सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो वार्षिक परीक्षा फागुनको अन्तिम हप्ता सकियो। परीक्षा सकिने बित्तिकै इलाम घुम्न जाने एक वर्षदेखिको योजना पूरा हुने भयो भनेर म फुरूंग थिएँ। बाबाले अफिसमा छुट्टी मिलाएपछि फागुनको अन्तिममा इलाम हुँदै ताप्लेजुङ जाने हाम्रो योजना बन्यो।
भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी, सप्तरी, सुनसरी मोरङ र झापा हुँदै दुई दिनमा हामी इलाम (जन्मघर) पुग्यौं। माइक्रो बसको १२ घण्टा र टाटा सुमोको पाँच घण्टाको यात्रापछि हामी पाँचथर हुँदै इलाम पुग्यौं। बाटोमा विभिन्न मनोरम दृष्य हेर्दै, हरियो जंगल, खुलेको आकाश र पारिलो घाममा चिया बगानको मनोरम दृष्य हेर्दा हेर्दै हामीले यात्रा पूरा गर्यौं।
मलाई घुम्न र नयाँ ठाउँ बारे जानकारी लिन पाउँदा रमाइलो लाग्छ। यात्राक्रममा देखिएका विभिन्न स्थान र ठाउँको बारेमा बाबामामु र माइक्रो बसका चालक अंकलसँग सोध्दै, बुझ्दै लामो यात्रा गर्दा थकान महशुस भएन। हामी झापाबाट चुरे पहाड, खोला र डाँडा पाखा छिचोलेर पाँचथरको रबी हुँदै इलामको फाकफोकथुम गाउँपालिका पुग्यौं। जुन ठाउँ मेरो पुर्ख्याैली घर हो।
हामी गाडीबाट ओर्लन साथ हजुरबुवा लिन आउनुभयो। साँझ परिसकेकाले घरमा पुगेपछि सबैजना खाना खाएर आराम गर्यौं। उहाँहरू खाना खान हामीलाई नै कुरेर बस्नु भएको रहेछ।
घरमा दुई दिन बसेपछि हामी केही आफन्तसहित गाडी चढेर ताप्लेजुङको यात्रातर्फ लाग्यौं। पाँचथर र इलामको सीमा हुँदै हामी पौवा भञ्ज्याङ पुग्यौं। जसको अर्को नाम राँके बजार रहेछ। राँके बजारमा छुर्पी, ललिपप, घिउ, अकबरे खुर्सानी, चियालगायत पूर्वी पहाडी जिल्लामा फलेका विभिन्न तरकारी पाइँदो रहेछ। हाम्रो गाडी पाँचथरको सदरमुकाम फिदिमतर्फ लाग्यो। बाटोमा चिया बगान, कुहिरो, विभिन्न फाँटका साथै पोखरीका मनोरम दृष्य हेर्दै हामी फिदिम बजारमा पुग्यौं।
काठमाडौं उपत्यका जस्तै लाग्ने फिदिम बजारमा जताततै रातो माटो हुँदो रहेछ। कठमाडौंमा जस्ताे धेरै मानिसको भीड, घर र गाडीहरू चाहिँ थिएनन्। हाम्रो गन्तव्य अझैं टाढा भएकाले यात्रा टुंगिएको थिएन। यात्राकै क्रममा हामी पाँचथर र ताप्लेजुङको सीमामा पर्ने काबेली खोलामा पुग्यौं।
