सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चीनको वुहान सहरबाट जन्मिएको कोरोना भाइरसले आज संसारमा भयावह रूप लिएको छ। नेपालमा पनि यसको प्रकोप बढेसँगै मानिसमा त्रास र भय उत्पन्न भएको छ। यसले शरीरमा मात्र होइन मानसिक सोचाइमा पनि असर पारेको छ।
कोरोनाले मानिसलाई सचेत पनि बनाएको छ। पहिले सामान्य ज्वरो आउँदा 'ए! केही हुन्न, केही भएको छैन, ज्वरो त हो। निको भइहाल्छ नि' भन्नेहरू अहिले कोरोनाको लक्षणमध्ये ज्वरो पनि हो थाहा पाएपछि केही नभए पनि ज्वरो आयो कि भनेर त्रसित बस्छन्। सामान्य रूघाखोकी लाग्दा वास्ता नगर्नेहरू अहिले खाना खाँदा सर्किँदा समेत तर्सिन्छन्।
होलीमा वसन्तपुर, शिवरात्रिमा पशुपतिको हुल रूचाउनेहरू अहिले घर तल तीन जना देखे त्यहीँ तल पुग्न पनि मन धुकचुक हुन्छ। कहिले मास्क प्रयोग नगर्नेले अहिले नजिकैकाे किराना पसल पुग्दा पनि मास्क खोज्न थाल्छन्।
'अगुल्टोले हिर्काएको कुकुर बिजुली चम्किँदा पनि तर्सिन्छ' भनेझैं अहिले कोरोना प्रकोपका कारण मानिस स-साना कुरालाई ध्यानमा राखेर, विचार पुर्याएर समयको सामना गर्दैछन्। तर हामी यस्तो प्रतिकुल परिस्थितिमा मात्र सचेत भएर हुँदैन। अनुकुल परिस्थिति आउँदा पनि मानिस यतिकै सचेत हुनुपर्छ। अहिले मात्र होइन नियमित रूपमा ज्वरो नाप्ने, रूघाखोकी लाग्दा औषधि गराइहाल्ने, बाहिर जाँदा मास्क प्रयोग गर्ने आदि जस्ता कोरोनाले सिकाएको पाठलाई सधैं पछ्याउनुपर्छ।
रोकथाम उपचारभन्दा राम्रो हो। त्यसैले कुनै पनि समस्याले महामारीको रूप लिनुअघि नै हामीले त्यसको रोकथामका लागि कदम चाल्न आवश्यक छ। कोरोनाको उदाहरण लिए सबै प्रष्ट हुन्छ। सबैले सुरूमै आफूलाई कोरोनासित मिल्दोजुल्दो कुनै लक्षण देखा परेको छ कि छैन भनेर हेरेको भए, अस्पतालमा सम्पर्क गरेकाे र सेल्फ क्वारेन्टाइन बसेर लकडाउनको पालना गरेको भए सायदै यसले यस्तो रूप लिन्थ्यो।
सुरूको केही सातामा नेपालमा त्यस्तो महामारी त फैलिएको थिएन। हामीलाई यसकारण सबै सामान्य लाग्यो। तर अहिले यसको प्रकोप नेपालमा पनि बढिरहेको छ। सरकार र सम्बन्धित निकायले सुरूमै क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था नमिलाएकाले अहिले हजारौं नेपाली भारतबाट ज्वरोसमेत ननापेर घर पठाइयो र यसको नतिजा अहिले सबै सामु छ।
त्यसैले, हामीले हरेक समस्याको पूर्व तयारी गर्नु पर्छ। सबभन्दा महत्वपूर्ण कुरा, रोकथाम उपचारभन्दा राम्रो हो भन्ने कुरा बुझ्नुपर्छ। समयमै सचेत भए जेसुकै महामारीमाथि पनि जित हासिल गर्न सकिन्छ।
त्यसैले घरमै बसौँ, सुरक्षित रहौँ!
धन्यवाद!
(अशोक शाह द न्यू समिट स्कुल, मैतिदेवीमा कक्षामा अध्ययनरत छ्न्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com