सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कथाः
दाङ जिल्लाको कुनै एउटा गाउँमा मध्यम ब्राह्मण परिवारकी एक केटी थिइन्। उनको नाम थियो करूणा। उनी बुबाआमाकी कान्छी छोरी थिइन्। उनकी एक दिदी र दुई दाजु थिए। कान्छी छोरी भएर नै होला, करूणाले घरको धेरै कामहरू गर्नु पर्थ्यो।
उनले सधैं घाँसदाउरा गर्नलाई कहिले उकाली त कहिले ओराली गर्नुपर्थ्यो। तर पनि उनी यी दुःख बिर्सिएर साथीहरूसँग खेल्थिन् अनि हाँसोठट्टा र रमाइलो गर्थिन्। उनका दिनहरू यसरी नै बित्दै गइरहेका थिए।
समयसँगै उनी पनि ठूली हुँदै गइन्। उनमा बैंस पनि भरिन थाल्यो। उनी गमलामा फूलेका ढकमक्क फूलजस्तै देखिन थालिन्। उनी दिनप्रतिदिन सुन्दर हुँदै गइरहेकी थिइन्। उनको आफ्नै गाउँको एक मध्यमवर्गीय परिवारमा जन्मिएको एक मगर केटासँग प्रेम बस्न थाल्यो।
उसको नाम राघव थियो। उनीहरू एकअर्कालाई धेरै माया गर्थे। बिहे गरेर सँगै जीवन बिताउन चाहन्थे। तर गाउँमा त्यति बेला जातभातको धेरै चर्चा परिचर्चा हुने गर्थ्यो। सानो जात र ठूलो जात भन्ने गर्थे। त्यसैले राघबले करूणाको घर गएर उनको हात माग्ने आँट नै गर्न सक्दैनथ्यो। उनीहरूले भागेर बिहे गर्ने निधो गरे। त्यति बेला गाडी अनि मोटरको सुविधा नभएको हुनाले राघव र करूणा घरबाट भागेर हिँड्दै नेपालगन्ज पुगे। त्यहाँको बागेश्वरी मन्दिरमा विवाह गरी घर फर्किए। त्यतिन्जेलसम्म करूणाको बुवाआमालाई केही थाहा थिएन।
सुरूमा थाहा पाएपछि उनीहरू धेरै नै क्रोधित भएका थिए। तर छोरीको मायाले गर्दा बिहे गरेर गइसकेकी छोरीलाई फिर्ता ल्याउन मिलेन भनेर उनीहरू विवाह स्वीकार्न बाध्य भए। अब करूणा त्यस घरकी श्रीमती अनि बुहारी पनि भइसकेकी थिइन्। काँधमा धेरै जिम्मेवारी पनि थपिएको थियो। उनले घरको काममा सघाउँथिन्।
करूणा र राघवको सम्बन्ध एक वर्ष जस्तो त राम्रै भइरहेको थियो। करूणा गर्भवती भइन्। अनि त्यसको तीन महिनापछि राघवले पैसा कमाउन सहर जाने निधो गरे। यो कुराले करूणाको निकै चित्त दुख्यो।
त्यस दिन साँझ उनि सबैलाई खाना खुवाउँछिन् अनि अन्त्यमा आफूले नि खान खोज्छिन्। तर उनलाई भोक हुँदैन। उनी भाँडा माझेर सुत्न जाने बेला न्यास्रो मुख लगाएर राघवलाई सोध्छिन्, 'सहर जानै पर्ने हो र? यही बसेर हामी केही गरौं न। हुँदैन?'
राघवले उत्तर दिन्छन्, 'यहाँ बसेर के नै हुन्छ र? सधैं खेतबारीमा लादिएर काम गरे पनि त्यही साँझ बिहान खान मात्र पुग्ने न हो।'
करूणा रून्चे स्वरमा भन्छिन्, 'याे भन्दा अरू के नै चाहियो र? साँझ बिहान भोको पेट बस्न नपरे त भइहाल्यो नि। आखिर मरिलानु के नै छ र? मलाई एक्लै छोडेर नजानु न। म एक्लै हुन चाहन्न ...'
