सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस अर्थात 'काेभिड १९' का कारण देशभर लकडाउन छ। आज लकडाउन भएको धेरै दिन भइसक्याे।
सुरूसुरूमा त एकदमै रमाइलो गरी दिनहरू बिते। धैरै समयसम्म होस्टेल बसेको भएर आमाबाबासँग घरबारिको काम गर्दै दिनहरू बिते। लकडाउनको बेला आमालाई अफिस पनि नजानु परेकाले हामीलाई दिनैदिन मीठो र फरकफरक खानेकुरा बनाउनु भयो। हामीले पनि आमालाई भान्छामा सहयोग गर्यौ।
सुरूसुरू तिर नेपालमा धेरै कोरोना नफैलिएको बेलामा म कहिले आमाबाबासँग कि हजुरआमासँग बजारमा किनमेल गर्न जान्थेँ। किनमेल गरेर आइसकेपछि राम्रोसँग साबुनपानीले मिचिमिचि हात धुन्थेँ। एकदिन म, बाबा र काका भएर घरको छेउमा बारी खन्यौ र काक्रा, फर्सी, घिरौंला, बोडी, करेला जस्ता तरकारीहरू रोप्यौं। मैले आमासँग बगैँचामा फूल रोप्न, सफा गर्न, लुगा धुन, घर सफा गर्न र भाँडा माझ्ने जस्ता धेरै घरेलु कामहरू सिकेँ।
लकडाउनमा परेको ३, ४ हप्तासम्म त समय रमाइलोसँग बिते। पछि धेरै नै अल्छी लाग्न थाल्यो। घरमै थुनिएर बसेको धेरै दिन भयो। यसो बाहिर जान पाए हुन्थ्यो। बाहिर गयो भने कोरोना लाग्ला कि? बरू यतिखेर स्कुलमा भएको भए अलि मजा आउँथ्यो जस्तो लाग्न थाल्यो।
स्कुलका साथीहरू, त्यो फुटबलको चौर, स्कुलमा बस्ने बाँदर र कक्षाकोठाको धेरै याद आउन थाल्यो। केही दिन पछि अनलाइन क्लास पनि सुरू भयो। त्यो भएपछि अलिकति भए पनि दिन काट्न सजिलो भयो। होस्टलबाट घर आएदेखि बिहान अलि अबेरसम्म सुत्ने बानी परेकोमा बिहान सात बजेदेखिको ध्यान कक्षामा सहभागी हुन सुरूमा धेरै गाह्रो लागेको थियो।
बिहान चाँडै उठ्न मलाई धेरै गाह्रो लाग्थ्यो। आमाले सधैं गाली गरेर उठाउनु पर्थ्यो। केही दिन सहभागी भएपछि ध्यान कक्षामा सहभागी हुन मलाई रमाइलो लाग्न थाल्यो। आजभोलि त आमा, म र मेरो बहिनी ध्यान कक्षा सुरू हुनुअघि नै तयार भई गुरू अनलाइन आउने समय कुरेर बस्छौं।
लकडाउनले गर्दा धेरै सवारी साधनहरू नचलेको र कलकारखाना बन्द भएको कारण वातावरण भने सफा भएको छ। खोलानाला, वन, वायु सबै सफा भएको छ। लकडाउनले आकाश, पाताल सबै शान्त छन्। अशान्त छ त केवल हाम्रो मन।
लकडाउनमा मैलै धेरै कामहरू सिकेँ। मैलै कहिल्यै थाहा नपाएको कुराहरू पनि थाहा पाएँ। नेपालमा लामो समयदेखि लकडाउनको बाबजुद हालैका दिनमा काेराेना संक्रमितहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको देख्दा लकडाउन अझै बढ्छ कि जस्तो छ। यस लामो लकडाउनमा जीवन उपयोगी सीपहरू सिकेर हामीले समयको सही सदुपयोग गर्नु पर्छ।
(अतुल ढुंगाना बुढानिलकण्ठ स्कुल, काठमाडाैंमा कक्षा छ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com