सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
साना मानव वस्तीहरूलाई गाउँ भनिन्छ। गाउँमा सहरको तुलनामा अलि कम जनसंख्या हुन्छ। गाउँमा सुविधा ज्यादै नभए पनि सौन्दर्यले सबैको मन जित्छ।
नेपालमा यस्ता धेरै सुन्दर र मनमोहक गाउँहरू छन्। यीमध्ये मेरो प्रिय गाउँ ज्ञादी पर्छ। सांस्कृतिक, प्राकृतिक, धार्मिक, भाषिक तथा परम्परागत रूपमा अब्बल छ मेरो गाउँ।
हाम्रो गाउँ पर्वत जिल्लामा पर्छ जुन सदरमुकाम कुश्मादेखि ४-५ किलोमिटर टाढा छ। गाउँमा घरहरू गुजुमुज्ज नभएर अलगअलग ठाउँमा पातलो किसिमको हुन्छ। हाम्रो गाउँमा घरघरै खानेपानीको धारा छ। घर नजिकै विद्यालय, स्वास्थ्यचौकी पनि छ। सबैको घरमा चर्पी छ। हाम्रो गाउँलाई खुल्ला दिशापिसाब मुक्त क्षेत्र घोषणा गरिएको छ। गाउँमा मोटर बाटो पनि आएको छ। गाउँमा युवाहरू मिलेर जनज्योति क्लब पनि गठन गरेका छन्। गाउँका दाजुभाइ, दिदीबहिनीहरू मिलेर आर्थिक कारोबारका लागि सहकारी पनि खोलेका छन्।
हाम्रो गाउँलाई कसरी विकास गर्न सकिन्छ भनेर रातदिन नभनी काम गरिरहेका छन्। सबै पेसाका मानिसहरू खटेर काम गरिरहेका छन्। जस्तै, स्वयंसेवक जस्तो किसिमले अहोरात्र खट्ने राम्रो खालका राजनेता, शिक्षक, स्वास्थ्यकर्मी पनि गाउँमा छन्। गाउँमा आफ्नो धर्म संस्कृतिअनुसार आफ्नो रितिरिवाज सबै मिलेर मनाउने गर्छन्।
हाम्रो गाउँका घर माटो, ढुंगा, काठ र जस्ताको पाता राखेर बनाइएका छन्। यहाँका घरमा रातो माटो र सेतो कमेरो (चुन) ले पोतिन्छ पनि। गाउँमा धेरै मन्दिरहरू पनि छन्। यहाँ लोप हुन लागेका ढिकी-जाँतो पनि देख्न पाइन्छ।
हाम्रो गाउँ प्रकृतिले अनुपम छ। गाउँमा देउराली र चौतारीहरू छन्। माछापुच्छ्रे ,अन्नपूर्ण र धौलागिरि जस्ता चाँदी जस्तै टल्किने हिमालको दृश्य अवलोकन गर्न पाइन्छ। साना जंगल पनि छन् जहाँ हामीले विभिन्न नौलो प्रकारका वन्यजन्तु र चराचुरूङ्गी देख्न पाउँछौ। चिन्ने खोला, मल्याङ्दी खोला नजिकै छन्। हाम्रो गाउँका साथी त्यहाँ खोला नजिकै गाइवस्तु चराउने, माछा मार्ने, पौडी खेल्ने गर्थे। गाउँ नजिकै ठूलो चौर छ त्यहाँ हामी खेल्ने गर्थ्यौं। दसैंका बेलामा म लगायत मेरा साथीको बास त्यही हुन्थ्याे।
गाउँमा भएका धेरैजसो मानिस शिक्षित छन्। यहाँका मानिसले खेती, किसानी र अन्य परम्परागत काम गर्छन्। आफ्नै बारीमा फलाएका तरकारी र फलफूल, अन्नहरूले गाउँका मानिसलाई खान पुग्छ। यहाँका मानिस अहोरात्र परिश्रम गरेर गाइवस्तु पाल्छन्। आफ्नो लागि दूध, मासु, अन्डा आफैं उत्पादन गर्छन्। मानिस स्वावलम्बी बन्नुपर्छ, अरूको भर पर्नु हुँदैन। मेरो विचारमा हाम्रो गाउँ 'आफ्नो गाउँ, आफैं बनाउँ' भन्ने हिसाबमा एक उदारणीय गाउँ हो।
म अहिले काठमाडौंमा रहे पनि मेरो स्वर्ग जस्तो गाउँलाई मेरो मन मस्तिष्कमा सजाएर राखेकी छु।
(आँचल अधिकारी लिभरपुल माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com