सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
'बिटिएस' टिन एज गायक केटाहरूको एउटा संगीत समूह हो। दक्षिण कोरियाको राजधानी सिओलमा सन् २०१० बाट सदस्य बढाउन सुरू गरे। समूहको नाम कोरियन भाषामा 'बाङ्टन बोइज' राखे। अङ्रेजीमा यसको अर्थ 'बुलेट प्रूफ बोइज स्काउट' हुन्छ।
उनीहरूको धेरै फ्यान भएको देश जापानमा 'बोउदान स्यो नेन् दान' राखेका छन। जसकाे अर्थ पनि अंग्रजीको जस्तै बुलेट प्रूफ किशोरहरूको समूह भन्ने बुझिन्छ। बिटिएसको सदस्यहरूमा जिन, सुगा, जे-होप, आर एम, जिमिन, भि र जङ कोक छन्।
बिटिएसको गीत मान्छेको बारेमा हुन्छ। समाजको दुःखको बारेमा हुन्छ। असल र बलियो बनाउने प्रेरणा बोकेको हुन्छ। विद्यालय पढ्ने उमेरका केटाकेटीहरूको मनोविज्ञान बुझाउने, उनीहरूको समस्या बुझाउने गीत गाउँछन्। दया, सेवा, मानवता सिकाउने गीत लेख्छन्, गाउँछन्। धेरै विषयमा गाउँछन्। त्यसैले बच्चा या किशोरले मात्र मन पराउदैनन् यी गायकलाई। हरेक उमेरका मान्छेले मन पराउँछन्। साहित्य र मनोविज्ञानले धेरैलाई प्रभावित परेका छन्।
बिटिएसले सन २०१३ मा पहिलो गीत संग्रह 'टू कुल फोर स्कुल' निकाले। सन २०१६ मा निकालेको दोश्रो एल्बम 'विङ्स' ले दक्षिण कोरियामा दश लाख वटा बिक्री गरेर ठूलो समाचार बनायो। यो समूहको इज्जत पनि धेरै बढायो। 'समाजका उदाहरणीय समूह' भनेर टाइटल पनि पाए। उनीहरूको चौथो एल्बम 'म्याप अफ द सिओल सात' आएपछि दक्षिण कोरिया भरमै सबै भन्दा धेरै विकेर नयाँ रेकर्ड बनाए।
उनीहरूलाई मन पराउनेहरु दक्षिण कोरियामा मात्रै भएनन् अब। विश्वको अरू देशबाट पनि कन्सर्ट गर्ने निम्ता आउन थाल्यो। सन् २०१७ मा विश्वको सबै भन्दा ठूलो बजार अमेरिकामा समेत एल्बम बेचेर थुप्रै रेकर्ड बनाउन थाले। आईएफपीआई ग्लोबल आर्टिस्ट भन्ने संस्थाको अनुसार सन् २०१८ मा बेस्ट सेलिङमा विश्वमै दोश्रो भए। त्यति माथिको सफलता पाउने सबै जसो अंग्रेजी देशका कलाकार थिए अहिले सम्म। उनीहरू अंग्रेजी नबोल्ने देशबाट पहिलो पटक पुगे त्यति माथि। त्यस्तै टप सोसल आर्टिस्ट सम्मान तीन पटक सम्म जिते।
टाइम पत्रिकाले कभर स्टोरी बनाउँदै भन्यो, अर्को पुस्ताका नेतृत्व। फोर्ब्स पत्रिकाको सर्वेक्षणमा पनि विश्वका कलाकारमध्ये सबैभन्दा धेरै कमाइ गर्ने सेलिब्रेटी १०० मध्ये ४३ औं स्थानमा आयो बिटिएस।
यसरी सानो उमेरका कलाकारहरूले छोटो समयमै गायन कलाबाट धेरै इज्जत कमाए। संसारभर घुमेर कन्सर्ट गर्दै फ्यान कमाए। बेस्ट सेलर बनेर विदेशबाट धेरै पैसा देशमा भित्र्याए। त्यति मात्रै होइन, अहिले दक्षिण कोरियामा आउने पर्यटकहरू मध्ये हरेक १३ जनामा एक जना त उनीहरूकै कन्सर्ट हेर्न र उनीहरूलाई नै भेट्न आउँछन् रे।
सन् २०१८ को हिसाब गर्दा जम्मा पर्यटक १५,३४६,८७९ थिए। बिटिएसका पर्यटक १,१८०,५२९। त्यही वर्ष नेपालमा आउने जम्मा पर्यटक १,१७३,०७२ थिए। हामी कहाँ आउने जति त बिटिएसलाई हेर्न मात्र दक्षिण कोरिया जाँदा रहेछन्। त्यसैले त कलाकारलाई देशको गहना भनेको होला।
म पनि त्यो समूहको फ्यान हुँ। एक पटक उनीहरूको कन्सर्ट हेर्ने ठूलो रहर छ।
(आयुषा चालिसे बौद्ध इन्टर नेशनल स्कुल, अत्तरखेल काठमाडाैंमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com