सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
विश्वमा बेलाबेला विभिन्न रोगले महामारीको रूप लिने गरेको छ। जसले धेरै जनधनको क्षति हुन्छ। अहिले विश्वमा कोरोना भाइरसले महामारीको रूप लिएको छ। हालसम्म विश्वमा यो रोगबाट धेरै मानिस संक्रमित र धेरैकाे मृत्यु भएको छ।
हाम्रै नेपालमा पनि आजसम्म २ सय ९२ संक्रमित छन्। दुई जनाकाे त ज्यान पनि गइसक्याे। नेपालकाे काेराेना संख्या विश्वका अन्य देशको तुलनामा केही कम मानिन्छ तर याे रोगले दैनिक जीवनमा विश्वमा सबैलाई आतंकित बनाएको छ।
सानादेखि पाका उमेरसम्म यो रोगबाट संक्रमित छन्। सम्पूर्ण विश्वको अर्थतन्त्र तथा मानव जीवन अस्तव्यस्त छ। यस स्थितिमा हाम्रो देश नेपाल अछुतो रहने कुरै भएन। देशको शैक्षिक, विकासका कार्यदेखि हरेक क्षेत्र प्रभावित भएको छ। मानिसहरूको दैनिक जीवन प्रभावित भएको छ।
हामी जस्ता विद्यार्थीको पाठयक्रमअनुसार पढाइ हुन पाएको छैन। कुनै विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन्। सबै स्थानमा इन्टरनेटको सुविधा नभएकाले धेरै विद्यार्थी प्रभावित छन्। सम्पूर्ण देशमा लकडाउन गरिएको छ। कलकारखाना, उद्योग धन्दा सबै बन्द छन्। जसले गर्दा सम्पूर्ण उद्योगी तथा मजदुरहरू प्रभावित छन्।
दिनभर मिहेनत गरेर एक छाक टार्ने हैसियतका जनतालाई दैनिकी गुजार्न गार्हो छ। उद्योगीहरूको करोडौं घाटा भएको छ। मध्यम वर्गीय मानिसहरूको दैनिक आवश्यकताका चिजहरू पाउन गार्हो छ। पाए पनि महँगो मूल्य चुकाउन बाध्य छन्। यातायात ठप्प छन् जसले गर्दा बिरामीहरू आस्पतालसम्म पुग्न नसक्ने आवस्था छ। कतिपय मानिसहरू बाटोमा अलपत्र परेका छन्। न घर जान सक्छन्, न कतै खाने बस्ने व्यवस्था छ।
विदेशमा रहेका नेपालीहरूको छुट्टै व्यथा छ। काम ठप्प छ। घर जान पाउने आवस्था छैन। उनीहरूको घरमा आफ्ना परिवारलाई आर्थिक रूपमा सघाउन सक्ने अवस्था छैन। कसैकसैलाई आफूलाई नै खान बस्न अभाव छ। कोरोनाले गर्दा अन्य कुनै रोगको बिरामीले पनि अस्पतालमा उपचार गर्न सक्ने अवस्था छैन। देशका सम्पूर्ण सरकारी दैनिक काम हुन पाएका छैनन्। जसले गर्दा सबैलाई गार्हो भएको छ।
यस अवस्थामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत रूपमा आर्थिक अवस्था कमजोर भएकालाई राहत वितरण गरिएको छ। तर जाे वास्तविक गरिब छन्, बिहान बेलुका हातमुख जोड्न असक्षम छन्, उनीहरूसम्म प्रभावकारी रूपमा राहत पुग्न सकेको छैन। बाटोमा अलपत्र परेका मानिसलाई सुरक्षित रूपमा घर पुर्याउन सरकारले प्रभावकारी रूपमा व्यवस्था मिलाउन पर्छ।
दैनिक ज्यालादारी गरेर जीवनयापन गर्नुपर्ने अवस्थाका मानिसलाई प्रभावकारी रूपमा राहत वितरण गर्ने संयन्त्र बनाउनुपर्छ। सरकारले मात्र हैन हामी आफैंले पनि सक्ने प्रयास गरेर यो अवस्थामा फसेका गरिबहरूलाई सहयोग गर्नुपर्छ।
सरकारले अहिले घोषणा गरेको लकडाउनलाई हामी सबै नागरिकले कडा रूपमा पालना गर्नुपर्छ। यदि हामीले सरकारको आज्ञा पालना गर्यौं भने यो अवस्थामा हामी आफू र सम्पूर्ण देशलाई राम्रो हुन्छ। त्यसैले हामी सबै एकजुट भएर कोरोनासँगको लडाइँ जित्नुपर्छ।
(सन्सिला सुनाम बुढानिलकण्ठ स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com