सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
अहिले विश्वमा फैलिएको महामारी कोरोनाबाट नेपाल पनि प्रभावित छ। हामी दिनदिनै कोरोनाको संक्रमण दर बढिरहेको खबर सुन्छौं। कोरोना सजिलै सर्ने र खतरनाक संक्रमण भएकोले यसबाट बच्न सरकारले चैत महिनादेखि नै लकडाउन गरेको छ। जसले गर्दा शैक्षिक संस्थासमेत चैत महिनादेखि नै बन्द छन्।
मेरो विद्यालय नवोदय शिशु सदन पनि अन्तिम परीक्षा नसकिँदै बन्द भयो। त्यसपछि अब के होला? कसरी पढ्ने? हामी सबै अन्यौलमा पर्यौं। विद्यालय बन्द भएपछि म जस्तै मेरा साथीहरू पनि विद्यालय जान पाएका छैनन्।
मेरो विद्यालयले हाम्रो पढाइ नबिग्रियोस् भनेर बैशाख महिनादेखि अनलाइन कक्षा सुरू गरेको छ। धेरै समयपछि जुम क्लासमा साथीहरू देखेर रमाइलो लाग्यो। अनलाइन कक्षा सुरू भएपछि बल्ल तीन कक्षा पुगेझैं लाग्यो। सुरूसुरूमा जुम क्लासमा पढ्न एकदमै गार्हो भयो।
कक्षाकोठामा सबै साथीहरूसँगै बसेर पढ्न जति सजिलो र रमाइलो हुन्छ, त्यति अनलाइन कक्षामा नहुने रहेछ।
कहिलेकाहीँ लाइन गयो भने त पढ्नै पाइदैन भने कहिलेकाहीँ इन्टरनेट नहुँदा पनि कक्षा लिनै मिल्दैन। कहिलेकाहीँ एकोहोरो ल्यापटप हेरेर होला, मेरो टाउको पनि दुख्छ। तर पनि मैले अनलाइन क्लासबाट सधैं नयाँनयाँ कुराहरू सिकिरहेको हुन्छु। गुरूआमाहरूले हामीलाई पढाउन र सिकाउन धेरै मिहिनेत गरिरहनुभएको छ।
मेरो विद्यालय, मैले पढ्ने कक्षाकोठा, पुस्तकालय, हाम्रो नृत्य अनि संगित कक्षा, बाथरूममा जाने बाहानामा कक्षाकोठाबाट निस्किएर साथीहरूसँग उफ्रिँदै खेल्ने गरेको चौर अनि क्यान्टिनको धेरै याद आउँछ। यसमा पनि साथीहरू अनि गुरू– गरूआमाहरूले याद नआउने त कुरै रहेन।
कोरोनाको प्रकोप कहिले सकिएला र विद्यालय जान पाइएला?
भोलिको उदाउँदो सूर्यले आशाका किरणहरू बोकेर ल्याउनेछ अनि कोरोनाको प्रकोप सिद्धिनेछ। हामी नयाँ उत्साह र उमंगका साथ नयाँ सपना बोकेर उही प्यारो विद्यालय जानेछौं। नयाँ किरण, नयाँ दिन अवश्य आउने छ।
(क्लासिक श्रेष्ठ अलादिन नवोदय शिशु सदन कमलडाँडा, हेटौँडामा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com