राघवले करूणाको आँसु पुछ्दै सम्झाउन खोज्छन्, 'एक्लै त कहाँ हुन्छेउ त लाटी। बुबाआमा हुनुहुन्छ त घरमा। म पनि सधैंका लागि कहाँ जान लागेको हो र? चाँडै फर्केर आइहाल्छु नि। फेरि हाम्रो बच्चाको भविष्य पनि त सोच्नुपर्यो नि। हामी त पढेनौं पढेनौं, अब हाम्रो बच्चालाई त धेरै पढाउनुपर्छ। उसको भविष्य राम्रो बनाउनुपर्छ। म सहरबाट धेरै पैसा कमाएर ल्याउछु। हामीलाई पनि त राम्रो हुन्छ नि। यति धेरै दुःख पनि गर्नु पर्दैन।'
करूणालाई आफूभन्दा आफ्नो बच्चाको भविष्यकाे चिन्ता बढी थियो। त्यसैले उनले केही पनि बोल्न सक्दिनन्। अँध्यारो पनि निकै भइसकेको थियो। अनि राघवले भन्छन्, 'ल सुत अब। भोलि बिहान चाँडै उठ्नुपर्छ। सहर जानु छ।'
करूणाको मनमा नानाथरिका कुरा खेलिराख्छन् अनि उनी रातभर निदाउन सक्दिनन्। बिहानै उठेर राघव सहर जाने तयारी गर्छन्। आमाबुबासँग आशिर्वाद लिएर बिदा हुन्छन्। जानुअघि 'ल आमाबुवा राम्रोसँग बस्नु है। अनि बुहारीको नि ख्याल राख्नु है। म छिट्टै आउँछु' भन्छन्। अनि करूणालाई 'म गएँ है करुणा' भन्दै आफ्नो बाटो लाग्छन्। करूणा रून्चे अनुहार पारेर 'हस' भन्छिन् तर त्यो आवाज हावामै बिलाएको जस्तो थियो।
समय बित्दै गयो। राघवको कुनै अत्तोपत्तो थिएन। खबर-पत्र केही पनि आएन। यता घरमा करूणाको सासूससुराले पनि करूणालाई हेला गर्न थाले। करूणा आफैंले घरको सबै काम गर्नु पर्थ्यो। सघाउने नि कोही थिएन। उनी गर्भवती भएका बेला पनि जंगलमा गएर घाँसदाउरा ल्याउन पर्थ्यो। जंगलबाट फर्किँदा त कहिलेकाहीँ सासूससुरा खाना समेत खाएर बसिसकेका हुन्थे। त्यसैले उनी कहिले माइत नजिकै पर्ने हुँदा माइत गएरसम्म खाने गर्थिन्। कहिले भोकै पनि बस्ने गर्थिन्। सासूससुराले करूणालाई एकदम दुःख दिने भएकाले उनी दिनदिनै रूने गर्थिन् तर आँसु पुछ्ने कोही थिएन।
यस्तैमा उनीबाट छोरीको जन्म भयो। न्वारन पछि उनको नाम स्नेहा राखियो। करूणा छोरी लिएर सुत्केरी बस्न माइत गइन्। करूणालाई घरमा जे जस्तो गरे पनि माइत भने माया नै गर्थे। करूणा र उनकी छोरीको माइतमा राम्रोसँग हेरचाह भयो। त्यसैले उनी घर फर्किन चाहिनन् अनि घरबाट कोही लिन पनि आएन। स्नेहा तीन महिनाकी भएपछि राघव घर फर्किए। यो थाहा पाएर करूणा छोरी लिएर आफ्नो घर फर्किइन्। त्यसपछि राघव दुई वर्षसम्म गाउँमै बसे। तर राघव गाउँ फर्केपछि पहिलेकाे जस्ता थिएनन्। उनको व्यवहारमा परिवर्तन भएको थियो।
सासूससुराको अत्याचार सहिरहेकी करूणाले अझै आफ्नै श्रीमानको पनि हेपाइ सहनुपर्यो। सहरको बसाइले उनलाई विलासी बनाइदिएको थियो। त्यसैले कागज मिलाएर, छोरी दुई बर्सकी हुँदा राघव विदेशतिर लागे। करूणा भने आफ्नो कर्तव्य निर्वाह गर्न छोडिनन्। सासूससुराले जति सुकै अत्याचार गरे पनि उनले घरको काम गर्थिन्। उता करूणाका आफ्नै बुवाआमालाई यो देखेर दुःख लागेको थियो। त्यसैले, उनीहरू करुणा र स्नेहालाई लिएर अर्कै गाउँमा बसाइसराई गरेर बस्न थाले।
समय बित्दै गइरहेको थियो। स्नेहा पनि पढ्ने बेलाकी भइसकेकी थिइन्। करूणाले माइत मै बसेर उनका बुवाआमा र दाजुलाई सघाउने गर्थिन्। स्नेहालाई पनि नजिकैको बोर्डिंङ स्कुलमा पढाउन थालिन्। करूणाले राघवको धेरै प्रतिक्षा गरिन् तर धेरै वर्ष बितिसक्दा पनि राघव फर्किएर आएनन्। न त उनको खबर नै आयो। अब करूणालाई एउटी विवाह गरेकी छोरी यसरी सधैंभरी माइतमा बसिरहनु ठीक लागेन। समाजले के भन्ला भन्ने लाग्यो। गाउँलेहरुले पनि कुरा काट्न थालिसकेका थिए।
त्यसैले उनले अर्को विवाह गर्ने सोच बनाइन्। उनका माइतको नजिकैको गाउँको एउटा युवक विवाहको प्रस्ताव लिएर आयो र उनले मन्जुरी दिइन्। युवकको व्यवहार नि राम्रो भएकाले अनि आफ्नी छोरीको यो अवस्था हेरेर बाआमाले पनि मन्जुरी दिए। उनको त्यो युवकसँग विवाह भयो। अब करूणाले आफ्नो श्रीमानबाट माया र ममता पाउन थालिन्। उनी धेरै पछि त्यति खुसि देखिन्थिन्। स्नेहा भने आफ्नो मामाघरमै बसेर पढ्न थालिन्। स्नेहालाई उनका हजुरबा अनि हजुरआमा र ममामाइजूले साह्रै माया गर्नुहुन्थ्यो। स्नेहा पनि माया पाएर राम्रोसँग पढ्न थालिन्। ठूलो भएर उनी एक सफल डाक्टर भइन् र बिरामीको उपचार गर्न थालिन्।
करूणा पनि एक असल समाजसेवी भइन्। समाजमा कुनै पनि नारीलाई अन्याय भएमा न्याय दिलाउन काम गर्न थालिन्। उता राघव भने अर्की श्रीमती बिहे गर्छन् उतै सहरमा। उनकी श्रीमतीले राघवलाई गाउँले-पाखे भनेर हेला गर्दिरहिछन्। करूणा भने एक सफल समाजसेवी हुन पाएकोमा खुसी छिन्। आफ्नी छोरी स्नेहालाई एक डाक्टर बनाउन सकेकोमा गर्व गर्थिन। उनीहरू यसरी नै खुसीसाथ जीवन बिताउन थाले।
(इशा ढकाल श्री सरस्वती सेकेन्डरी स्कुल, दाङमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com