सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
सूचना प्रविधिको महत्व शब्दमा व्यक्त गर्न सकिँदैन। यसले पूरै विश्वलाई एउटा सानो गाउँमा परिणत गरेको छ। सूचना प्रविधिको आविष्कार मानिसको जीवन सरल र सहज बनाउनका लागि भएको हो। तर यसको सदुपयोग गर्ने की दुरूपयोग गर्ने उपभोक्ताको हातमा हुन्छ।
केही मानिस प्रविधिको सदुपयोग गरेर फाइदा उठाइरहेका छन् भने कतिपय मानिस यसको दुरूपयोग गर्नमै व्यस्त हुन्छन्। प्रविधिको दुरूपयोग विभिन्न प्रकारले भइरहेको छ। कोही आफ्नो मोबाइल चलाएर समय खेर फालिरहेका छन् भने कोही अफवाह फैलाएर मानिसलाई सताइरहेका। सामाजिक सञ्जालमा नै हेराैं। मानिसहरू गलत समाचार फैलाई मानिसलाई भ्रममा पारिरहेका छन्।
झन आजभोलि त कसैसँग सानोतिनो मनमुटाव हुने बित्तिकै मानिसहरू सामाजिक सञ्जालमा, मनमुटाव भएको मानिसको बारेमा व्यर्थ नकारात्मक कुरा फैलाउन थाल्छन्। मुख्यत: अरूको उन्नति प्रगति देख्न नसक्ने मानिसहरू प्रगति हासिल गरिरहेको मानिसको बारेमा समाजिक सञ्जालमा नकारात्मक हल्ला फैलाउँछन्।
प्रविधिको दुरूपयोगका कारण एउटै परिवारमा पनि मायाप्रेम, सद्भाव घटिरहेको देख्न पाइन्छ। जस्तै उदाहरणको रूपमा केही वर्ष पहिलेका मानिसहरूको जीवनशैलीलाई लिन सकिन्छ। घरका वृद्ध सदस्यहरूका अनुसार, जहाँ परिवारका सम्पूर्ण सदस्य दिनभर काम गर्थे अनि साँझपख एउटै छानामुनि सँगै बस्दै मिठोमसिनो जस्तो भए पनि खाएर एकआपसमा सुखदुख साट्दै रमाइलो साथ आउने भोलिका दिनका लागि योजना बनाउथे।
तर अहिलेका मानिसहरू खाना खाई नसक्दै ट्याब, मोबाइल, ल्यापटप समातेर अलगअलग दिशा पट्टि फर्कन्छन् र यहाँ सामाजिक सदभाव, मायाप्रेमको अस्तित्वलाई ओझेलमा पारिएको छ। यसको दुरूपयोग बालकदेखि वृद्धसम्म जहाँसुकै देख्न सकिन्छ।
प्रविधिका बेफाइदा हुँदाहुँदै पनि यसका असीमित फाइदाहरू छन्। कोरोना माहामारीका कारण अहिले हामी घरमा मात्रै सीमित छौँ। त्यहि पनि विधार्थी र कर्मचारी आफ्नो काम प्रविधिका माध्यमबाट घरमा बसी–बसी गरिरहेका छन्। केही मानिसको त जीवन जिउने आधार नै प्रविधि बनेको छ।
उदाहरण, विश्व प्रसिद्ध कम्पनी माइक्रोसफ्ट। अन्य अनलाइन कारोबार गर्ने कम्पनीलाई पनि लिन सकिन्छ। अहिले त नेपालमा पनि प्रविधिको माध्यमबाट सेवा प्रदान भइरहेको छ।
जस्तै: स्कुल/कलेजमा अनलाइन कक्षा, बैंकमा अनलाइन बैंकिङ, सरकारी कार्यलयमा अनलाइन आवेदन आदि। प्रविधिको कारण मानिसको पहुँच पृथ्वीमा मात्र सीमीत नभई अन्तरिक्षमा समेत पुगेको छ। प्रविधिको माध्यमबाट विश्वको एक ठाउँबाट समाचार अर्को ठाउँमा मिनेटमै पुग्छ।
यी सबै फाइदा र बेफाइदा मानव सिर्जित हुन्। त्यसैले यसको समाधान पनि हामीसँगै हुन्छ। बस हामीले प्रविधिलाई कस्तो रूपमा प्रयोग गर्ने त्यसमा भर पर्छ। हामीले प्रविधिको उपयोग गर्दा सोच्नु पर्छ कि यसको असर कसलाई र कसरी पर्छ र परिणाम कस्तो निस्किन्छ। अन्त्यमा म यति भन्न चाहन्छु कि सक्छौं भने प्रविधिको सदुपयोग गरौं। नत्र दुरूपयोग पनि नगरौं।
(प्रथित पुजारा बुढानिलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com