साइकलको हाम्रो जीवनमा ठूलो महत्व हुन्छ भन्ने मैले बुझेकी थिएँ। साइकलले हाम्रो उचाइ बढाउन मद्दत गर्छ। हामीलाई फूर्तिलो बनाउँछ। हाम्रो मांशपेशीलाई बलियो पार्छ भन्ने कुराहरू पढेकी थिएँ।
यो दुई वर्षजति अघिको कुरा हो। स्कुलमा मेरा साथीहरूलाई 'दुई पाङ्ग्रे साइकल चलाउन आउँछ कि आउँदैन?' भनेर सोधे। सबैजसो साथीले चलाउन आउँछ भने।
मैले मुख बिगार्दै 'मलाई पनि आउँछ' भनेर त्यतिखेर झुट बोलेँ। किनभने दुई पाङ्ग्रे साइकल मलाई चलाउन आउँदैनथ्यो, म चार पाङ्ग्रे मै अड्किएकी थिएँ। यो कुराले चित्त धेरै दुखेको थियो।
मैले यसबारेमा धेरै विचार गरेँ। मलाई दुई पाङ्ग्रे साइकल चलाउन किन अरूलाई भन्दा बढी समय लागिरहेको थियो? वास्तवमा मलाई डर लाग्थ्यो, लडिन्छ कि भन्ने डर। हो, म यही डरले गर्दा अघि बढ्न सकिरहेकी थिइनँ।
केही दिनपछि मैले टिभीमा ‘डर के आगे जित है’ भन्ने विज्ञापन देखेँ। अनि म पनि यो ‘डर’ लाई जित्न सक्छु जस्तो लाग्यो। आमासँग पसल जाँदा पनि मभन्दा धेरै सानो नानीले दुई पाङ्ग्रे साइकल चलाएको देखेँ। म लाजले भुतुक्कै भएँ।
अर्को दिन म ठूली आमाको घर जाँदा उहाँकी छोरी मेरी दिदी कुमुदाले साइकल मज्जाले चलाउनु भएको थियो। ओहो ! खोलाको किनारमा पनि उहाँलाई कस्तो डर नलागेको होला जस्तो मलाई लाग्यो। म भएको भए त लडेर पक्कै पनि खोलामा पुग्थेँ। दिदीले कसरी यति राम्ररी खेल्न जान्नुभयो होला ? डर त उहाँलाई पनि लागेकै थियो होला नि। म पनि अब यो डरलाई मनबाट हटाउँछु भन्ने मैले अठोट गरेँ।
त्यही दिन घर गएर मैले चढ्ने गरेको साइकलको चार पाङ्ग्राबाट दुई वटा झिकेर दुई पाङ्ग्रे बनाइदिन बाबालाई भनेँ। बाबाले रेञ्च र स्क्रुड्राइभर निकाल्न लगाउनुभयो। बाबाले त्यो रेञ्च र स्क्रुड्राइभर लिएर साइकलमा जडान भएको दुई वटा साइड पाङ्ग्रा निकाली दिनुभयो।
दुई पाङ्ग्रे साइकल चढ्न मनमनै अलि अलि डर लागिरहेको थियो। तर मैले आफ्नो डरलाई आफैंभित्र राखेँ। मैले बिस्तारै चलाउँदै गएँ। केही पटक लडेँ र त्यसरी मैले धेरै दिन मिहिनेत गरेर चलाउँदै गएपछि दुई पाङ्ग्रे साइकल चलाउन सफल भएँ।
यो सिक्न मलाई एक महिनाजाति समय लागेको थियो। मिहिनेत गरेपछि साँच्चिकै सफलता पाइँदो रहेछ भन्ने ज्ञान मैले आफ्नै अनुभवबाट पाएँ।