि हामी खुसी छौं।
कोरोनाले संसारभर धेरै मानिस मरेको, धेरै किसिमको दुःख पाएको समाचार टिभी र दिदीहरूको मोबाइलमा हेर्छौं। कोरोनाले मान्छे जति नै धनी, उच्च पदको भए पनि छाड्ने रहेनछ। धनीले त जसोतसो खानाको व्यवस्था राम्रै गरेका छन्। तर एक छाक खान दिनभर काम गर्ने गरिबले अब कामै नभए पछि के खाने होला? सडक बालबालिका र वृद्ध आमाबाले मागेर खान्थे। बाटामै रात बिताउँथे। उनीहरूको हालत के होला?
युट्युबमा पोखराको एउटा बजारको पुलमुनि बस्ने बालबालिकाको भिडिओ हेरेका थियौं। उनीहरूसँग खाना बनाउने भाँडा र सुत्ने ओछ्यान नै थिएन। कति त बिरामी थिए। तिनीहरूको अवस्था के होला अहिले? सोच्दा नि धेरै नरमाइलो लाग्छ। मन दुख्छ।
हामीलाई त दिदी र बाबाहरूले आफ्नो जीवन नै जोखिममा राखेर कता कताबाट खोजेर भए पनि राम्ररी खान पाएको छौं। विदेशमा हुनु भएको बाबाहरूको सहयोगले गर्दा हाम्रो जीवन सरल छ। हामी यस्तै कुरा गर्छाैं कहिलेकाहीँ।
संसारमा सफा मन भएका मानिसहरूले धेरै सहयोग गरिरहेका छन्। कोरोनाका बेला नेपालमा पनि जीवन जोखिममा राखेर धेरै मानिस र संस्थाले गरिब, अनाथ, वृद्ध, अपांगता भएका जस्ता धेरैलाई सहयोग गरिरहेका छन्। सबैमा त्यो सहयोग पुगेको छैन। सबैले हामीले जस्तो घर र परिवार पाएका छैनन्। तर ती सहयोगी मन देख्दा हामीलाई प्रेरणा मिल्छ। लाग्छ हामीले पनि केही गर्न सक्ने भएको भए हुन्थ्यो।
कोरोनाले हामीलाई धेरै राम्रा कुराहरू पनि सिकाएको छ। हामीसँग सानाे छँदा धेरै खेलौना थियो। राम्रै हुँदाहुँदै पनि कतिलाई फोहोरमा त कतिलाई स्टोर रूममा फ्याँकिदिएका थियौं। आज स्टोर रूमबाट खोजीखोजी निकालेर खल्दैछौं। समान फ्याँकोमा पछुतो लाग्छ। सामानको जतन गर्नु पर्ने रहेछ। कुनै बेला चाहिने रहेछ भन्ने थाहा भयो।
कोरोनाले हामीलाई समय समयमा हात धुने बानीले धेरै किसिमको रोगबाट बचाउँछ भनेर सिकायो। कोरोनाअघि हामी खाना खाँदा मात्रै एकै छिन हात धुन्थ्यौं। अहिले आँगनमा खेलेपछि, छतमा विरूवा छोएर आएपछि वा कुनै समान छोएपछि पटकपटक राम्ररी मिचिमिची साबुनपानीले हात धुन्छौं।
कोरोनाअघि खानामा आफूलाई मन नपर्ने तरकारी भए दिदीहरूलाई गनगन गर्थ्याैं, खाँदैन थियौं। आज आएर खाने कुरालाई छिः कहिलै भन्नु हुँदैन रहेछ, कतिले त्यही खान पाएका रहेनछन् भन्ने सिकायो।
फुर्सदको जीवनभन्दा व्यस्त जीवन नै रमाइलो हुँदो रहेछ। हामी सानाेछँदा हाम्रो घरमा आएकाले धेरै कुरा थाहा थिएन। आज कोरोनाले दुःख के हो, गरिबी के हो, स्वास्थ्य के हो, पैसा भएर पनि हुने अभाव के हो भन्ने ठूलो पाठ सिकाएको छ।
संसारमा विभिन्न खालकाे समस्या हुन्छ र ती समस्याको समाधान पनि हुन्छ। अहिले विश्वमा कोरोनाको समस्यामा छ। त्यसको हल पनि चाँडै निस्किन्छ भन्ने कुरामा हामी ढुक्क छौं। चाँडै हाम्रो स्कुल, हाम्रो व्यस्त जीवन सुरू होस् भन्ने कामना छ।
अहिले कोरोनाबाट बच्ने एक मात्र उपाय भनेको घरबाहिर ननिस्कनु हो। त्यसैले हामी सबै घरभित्रै बसेर, समयसमयमा हात धोएर कोरोनाबाट बचौं। अरूलाई पनि बचाऊँ।
(प्रतिमा राउत कक्षा ७ र सबिता घिमिरे कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)