सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हामी निकै लामो समयदेखि घरमा लकडाउनमा छौं। नियमित शिक्षण संस्था पुगेर शिक्षण क्रियाकलापमा सक्रिय रहनुपर्ने हामी विद्यार्थीहरू विश्वव्यापी महामारी कोभिड १९ को कहरबाट लामो समयदेखि ग्रसित छौं। यो अन्योल कहिलेसम्म लम्बिने हो?
त्यसको सहज उत्तर कोही कसैले दिन सक्ने स्थिति आजका दिनसम्म छैन।
हामी विद्यालय जानुपर्ने विद्यार्थीहरू लकडाउनका कारण जान पाएका छैनौं। जसले हामी जस्ता लाखौं विद्यार्थीहरू नियमित पढ्न लेख्नबाट वञ्चित छौं। यो विश्वव्यापी महामारीको कुनै औषधि हालसम्म पत्ता नलागेको हुँदा लकडाउन एक मात्रै उपाय बनेको छ। हरेक व्यक्तिसँग सामाजिक दुरी कायम गर्नु, साबुनपानीले पटकपटक हात मिचिमिची धुनु र घरबाट बाहिर ननिस्कनु नै कोरोनाबाट सुरक्षित हुने विश्व स्वास्थ्य संगठनले विश्वभरका नागरिकलाई सूचित गरेको छ।
हाम्रो देशले पनि यही मापदण्डलाई आधार बनाएर लकडाउनको निर्विकल्प उपाय अपनाएको छ। तसर्थ, आज म सरकारको यी सबै सर्तहरू पालना गर्दै घरमै बसिरहेकी छु।
कोरोनाले हाम्रो देश मात्रै नभएर संसारभरका बालबालिकाको शिक्षामा गम्भीर असर पारिरहेको छ। विश्व नै यो महामारीबाट आतंकित छ। संसारका धेरै देश यो महामारीको विरूद्ध घरभित्र कैद हुनु परेको छ। यसर्थ, म मात्रै होइन विश्वभरका लाखौंलाख मजस्ता विद्यार्थीको नियमित विद्यालय गएर अध्ययन गर्न पाउने कुरा अनिश्चित बनिरहेको छ।
लामो समयदेखि लकडाउनमा रहनुपर्ने भएको हुँदा धेरै विद्यालयहरूले अनलाइन शिक्षणविधि अबलम्बन गरिरहेका छन्। आधुनिक युगको प्रविधिमा पहुँच भएका विद्यालयहरूले त आफ्ना विद्यार्थीहरूलाई अन्लाइन शिक्षा संचालनमा सम्भावना रहला। हाम्रोजस्तो मुलुकका धेरै गाउँठाउँमा त्यो कत्तिको सम्भावना रहला? हाम्रो गाउँघरमा अझै पनि इन्टरनेटको पहुँच सहज हुन सकेको छैन।
हाम्रो विद्यालय श्री जुगल इङ्लिस मिडियम स्कुल, कपनले पनि लकडाउनको सरूआतदेखि नै हामीलाई अन्लाइन शिक्षा दिँदै आएको छ। यसले गर्दै लकडाउनमा केही हदसम्म हामीलाई राहत मिलेको छ।
म हरेक दिन आफ्ना विषय शिक्षकसँग आफूलाई नआएको कुरा सोध्ने गर्छु। विद्यालयले पनि आफ्ना सबै विद्यार्थीलाई नियमित गृहकार्य दिएर हाम्रो खाली समयलाई शिक्षण क्रियाकलापको रूपमा सदुपयोग गराइरहेको छ।
कोभिड १९ को समय कति लम्बिने हो अनिश्चित बनिरहेको छ। नेपालमा दिनप्रतिदिन संक्रमित हुनेको संख्या बढिरहेका छन् भने संक्रमितहरूको मृत्युवरण गरिरहेको समाचार पनि आइरहेका छन्।
यस्तो विषम परिस्थितिमा हाम्रा विद्यालयहरू तत्काल खुल्ने संभावना देखिदैन। हामीले चैत्र महिनामा दिनुपर्ने माध्यमिक शिक्षा परीक्षा एसइईको पनि अनिश्चितता बढीरहेको छ। एकातिर विश्वव्यापी महामारीको त्रास अर्कोतिर परीक्षा कहिले हुने भन्ने मनोविज्ञानले हामी विद्यार्थीहरू धेरै मर्कामा छौ।
