सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम आरूश पान्डे हो। अहिले ३ कक्षाबाट पास भएर ४ कक्षामा गएँ। विश्वभरी फैलिएको कोरोना माहामारीले गर्दा हामीले हतारहतार परीक्षा सक्नु पर्यो। सोही कारण विद्यालय जान पनि पाएको छैन।
अहिले काठमाडौंबाट मेरो घर चितवनको माडीमा आएको छु। गाउँमा यति धेरै समय बिताएको पहिलो पटक हो। प्रायः जसो दसैंमा मात्र घरमा आइन्थ्यो। मलाई उता र एता धेरै कुरा फरक लाग्याे। मेरो उता घरमा खेल्ने साथी मेरो भाइ मात्र थियो। अहिले अकंलआन्टी पनि बहिनी र भाइलाई लिएर घरमा आउनुभएको छ। तसर्थ, हामी अहिले धेरै जना भएका छौं। निकै रमाइलो भएको छ।
हामी काठमाडौंमा भएर पनि कहिलेकाहीँ मात्र भेट्ने समय मिल्थ्यो। उता बाबाले बिहान उठेर पसलबाट पोकाको दूध ल्याउनु हुन्थ्यो। यहाँ त हजुरबुवाले बाल्टिभरी गाई र भैंसीको दूध दुहेर ल्याउनुहुन्छ। हामी रमाईरमाई हजुरबुवाले दूध दुहेको हेर्छौं।
मलाई त पोकाको भन्दा यहाँको दूध धेरै मीठो लाग्यो। उता त घ्यु डेरीमा पाइन्थ्यो, यता त हजुरबुवाले दही मोथेर ठेकिबाट निकाल्नु हुँदो रहेछ। उता हामी जारको पानी खान्थ्यौं। यहाँ त खोलाको मुहानबाट ल्याएको धाराको पानी खान्छौं। उता बाबासँग मर्निङ वाकमा जाँदा धुलो र गाडीको धुँवा अनि आवजले दिक्क पार्थ्यो। यहाँ त मर्निङ वाक जाँदा मकै अनि चैते धान खेतबारीमा हरियाली खुब राम्रो देखिदो रहेछ।
हामी त उता भैयासँग तरकारी किन्ने गर्थ्याैं। यहाँ त हजुरआमाले बारीमा नै फलाउनु भएको रहेछ। बारीमा फलेका काक्रा र तरकारीको स्वाद नै फरक पर्ने रहेछ। उता हामी होमवर्क सकेपछि घरको झ्यालबाट अरू साथी खेलेको हेर्थ्याैं। कि त टिभीमा कार्टुन हेरेर बस्थ्याैं। यता त हाम्राे घरको आँगनमा फुटबल र कबड्डी खेल्न र बाटोमा साइकल चलाउन पाएका छौं।
उता बाबाको समय शनिबार मात्र मिल्थ्यो यता त हजुरबुवाले नातिनातीनीलाई प्रशस्त समय दिनुभएको छ। हजुरआमाले पनि नयाँनयाँ कुराहरू सिकाउनु भएको छ। कथाहरू पनि सुनाउनु हुन्छ। हामी उता स्कुलबाट गाई फार्म भ्रमण गएका थियाैं। यहाँ त हाम्रै घरमा गाई, भैंसी अनि बाख्रा रहेछन्। हामीले पनि साना पाडी र बाच्छीहरूलाई घास-पराल दिन्छौं। खेतबारीमा हजुरबुवा र आमासँग सिक्दै रमाउन पाएका छौं।
बिहान उठ्न नपाई स्कुल जाने, पढ्ने, खेल्ने अनि घरमा आएर फेरि होमवर्क गर्ने यो दैनिकी कोरोना माहामारीका कारणले फेरिएको छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com