यात्रा गर्दा भेटिने ठूला-ठूला खोलाहरूमा पूजा गर्दै हिँड्नु पर्ने रहेछ। हामीले गाडीबाट ओर्लिएर काबेली खोलामा पूजा गर्यौं। यात्रा गर्दा सजिलै गन्तव्यमा पुग्न सकियोस् भनेर खोलामा भगवानलाई पूजा गर्नुपर्ने कुरा हजुरबुवाले बताउनुभयो। केही फोटोहरू खिचेर हामी पुनः अगाडि बढ्यौं। काबेली खोला तरेर केही पर पुगेपछि विभिन्न बिजुली बत्ति बाल्न खोला किनारमा काम भइरहेका रहेछन्। त्यहाँ केही पोखरी र घर बन्दै थिए।
खोला किनारमा देखिएको सडक र सँगैको तमोर नदीको दृष्य रमाइलो थियो। जुन मैले पहिलो पटक अनुभव गर्न पाएको थिएँ। हाम्रो गाडी ताप्लेजुङ बजार पुग्यो। बाक्ला तर काठका घरैघर रहेको पहाडको बजार मैले पहिलो पटक देखेको थिएँ। हरेक वर्ष आगलागी हुने ताप्लेजुङ बजारमा काठमाडौंका जस्ता नयाँ नयाँ घरहरू बन्न थालेको कुरा बाबाले बताउनुभयो। हामी सुकेटार विमानस्थल नजिकैबाट अघि बढ्यौं। सुकेटार विमानस्थलमा एउटा पनि हवाइजहाज भने थिएनन्।
हाम्रो त्याे दिनकाे यात्रा पाथीभरा मन्दिर नजिकैको तल्लो फेदीसम्म थियो। करिब डेढ घण्टा जंगलको बाटो र कच्ची सडकको यात्रा पनि रमाइलो भयो। जंगलभरी राताे लालीगुराँसको जंगल रहेछ। मैले यति धेरै लालीगुराँस फुलेको पहिलो पटक देखेँ। यसअघि काभ्रे मामा घर जाँदा जंगलमा कहिलेकाहीँ लालीगुराँस देखेको थिएँ। ताप्लेजुङको जंगलका रातो रङको मात्र नभएर अन्य विभिन्न रंगका लालीगुराँस रहेछन्। मनोरम दृष्य हैर्दै हामीले गाडीबाट गर्ने यात्रा टुंग्यायौं। केही बेर चिया खाजा खाएर हामी झोला बोकेर लौरोको सहारामा उकालो लाग्यौं।
एक घण्टा उकालो हिँडेपछि हामी बास बस्ने होटल पुगिने रहेछ। बाटोमा बिस्कुट खाँदै रमाइलो कुराकानी गर्दै होटलमा पुगेको थाहै पाइएन। हजुरबुवाले कथा सुनाउँदा मैले उकालो बाटोमा यात्रा गरेको पत्तै पाइनँ। साँझ पर्ने बेला हामी होटलमा पुग्यौं। हिमाल नजिकै पुगेकाले चिसो बढी नै थियो। होटलमा पुगेपछि मैले अचम्मको कुरा देखेँ। चिसोका कारण खान र नुहाउन जम्मा गरिएको पाँच हजार लिटरको कालो ट्यांकीमा पूरै पानी जमेर आइस भएको रहेछ। मैले जिवनमा पहिलो पटक त्यति ठूलो आइस देखेँ। छुँदा असाध्यै चिसो रहेछ। केही बेरमा खाना खाएर हामी सुत्यौं। बिहान चाँडै उठ्नु पर्छ भन्दै सबै जना सुत्यौं।
बिहान म उठ्दा बाहिर अँध्यारै थियो। सबैजना पाथीभरा मन्दिर दर्शनका लागि जान तयार भइसक्नुभएको रहेछ। म पनि केहीबेरमा तयार भएपछि करिब ३ बजे नै सबै जना उकालो लाग्यौं। अँध्यारो भए पनि चन्द्रमाको उज्यालो थियो। केहीबेर उकालो गएपछि हिउँ जमेको रहेछ। हिउँको चिसो अनि चन्द्रमा टल्किएर भएको उज्यालोमा हिँड्न रमाइलो नै भयो। बिहान त हामीसँगै अरू पनि धेरै मानिस सँगसँगै हिँडेका थिए। बेलाबेलामा मामुले अनुहार र हातमा सातु दल्दै लसुन र अदुवा खान दिनुभयो।
