सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हामी सबैलाई थाहा नै छ अहिले संसारभर कोरोनाको महामारी छ। हाम्रो देशमा पनि दिनदिनै बिरामीको संख्या बढिरहेको छ। तीन जनाको त मृत्यु नै भइसक्यो। लकडाउन भएको पनि दुई महिना हुन लाग्यो।
अचेल हामी समाचारमा सुनिरहेका छौं दिनदिनै काम गरेर खानु पर्ने मान्छेरूलाई साह्रै गाह्रो भएको छ। विदेश गएका नेपाली पनि धेरै दुःखमा छन्। उनीहरू आफ्नै देश फर्किन खोजिरहेका छन्। भारतमा काम गर्न गएका नेपालीहरू पनि नेपाल भारतको सिमानामा अलपत्र परेका छन्। कति मान्छेहरू रातिराति लुकेर पनि नेपाल छिरेका छन् रे।
कति त महाकाली नदीमा पौडी खेलेर पनि आएको देखियो। मानिसहरू मर्नै परे पनि आफ्नै देशमा मर्छौं भनेको टिभीमा देखिरहेका छौं। आफू जन्मेको ठाउँ अनि आफ्नो देश भनेको दुःख परेको बेलामा झन् धेरै चाहिँदो रहेछ है!
अहिले हाम्रो देशलाई अर्को पनि समस्या परेको छ। साथीहरू भारतले नेपालको जमिन मिचेर बाटो बनाएको छ रे। अनि नेपालकै ठाउँ कालापानीमा त धेरै वर्षदेखि सैनिकहरू नै ल्याएर राखेको छ रे। टिभीमा यसको बारेमा धेरै समाचार सुनेपछि मैले बाबासँग सोधेँ के भएको हो भनेर।
बाबाले यो समस्याको बारेमा धेरै कुरा बताइदिनुभयाे। दुई वर्षअघि अफिसरहरूको तालिम चलिरहेको बेला मलाई पनि स्टाफ कलेज लगेर देखाउनुभएको डकुमेन्ट्री बारेमा पनि सम्झाइदिनुभयाे। त्यतिबेला त मैले खासै बुझेको थिइनँ। मैले अहिले उत्सुकता लागेकाले फेरि त्यो भिडिओ युट्युबमा हेरेँ। असाध्यै राम्रो भिडिओ रहेछ, 'द ग्रेटर नेपाल'।
यो हामी सबैले एकचोटी हेर्नै पर्ने रहेछ। यसमा हाम्रा वीर पुर्खाहरूले देशलाई बचाउन र नेपाललाई धेरै ठूलो देश बनाउन कति धेरै लडाइँ गर्नुपरेको रहेछ भन्ने देखाइएको छ। थाहा छ साथीहरू, नेपाल त्यसबेला त पूर्वमा सिक्किम र पश्चिममा कुमाऊ गढवालसम्म पुगेको रहेछ। पछि त्यो बेलाको 'इस्ट इन्डिया कम्पनी सरकार' सँग लडाइँ जित्न नसकेर 'कम्प्रमाइज' गर्नु परेको रहेछ। त्यसलाई सन् १८१६ को ‘सुगौली सन्धि’ भनिन्छ। त्यसपछि नेपालले जितेका ठाउँ पनि छोड्नु परेको रहेछ।
हामीले देखेको नेपालको नक्सा त्यही सुगौली सन्धि पछिको पो रहेछ। त्यो सन्धिमा काली नदीदेखि पूर्वतिर नेपाल भनेको रहेछ। अनि काली नदीको मुहान लिम्पियाधुरा भन्ने ठाउँमा रहेछ। तर भारतले त त्यहाँभन्दा धेरै किलोमिटर वर लिपुलेक अनि कालापानीसम्मै आफ्नै जमिन हो भनेर जबरजस्ती बसेको रहेछ। हामीले पनि त्योबेला लिम्पियाधुराभन्दा यताको ठाउँ नक्सामा राख्न छुटाएछौं। त्यसैले पनि अहिले धेरै समस्या भएको हो कि?
केही दिन अघि नेपाल सरकारले त्यो छुटेको ठाउँ पनि राखेर नयाँ नक्सा निकालेको छ। अबको नक्सामा नेपालको दार्चुला जिल्लादेखि चोसो परेर लिम्पियाधुरासम्म हाम्रो जमिन भएको प्रष्ट देखिन्छ। अब हामीले पढ्ने पुस्तकहरूमा पनि नेपालको नयाँ नक्सा देख्नेछौं होला।
यो लकडाउनको बेलामा साथीहरूले पनि धेरै नयाँ कुराहरू सिक्नुभएको छ होला। मैले पनि कथा कविता पढ्ने, गीत गाउने, फिल्म हेर्ने अनि केही गेम खेल्ने र चित्र बनाउने काम गरेँ। हाम्रो देशको बारेमा यी कुराहरू सुनेपछि मलाई आफ्नो देशको झन्डा बनाउन मन लाग्यो र स्केच प्याडलाई जोडेर वाटर कलरले नेपालको ठूलो झन्डा बनाएको छु र लिभिंग रूममा राखेको छु।
मैले नेपालको भर्खर छापिएको नयाँ नक्सा पनि बनाएको छु। साथीहरूलाई थाहा नै छ अहिले नेपालमा सातवटा प्रदेशहरू छन् अनि ७७ वटा जिल्लाहरू छन्। मैले नक्सामा प्रदेश र जिल्लाहरू पनि देखाएको छु। अब नयाँ नक्सा आएपछि हाम्रो देशको क्षेत्रफल पनि बढ्छ रे। कति भन्ने चाहिँ केही दिनमा मात्र थाहा हुने रहेछ।
थाहा छ साथीहरू, हामीलाई विद्यालयमा 'जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी' भनेर पढाउनुभएको थियो गुरूआमाले। हाम्रो नेपालको प्रतीक चिन्ह पनि यही लेखिएको छ। यसको अर्थ आफूलाई जन्म दिने आमा र आफू जन्मेको देश स्वर्गभन्दा पनि प्यारो हुन्छ। अहिले हामीले देख्यौं कोरोना महामारीमा परेर देश फर्किन खोजिरहेका र भारतले हाम्रो देशको सिमाना मिचेकाले चित्त दुखेका हामी नेपालीहरूलाई साँच्चै नै देशको माया कति धेरै हुने रहेछ भनेर।
यति बेला हाम्रो विद्यालय बन्द भए पनि अनलाइन कक्षामा दिनको एउटा विषय पढाइ भइरहेको छ। हामी अहिले नेपाली विषयमा राष्ट्रकवि माधव घिमिरेले लेख्नुभएको र नातिकाजीले मीठो भाकामा गाउनुभएको 'नेपाली हामी रहौंला कहाँ नेपालै नरहे' भन्ने कविता पढ्दैछौं। यति बेला मलाई माधव घिमिरेले नै लेख्नुभएको अर्को गीतको पनि सम्झना आइरहेको छ 'जय जय जय नेपाल सुन्दर शान्त विशाल'।
(आरम्भ सिग्देल विद्या संस्कार स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com