सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म सुदिप लामा। बुढानिलकण्ठ विद्यालयको कक्षा ८ मा अध्ययनरत छु। दोलखा मेलुङ गाउपालिका भेड्पु भन्ने ठाउँमा बसेर माइक्रोसफ्ट टिम्स एप्समार्फत अनलाइन कक्षा लिइरहेको छु। बाँकी समयलाई रचनात्मक बनाउन फुर्सदको समयमा गीत संगीत सुन्ने, किताब पढ्ने साथै परिवारसँग समय बिताउने गरिरहेको छु।
यति बेला धेरै विद्यालयहरूलाई अनलाइन कक्षा संचालन गर्न समस्या भइरहेको होला। हामीहरूले भने केही इन्टरनेट नेटवर्कको समस्यासँगै राम्रो अनुभव पनि लिइरहेका छौं।
विश्वभरी महामारी रोगको रूपमा फैलिएको कोरोना भाइरसले हामी सबै डरलाग्दो र भयावह स्थितिमा छौं। देशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। हामी सबैलाई सर्वविदित नै छ यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजक र सतर्कता अपनाउनु नै हो।
भिडभाडमा नजानु, ज्वरो आएका व्यक्तिहरूको सम्पर्कमा नजानु, साबुनपानीले राम्रोसँग हात धुनु, स्यानिटाइजर प्रयोग गर्नु लगायत स्थानीय सरकारको निर्देशिका बमोजिम सतर्कता अपनाउनु नै सुरक्षित रहनु हो।
यस्ता महासंकटले अवसर पनि निर्माण गर्न सक्छ। त्यसैले डब्लुएचओको भनाइअनुसार घरमा बस्दा शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन जरूरी देखिन्छ।
सरकारको लकडाउन क्रमिक रूपले बढिरहेको छ तर सबै बालबालिकालाई परिवारसँग सकारात्मक आत्मियता जोडिने मौका मिलेको छ। प्रकृतिले चुनौती गरिरहेको अवस्था छ। संसार डिजिटल दुनियाँमा परिवर्तन हुँदैछ।
संसारभर लकडाउनले सकारात्मक तथा नकारात्मक दुवै खालका असरहरू पारिरहेको छ। यसलाई सकारात्मक ढंगले लिने हो भने सबैको घरपरिवारको बीच पुनर्मिलन गराएको छ। यस चुनौतीले हाम्रो देशमा एउटा छुट्टै क्रान्तिको पनि सिर्जना हुन सक्छ। यस्ता खाले चुनौतीले देशमा सकारात्मक परिवर्तन पनि नआउला भन्न सकिन्न।
त्यसैले, यस लकडाउनको समयलाई सदुपयोग गर्दै आफू सुरक्षित रहनु हुन अनुरोध गर्छु। स्थानीय सरकारको निर्देशिकालाई जिम्मेवारीपूर्वक कार्यान्वयन गरेमा कोरोनाबाट बच्न सकिन्छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com