सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
बूढानीलकण्ठ स्कुल नेपालको सुविधा सम्पन्न पूर्ण आवासीय विद्यालय हो। बूढानीलकण्ठ स्कुलको वातावरण स्वच्छ र सफा हुनाले सबैको मन आकर्षित गर्छ।
मेचीदेखि महाकाली, तराईदेखि हिमालसम्मका विद्यार्थीहरू मिलेर छात्रवासमा बस्छौँ। यहाँ जातजाति, भाषाभाषीको कुनै भेदभाव छैन। सबैलाई समान व्यवहार गरिन्छ। ठूला कक्षाका दाइदिदीहरूले हामीजस्ता भाइबहिनीलाई माया गर्नुका साथै पढाइमा पनि मद्दत गर्नु हुन्छ। गुरूगुरूआमाहरू पनि स्कुलमै बसोबास गर्नु हुन्छ। हामीलाई असल ज्ञानगुनका कुरा सिकाउनका साथै हाम्रो हेरविचार पनि गर्नु हुन्छ।
हाम्रो स्कुलमा रमाइला र रोचक कार्यक्रमहरू जस्तै नाचगान, वादविवाद प्रतियोगिता, कविता वाचन प्रतियोगिता, खेलकुद सम्बन्धी कार्यक्रमहरू फुटबल, बास्केटबल,सफ्टबल, पौडी जस्ता मनोरञ्जनात्मक कार्यक्रम हुन्छन्। कार्यक्रममा हामी सबै विद्यार्थी भाग लिन पाउँदा अत्यन्त खुशी हुन्छौँ। तीन महिनादेखि हाम्राे स्कुल सञ्चालन हुन नसक्दा यी सबै कृयाकलाप छुटेका छन्।
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण अहिले स्कुल बन्द छ। स्कुलले अनलाइन कक्षा चलाइरहेको छ। अनलाइन कक्षामा गुरूहरू र साथीभाइसँग बोल्दै पढ्न पाउँदा हामीलाई रमाइलो लागेको छ। हाम्रो स्कुलमा टाढाटाढाबाट विद्यार्थीहरू आउँछन्। उनीहरूकोमा इन्टरनेट सुविधा नहुन सक्छ। विद्यालयले त्यस्ता विद्यार्थीका लागि इन्टरनेटको सुविधा पनि उपलब्ध गराएको छ। बन्दाबन्दीको बेलामा हामी साथीसाथी मिलेर पढ्न र गुरूगुरूआमासँग कुराकानी गर्नसमेत पाउँदा स्कुलको न्यास्रोपना मेटिएको छ। अहिलेको समय भनेको सबै होसियार भएर सामाजिक दूरी कायम गर्दै घरभित्र बस्ने हो।
मलाई रमाइलो वातावरणमा साथीभाइ सबै मिलेर हाँसीखुसी बस्ने गरेका दिनहरूको सम्झना आएको छ। यी दिन सम्झिँदा अहिले झल्झली छात्रावासको याद आउँछ। यो महामारी कहिले अन्त्य होला र स्कूल जान पाइएला भन्ने मनमा लागिरहेको छ। छात्रवासमा साथीहरूसँग लामो समयसम्म बसेपछि घरभन्दा छात्रावास नै प्यारो लाग्दो रहेछ।
आशा छ महामारी छिटै हराउनेछ र देशभरका विद्यालय सञ्चालन भई पठनपाठन सुरू हुनेछ। त्यतिखेर हाम्रो विद्यालय पनि खुल्नेछ र हामी पनि छात्रावासमा बसेर रमाइलो गर्दै पढ्ने छौं।
(दीक्षिता चापागाईं बूढानीलकण्ठ स्कुल नारायणस्थान, काठमाडौँमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com