सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना महामारीले हामीलाई यस्तो समयमा पुर्याएको छ, जति कोसिस गरे पनि धकेलिएको समयलाई अगाडि तान्न सकिँदैन। हामी गाउँ गएको बेलामा लकडाउन भयो। पछि पास बनाएर काठमाडाैं फर्कियौं।
म कक्षा नौ पास गरेर दसमा पुगेको विद्यार्थी हुँ। हाम्रो अगाडिको दाजुदिदीहरूले आफूले गर्नु भएको मिहेनत देखाउन नपाएकोमा नमीठो लागेको छ। करिब दुई महिना २० दिनसम्म एक प्रकारको तनाब पछाडि एसइइ नहुने भनेर सुचना आएको हो। अहिले लकडाउनको समयमा घरमा बसिँरहदा सामाजिक संजाल पनि हेरिन्छ। त्यहाँ आएका कुनै यस्ता कुराले दस वर्षसम्म पढिआएको कुरालाई मजाक बनाइएको तथ्य सबैलाई जानकारी नै छ होला।
कोरोना भाइरसको कारणले गर्नु परेको यस निर्णयमा उहाँहरूको दोष के छ? उहाँहरूले नै चाहेर एसइइ रोकिएको होइन। यसमा कोभिड १९ दोषी छ भन्ने कुरा हामी सबैले बुझ्न जरूरी छ। समस्या बोलाइएको हुँदैन। बाजा बजाएर पनि आउँदैन। यसैले यस्ता नकारात्मक कुराहरू राखेर विभिन्न मिम र ट्रोल पनि नबनाउन हुन विनम्र अनुरोध गर्छु। यस्ता नकारात्मक कुराहरूले उहाँहरूको शैक्षिक करिअरमा धक्का पुग्ने देखिन्छ।
समस्याहरू आज उसलाई पर्यो भोलि मलाई पनि पर्न सक्छ भनेर पनि सोच्ने हो कि? अहिलेको महामारीलाई जित्ने कसरी? भनेर सोच्नु जरूरी देख्छु। अरू त यस्तै हो अनलाइन नै पढ्दै छौं हामी पनि। तर स्कुल र साथीहरूसँगको भर्चुअल भेटाई त्यति आनन्द लाग्दैन। हामी पनि यही वर्षको एसइइको तयारीमा छौं। यसैले पनि पढाइ धेरै तनाबमा बित्दैछ।
हाम्रो भविष्यप्रति बाबामामुको चिन्ता हुनु स्वाभाविक छ। हामीलाई पर्ने मानसिक स्ट्रेसको बारेमा उहाँहरू सजग हुनुहुन्छ। हामीसँग सामान्य समयभन्दा विशेष रूपले माया देखाउनु हुन्छ। हाम्रो पनि त कर्तव्य हुन्छ नि छोराछोरीको नाताले अभिभावकलाई केही सुख दिउँ। तसर्थ, विचलित नभई यस असजिलो समयमा पढाई पनि अगाडि बढाउँदै जानुपर्छ। चिड्चिडाहट भयो भने, यसो छततिर गएर खेल्नुपर्छ। यदि लकडाउन हुँदैनथ्यो भने बाबामामुसँगको भेट बिरलै हुन्थ्यो। सबै आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो।
मैले त अब यस समयलाई सकारात्मक सोच्न थालेको छु। मलाई फोटोग्राफी भिडियोग्राफी गर्न मनपर्छ। डायरी, कविता लेख्न, उपन्यासहरू पढ्न, कोर्सभन्दा बाहिरका धेरै यस्ता क्रियाकलाप हुन्छन् जसले हामीलाई सृजनशीलतासँग परिचित गर्छन। मेरो भाइ पनि ट्याब र टिभीभन्दा अन्य यस्तै क्रियाकलापमा व्यस्त रहोस् जस्तो लाग्छ। उ त सानै छ उति कुरा बुझ्दैन, मैले नै उसलाई व्यस्त गर्ने गरेको छु।
समयले हामीलाई परीक्षा लिन्छ। आत्तिनु हुँदैन। समय एक दिन पक्कै पनि राम्रो आउनेछ भन्ने आशा राखौं। म भाइ, बाबा र मामुसँग खेल्ने गरेको छु। एकैछिन भए पनि गरिने शारीरिक क्रियाकलापले फ्रेस बनाउछ। सुरक्षित बसौं।
(तेजस्वी तिमिल्सिना राजर्षी गुरूकुलमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com