सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
खानेकुरा खेर फाल्न हुन्न भन्ने सिकायो
एकअर्कामा बाँडेर खान सिकायो
अभावमा हुने खाद्यान्नको संकट सिकायो
बचत गर्न जान्नुपर्छ भन्ने सिकायो।
व्यक्तिगत स्वास्थ्यमा ख्याल गर्न सिकायो
वातावरण सफा सुग्घर राख्न सिकायो
ताजा अनि स्वास्थ्यबर्धक खाना खान सिकायो
ढिँडो, गुन्द्रुक, मकै अनि भटमासको तागत सिकायो।
साना-साना केटाकेटीलाई व्यवहारिक हुन सिकायो
घरका सानातिना काममा हात बढाउन सिकायो
जीवनोपयोगी सीप सिक्ने मौका दिलायो
मिलीजुली काम गर्दा हुने फाइदा सिकायो।
अरूलाई दुःख पर्दा सहयोग गर्नुपर्छ भन्ने सिकायो
आफूसँग भएको बाँडीचुँडी खान सिकायो
सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने कुरा सिकायो
संकटमा धैर्यधारण गर्नुपर्छ भन्ने सिकायो।
गाउँ छोडी बस्नेलाई गाउँको महत्व सिकायो
टारी, बारी, खाेरिया र खेत खन्न सिकायो
गाउँ घरका खेतबारीको महत्व सिकायो
स्वाबलम्बी बन्नुपर्छ भन्ने सिकायो।
जन्मभूमिप्रतिको माया सिकायो
आफ्नै ठाउँ आफ्नै गाउँ प्यारो हुन्छ भन्ने सिकायो
आपत पर्दा आफ्नै देश काम लाग्छ भन्ने सिकायो
देशमै बसी काम गर्दा फाइदा हुन्छ भन्ने सिकायो।
जस्तोसुकै परिस्थितिमा पनि संयम हुन सिकायो
आफूभित्रको क्षमताको पहिचान गर्न सिकायो
नजानेको सीप सिक्ने चाँजोपाँजो मिलायो
आपत पर्दा वैकल्पिक बाटो हिँड्न सिकायो।
गुरू अनि गुरूमाको महत्व सिकायो
उहाँहरूको साथ बिना पर्ने कठिनाइ सिकायो
पाठशाला जान नपाउँदा हुने छटपटी सिकायो
साथीसंगी बिना लाग्ने खल्लोपन सिकायो।
जीवन सधैं एकनास हुन्न भन्ने सिकायो
घमण्ड र अहंता त्याग्न सिकायो
रोग नै सबैभन्दा ठूलो शत्रु हो भन्ने सिकायो
स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने सिकायो।
(सम्बृद्धि पौडेल केफ बोर्डिङ स्कुल, पोखरामा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com