लामो समय घरमा रहनुपर्ने भएको हुँदा मनमा अनावश्यक त्रास नहोस् भनेर मैले नियमित पठनपाठनका अलावा गीत संगीत सुन्ने, घरमा परिवारसँग अन्ताक्षरी खेल्ने, रमाइला रमाइला पुस्तकहरू पढ्ने गरेकी छु। त्यस्तै, विभिन्न ज्ञानवर्द्वक कथाहरू वाचन गर्ने, नियमित शारीरिक व्यायाम गर्ने र योगसमेत गर्ने गरेकी छु।
यो लकडाउनमा मैले ममीसँग भान्सामा पाक कलामा पनि निकै सहयोग पुर्याउन पाएँ। विभिन्न पाक कलाका च्यानलहरू हेरेर मिठामिठा परिकार बनाउन सिकेँ। अहिले मलाई रसभरी, लालमोहन, जुलेवी, गाजरको हलुवा र मासुका केही परिकार बनाउन आउँछ। यो पनि लकडाउनको महत्त्वपूर्ण उपलब्धि हो भन्नुपर्छ।
लकडाउनको सकसलाई कसरी सिर्जनात्मक बनाउन सकिन्छ? त्यो हामीले नै खोज्नुपर्छ। हाम्रो जीवनमा यी र यस्ता विपत्ति धेरै आउँछन्। विपत्तिमा त्रसित भएर बस्नुभन्दा कसरी रमाउन र सिर्जनशील बन्न सकिन्छ भन्ने खोजी गर्नुपर्छ।
यो समयमा मैले धेरै कविताहरू लेखेर कोरोनाको विश्वव्यापी कहरलाई भुल्ने प्रयास गरेँ। पत्रपत्रिकामा लकडाउनमा आफूले गरेका, सिकेका, जानेका कुराहरू समेटेर लेखहरू लेखेर कष्टपूर्ण समयको सदुपयोग गरेँ। चित्रकलामा रूचि भएको हुँदा विभिन्न चराचुरुङ्गीहरूको चित्र बनाएर समय बिताएँ।
मेरो परिवार बालमैत्री छ। म आफ्नो आमाबाबासँग सबैकुराहरू सजिलोसँग सेयर गर्छु। बाबाले लेख्ने-पढ्ने कुरा सिकाउनु हुन्छ। ममीले खानेकुराहरू बनाउन सिकाउनु हुन्छ। परिवारका सबै सदस्यहरू मिलेर बनाएको सबैकुरा मीठो हुँदो रहेछ।
एक दिन हामी स-परिवार मिलेर नेपाली चर्चित खानेकुरा मःम बनाए खायौं। मःमकाे डल्लो बनाउने कला आकर्षक नभए पनि निक्कै स्वादिलो बनेको थियो। त्यसमा ममीले ठट्टा गर्दै भन्नुभएको थियो, 'परिश्रमको फल मीठो हुन्छ भन्छन्, हामी आफैंले बनाएको हुँदा मःम स्वादिलो र मीठो भएको हो।'
म अहिले मःम बनाउन सक्ने भएकी छु।
प्रिय साथीहरू, मैले त यो लामो कोरोना कहरमा दिनहरू कसरी बिताएँ भन्ने लामै फेहरिस्त सुनाए। अँ साँच्चि! यो फुर्सदमा पढ्न लेख्नेबाहेक तपाईंहरूले दिनहरू कसरी बिताइरहनुभएको छ कुन्नि? आगामी दिनमा तपाईंहरूको दैनिकी पनि सहज र सिर्जनशील भएर बितेको पढ्ने रहर छ।
हामीले विपत्तिको समयमा एक्लै र एकान्तमा बसिरहँदा मनमा नचाहिँदो कुरा खेल्छ। विपत्तिमा आत्तिएर वा हतास भएर बस्नुहुन्न। मनमा धेरै कुराहरू खेल्छन्। तसर्थ, घरपरिवारसँग बढी नै घुलमिल हुनुपर्छ। एकान्तमा बस्नुहुन्न। त्यसरी बस्दा हामी जस्ता बालबालिकाको मनोविज्ञानमा दीर्घकालीन असरहरू पर्ने गरेको हामीले सुनेकै छौं। तसर्थ, तपाईंहरू पनि एकान्तपनबाट टाढा रहनु होला।
यस्तो बेला जतिसक्दो आफ्नो परिवारसँग सहजै घुलमिल हुनुपर्छ। विपत्तिलाई सजिलोसँग सामना गर्न सक्नुपर्छ। मैले त यो महामारीको समयलाई निरन्तर सिर्जनात्मक र जीवन उपयोगी बनाउने प्रयास गरिरहेको छु। तपाईंहरू पनि यसैगरी जीवन उपयोगी काम गरेर यो महामारीबाट सहजै समय बिताउनु होला।
(एभान्जोलिना कार्की श्री जुगल इङलिस मिडियम स्कुल कपन, काठमाडौंमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com