हिउँको चिसोमा यात्रा गर्दा मकैको सातु, लसुन र अदुवा खानु पर्ने रहेछ। जसले हिउँको चिसोबाट हामीलाई बचाउँदो रहेछ। उहाँहरू त लेक लाग्दैन भन्दै हुनुहुन्थ्यो। चिसोमा हिँड्न र श्वास फेर्न अप्ठ्यारो हुनुलाई लेक लाग्नु भनिँदो रहेछ। चार घण्टाको उकालो हिँड्दा असाध्यै गार्हो भएको थियो। त्यसभन्दा पनि बढी मन्दिर दर्शन गर्ने उत्सुकता थियो। बाटोमा हिउँमा चिप्लिने भएकाले जुत्ता बाहिबाट सबैजनाले मोजा पनि लगाएका थियौं। हिउँ परिसकेर जमेको ठाउँमा जुत्ता चिप्लिने रहेछ। त्यसैले मोजाले जुत्ता ढाकेर हिँड्न सजिलो हुँदो रहेछ।
उज्यालो हुँदा हामी मन्दिर छेउमा पुग्यौं। मन्दिर नजिकैसम्म फराकिलो जमिन भएकाले हिउँ परेको ठाउँ देखियो। जताततै हिउँ परेको देख्दा रमाइलो भयो। तर बाटोमा भन्दा बढी नै चिसो रहेछ हावा चल्दा अत्याधिक चिसो भए पनि मन्दिरमा बालेको आगो ताप्दा छुट्टै आनन्द आयो। केही बेरपछि मन्दिर वरिपरि घुमेर हेर्दा जताततै हिउँ नै हिउँ रहेछ। डाडाँमा परेको हिउँमा कहीबेर लडिबुडि गर्दा रमाइलो अनुभूति भयो। पाथीभरा मन्दिरमा पुगेर हामीले दुइ घण्टा बितायौं। नजिकै कञ्चनजंगा र कुम्भकर्ण हिमाल देखेँ। उज्यालो भएपछि झुल्के घामको किरणले वरिपरि हिमालको दृष्य सुनौलो हुँदा असाध्यै आनन्द भयो।
हामी पूजा गरिसकेपछि सबैजना मन्दिरबाट बिदा भएर फर्कने बेला भयो। तर मलाई भने मन्दिरमै बस्न मन लागेको थियो। मलाई हिउँमा खेल्ने रहन पुगेकै थिएन। दुई वर्षअघि पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेर आएको हेलिकप्टर बसेको ठाउँ र पछि दुर्घटना भएको ठाउँ मामुले देखाइ दिनुभयो। हेलिकप्टर जंगलमा दुर्घटना भएको रहेछ।
हामी फेरि ओरालो लाग्यौं। बिहान अँध्यारोमा उकालो हिँड्नभन्दा ओरालो हिँड्न अप्ठ्यारो भयो। सबैजना हिउँमा चिप्लिँदै फेरि होटल फर्कियौं। बीच बाटोमा पनि केही भगवानका मन्दिर मूर्तिमा पूजा गर्दै हामी होटलमा आयौं। खाना खाएर पुनः गाडी चढ्न गयौं। घर फर्कने क्रममा पनि विभिन्न दृष्य हेर्दै आयौं। घर आए पनि मलाई बिहानभर खेलेको हिउँको सम्झना आइरहयो।
कोरोनाका कारण लकडाउन हुने हल्ला सुनेपछि हामी ताप्लेजुङबाट फर्किएको भोलिपल्टै इलामबाट काठमाडौं फर्कियौं। केही दिनपछि त लकडाउन सुरू भइहाल्यो।
(अग्रिम रेग्मी सेन्ट जेभियर्स स्कुलमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com