सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
जति नै सिर्जनशील मानिए पनि हामी मानिस केही न केही कुरामा चुकेका रहेछौँ। अन्तरिक्षमा पुग्न समेत बाँकी नराखेको मानिस आज एकदमै सानो भाइरसका कारण त्रसित भएर बसेका छौँ। यही भाइरसकै परिणाम स्वरूप हामीले जीवनमा प्रयोग नै नगरेको शब्द 'लकडाउन' हाम्रो दैनिकी बनेको छ।
यस भाइरस र लकडाउनका कारण सबै क्षेत्रमा हानी पुगेको छ। एकदम नोक्सानी पुगेको क्षेत्र हो शिक्षा क्षेत्र। नेपाल जस्तो देशको शिक्षा प्रणालीमा परिवर्तन ल्याउन असहज नै पर्छ। केही निजी विद्यालयहरूले भने निर्णय गर्दै अनलाइनमार्फत कक्षा सुरू गर्ने आँट गरे। हेटौंडामा अवस्थित मेरो विद्यालय नवोदय शिशु सदनले पनि अनलाइन कक्षाको सुरूवात गर्ने कुरा हामीलाई सुचित गरायो। सुरूमा त के गर्ला र भन्ने लागेको थियो। सूचना पाएको केही दिनपछि नै कक्षाहरू सुरू हुन थाल्यो। अझ सहजताका लागि शिक्षकहरूले वाटसएपमा हरेक कक्षाको समूह बनाउनु भयो। त्यही कक्षाबाटै म लगायत साथीभाइलाई शिक्षकहरूले जोड्नु भयो।
विद्यालयले जुम एप पनि डाउनलोड गर्न लगायो। त्यसमा अध्ययन गराउन विद्यालयले समय निर्धारण गरेर पढाउने विषय, शिक्षक र कक्षाको तालिका (रूटिन) तयार पार्यो। त्यही तालिकाअनुसार जुममा हाम्रो कक्षा सञ्चालन हुने निधो भयो वैशाख ४ गतेबाट। विद्यालयको समयमा दिनहुँ विद्यालय जाँदा कहिले अल्छी समेत लाग्ने भएता पनि लकडाउनको समयमा भने शिक्षकहरूसँगको अन्तरक्रिया, साथीभाइसँगको ठट्टा आफू बस्ने बेन्च, कक्षाकोठा अनि सिङ्गो विद्यालयको कता कता सम्झना आइरहेको थियो।
नयाँ कक्षामा जाँदाको अनुभव साटासाट गर्ने ठूलो धोको अपूरै भयो। जुमले केही हदसम्म पनि त्यो न्यास्रो मेटाउन सक्यो। जुममा पढ्दै जाने क्रममा गृहकार्य गर्न अलि असहज भयो सुरूमा। विद्यालयमा पढेको अवस्था र यहाँ पढेको अवस्थामा धेरै फरक पाएँ। पढ्न त पढियाे तर गृहकार्य कसरी गर्ने भनेर प्रश्न उठ्न थाल्यो मनमा। म एक जेहेन्दार, परिश्रमी तथा इमान्दर विद्यार्थीको मनमा यस्ता खालका कुरा उठ्नु कुनै नौलो थिएन। प्रविधिको जमाना न पर्यो। शिक्षकहरूले तुरून्तै गुगल क्लासरूम डाउनलोड गर्न लगाउनु भयो।
विद्यालयकै कोर्स बुकमा व्यस्त हामी विद्यार्थी थोरै भए पनि प्रविधिसँग घुलमिल हुन पाएका थियौँ। जति हुनु पर्ने थियो त्यति भने अवश्य थिएन। नेपालमा अनलाइन कक्षालाई प्राथमिकता नदिने भएर पनि होला गुगल क्लासरूमको बारेमा म लगायत हाम्रा साथीहरू कसैलाई पनि थाहा थिएन। शिक्षकहरूको निर्देशन पालना गर्दै हामी सम्पूर्ण विद्यार्थीले गुगल क्लासरूम डाउनलोड गर्यौ। त्यसपछि शिक्षकहरूले त्यसको बारेमा पनि बुझाउनु भयो। यसमा पनि कक्षामा जस्तै गरेर जोडिने रहेछ।
शिक्षकहरूले आ–आफ्नो विषयको कोड हामीलाई दिनुभयो। त्यही कोड हालेर हामी कक्षामा पनि प्रवेश भयौँ। अहिले पनि त्यहीबाट गृहकार्य गर्दै आइरहेका छौं। अति नै सजिलो हुने रहेछ त्यस कक्षाबाट गृहकार्यहरू बुझाउन। शिक्षकहरूले पनि क्लासरूममै पठनपाठन सामग्री हालिदिनुभएको हुन्छ। हामी फुर्सदको समयमा मोबाइल हातमा पाउने बित्तिकै क्लासरूममा छिरिहाल्छौँ। पहिले मोबाइल पाउँदा गीत सुन्न, गेम खेल्नतर्फ लाग्ने हामी अहिले त्यही सामग्री र प्रविधिले शिक्षा आर्जन गर्न अघि बढेका छौँ।
जुममा शिक्षकले क्लास लिनुपूर्व एकचोटी गुगल क्लासरूममा गएर मात्र जुममा जाने गरेका छौँ। त्यसो गर्दा जुम कक्षामा निकै सहज हुने रहेछ। जुम कक्षामा प्रवेश गर्दा शिक्षकहरूले हामी आफैँलाई अन्तरक्रिया गराएर पढाउने हुँदा निकै प्रभावकारी लाग्यो मलाई त। एकआपसमा गफ गर्दै, सोधपुछ गर्दै, सल्लाह गर्दै लेख्दा जुम कक्षा पनि प्रभावकारी नै भयो।
अब विद्यालयमा शिक्षकसँंगै मुखामुख गर्दै पढ्दै, सोध्दै गरेको जस्तो त अनलाइनमा पक्कै पनि हुँदैन। तर, यस्तो कठिन परिस्थितिमा पनि घरमै बसेर शिक्षा हासिल गर्न पाउँदा म व्यक्तिगत रूपमा एकदमै खुसी छु। आशा छ हामी यस विषम परिस्थितिबाट छिट्टै पार लाग्ने छौँ र सामान्य दिनचर्यामा फर्किनेछौ। त्यसैगरी, सबैसँंग भेट्दै लामो भलाकुसारी गनेछौँ।
(इलिशा पराजुली नवोदय शिशु सदनमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com