सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
यस महामारीमा हामी सबै घरमा बस्न बाध्य छौं। यसबाट मानिसले फाइदा र बेफाइदा दुवै पाइरहेका छन्। हामीसँग अहिले घरमै बस्नबाहेक अरू विकल्प छैन।
यस वर्षदेखि म कक्षा ९ मा पढिरहेकी छु। अहिले कक्षाहरू हप्ताको छ दिन अनलाइनमार्फत भइरहेको छ। म पनि अनलाइनमार्फत कक्षा लिइरहेकी छु। जसको कारण धेरैजसो मेरो समय अनलाइन कक्षामा खर्च हुन्छ।
लकडाउनको सुरूवाती चरणमा मैले मेरो परिवारसँग धेरै समय बिताएँ जसले हाम्रो पारिवारिक बन्धन बलियो बनाएको छ। त्यसबेला प्रत्येक दिन हामीले विभिन्न किसिमका खाजा र खानाहरू बनाएर सँगै खाने गर्थ्यौं।
परिवारसँगको सम्बन्धबाहेक मैले आफ्नो आत्म सुधारको लागि केही कार्यहरू पनि गरे। म कलामा रूचि राख्छु र अभ्यास पनि गर्दैछु। लकडाउनले मलाई आफ्नो कला सुधार गर्नका लागि समय दिएको छ।
मैले किताबहरू पढ्ने समय पनि पाएँ जुन मेरो रूचिको विषय पनि हो। पुस्तकहरू जस्तै ‘मिल्क एण्ड हनी’ जुन अस्तित्व सम्बन्धी संग्रह हो। यो किताबको लेखाई मलाई व्यक्तिगत रूपमा बुझ्न धेरै सजिलो भयो। ‘द बुक थीफ’ पढिरहँदा म त्यस किताबको केटी पात्र भएको अनुभव गरेँ जो आफू दोस्रो विश्व युद्धको साक्षी थिइन्। यो किताब साच्चिँकै अद्भुत कृति रहेछ।
‘स्पीक’ किताब मलाई साह्रै मन पर्यो। सस्पेन्स र थ्रीलरले भरिएको यस किताबले मलाई अन्तिमसम्म बाँधिराख्यो। यस किताबले आफ्नो लागि बोल्न साहस गर्नुपर्छ भन्ने महत्त्वपूर्ण सन्देश दिन्छ। त्यसैले, मैले यी किताबहरू एकदमै रमाइलो मानेर पढेँ जसले मलाई अफ्ठ्यारो समयमा सान्त्वना, साहस र धेरै ज्ञान दियो।
यी सबै गतिविधि गर्दै गर्दा मैले मेरो आफन्त र साथीहरूलाई सबैभन्दा धेरै सम्झेकी छु। त्यसैले म उनीहरूसँग हरेक दिन इन्टरनेटको प्रयोग गर्दै कुरा गर्छु। लकडाउनले हामीलाई कसैसँग बिताएका हरेक पल एकदम महत्त्वपूर्ण छ भन्ने महशुस गरायो।
नेपालमा कोरोना भाइरसका संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ। मैले चिन्ने जो कोही पनि यस भाइरसबाट संक्रमित हुनसक्छ भन्ने मलाई डर छ। म असन्तुष्ट पनि छु किनकि मानिसहरूले यो भाइरस कुनै ठूलो कुरा होइन भन्ने सोच्छन्। विकसित देशहरूको उदाहरण लिने हो भने जसले हाम्रो जस्तो कुरा सोचेका थिए अहिले त्यही मुलुकहरूमा सबैभन्दा बढी मानिस यो भाइरसबाट संक्रमित छन्। यसको उज्यालो पक्ष भाइरसबाट निको भएकाहरूको संख्या देखेर पनि म खुसी छु।
यो लकडाउन हामी सबैको लागि पहिलो हो। मलाई लाग्छ, यस समयमा तनाबमा हुनुको सट्टा हामीले आफ्नै घरमा आरामसँग खुसी हुनुपर्ने तरिकाहरू सोच्नुपर्छ र यसलाई लागु गर्नुपर्छ। जब सबैले भाइरसका केसको संख्या बारेमा सोच्दैछन्, मलाई थाहा भयो कि आठ सयभन्दा बढी व्यक्ति आत्महत्याबाट मरेका छन्। यसै कारण यो समयमा मैले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह गरिरहेकी छु। म मेरो ख्याल राख्दैछु।
मैले यही मौकामा नयाँ भाषा स्पेनिस, ड्युओलिङ्गो भन्ने एपमार्फत सिक्न सुरू गरेकी छु। मलाई लाग्छ लकडाउनको बखत नयाँ सीप सिक्दैछु।
मैले लकडाउनमा धेरै फिल्म र टिभी श्रृंखला पनि हेरेँ। हेरेको फिल्ममध्ये ‘टू अल द ब्वाइज आइ ह्याव लभ्ड विफोर’ भाग १ र २ मलाई मन परेको फिल्म हो।
मेरो धेरै जसो समय अनलाइन कक्षाबाट दिइएको होमवर्क गर्नमा खर्च हुन्छ। अहिले मलाई लाग्छ कि सबै भन्दा सकारात्मक कुरा यो हो कि प्रकृतिले आफ्नो उपचार आफैंले गरिरहेको छ। हामी मानवहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा वातावरणलाई हानी गर्दै आएका छौं।
यस महामारीमा मुलुकमा भइरहेको सामाजिक भेदभावमा सरकारले कारबाही गरिरहेको छैन भनेको सुनेर र म जस्तै किशोरीहरू यौन हिंसाको सिकार भएको सुनेर म दुःखी भएको छु। यो समयमा सबै जनावर र मानिसलाई खाना पर्याप्त मात्रामा नपुगेकोमा पनि धेरै दुःखी छु।
(सुयषा जोशी क्याम्पियन स्कुल, लगनखेल ललितपुरमा कक्षा ९ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com