सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
दलित भएर जन्मनु पाप हो जस्तो मलाई लाग्छ
रातभरि मलाई नवराजको कुराले किन खै पोल्छ?
किन मारे होलान्? त्यसरी मानवताको गुण हराएको जस्तो लाग्यो मलाई
भागेका थिए ती १९ जनाको टोली त्यो गाउँलेको भिडबाट खलखल पसिना बगाई।
पसिना पनि झार्दा झार्दा नवराज सोचबिहीन भएको रहेछ
पछि ज्यान जोगाउनका लागि भेरी नदीमा हाम फालेछ
त्यो नदीमा हाम फाल्दा उसहित कति मानिस त्यही पानीमा बिलाएछ
एक दुई दिनपछि भेरी नदीको किनारामा उनीहरूको लास भेटिएछ।
भन्छन् नि परापूर्व कालदेखि नै दलितले छोएको पानी पिउन हुँदैन भनेर
अब विचरा ती रूकुमका बासिन्दाहरू भेरी नदीका पानी कसरी पिउँछन्?
अहिलेको २१ औं शताव्दीमा आउँदा समेत यस्तो हुँदो रहेछ है?
आफैंले आफैंलाई सोध्ने गर्छु दलित भई किन जन्मिस् र खै!
नेपालको कानुन र संविधानमा जातीय विभेद अन्त्य भएको कहिले हो कहिले
तर यहाँ जातीय विभेद किन भयो त अहिले?
कयौं वर्ष भयो जातीय विभेद अन्त्य भयो भनी नेताहरूले भन्न थालेको
जातीय विभेद अन्त्य कानुन र संविधानमा त राखेका रहेछन् तर व्यवहारमा मात्र पो नउतारेको।
नेपाल अघि बढ्न नसक्नुको कारण पनि यही जातीय विभेद नै हो
म पनि एउटा दलित हुँ जो छुवाछुतले घेरिएको छु
गल्ती हरेक मानिसबाट हुन्छ तर त्यसको सजाय मृत्यु होइन
यहाँका मानिसहरूको मन आगोले भरिएको छ पानीले होइन
समय यति अगाडि आइसक्दा पनि किन हटेनन् त यी कुरितिहरू
कहिले आउने हो उज्यालोले चम्किएका ज्योतिका किरणहरू
हरेक मानिसलाई सुधार्नका लागि एक मौका दिनुपर्छ
अब पनि यस्तो कारणले मानिसको मृत्यु भयो भने नवराजको आत्माले सधैं पिरोल्नेछ
(निसान परियार श्री जानकी मा.वि, लालबन्दी सर्लाहीमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com