सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
मनमा भरपुर माया र तनमा अघि बढ्ने जोस
स-साना आँखामा अडिएका अनगिन्ती सपना
ओठमा मीठो मुस्कान
मस्तिस्कमा भावना नभई विचारको लहर
जीवन बाँच्ने मात्र होइन
पूर्ण रूपमा जिउने रहर
त्यो रहर जसले जीवित राखेको छ मलाई
सिकाउँदै छ मलाई
त्यो प्रेम जसले जिउन
यो विशाल संसारमा
जातको नाममा
प्रेमसमेत बाँडिने यो संसारमा
जीवनसँग नि:स्वार्थ प्रेम गर्न सिक्दैछु म
संसार नियाल्ने इच्छा राखेका यी आँखा
र सत्य बोल्ने वाचा गरेका
यी ओठ लिएर
हार-जीतको संसारमा
शीर उठाएर होइन
झुकाएर पनि जित्न सिक्दैछु म
ईश्वरको सुगन्ध र
दानवको दुर्गन्ध नजान्ने यो नाक
जान्दछ त मात्र सास फेर्न
जीवन जिउनसमेत कारण
चाहिने यो संसारमा
मैले फेर्ने साससित
मुस्कुराउन सिक्दैछु म
करूणा र स्नेहको भाषा बुझ्ने यो मनले
बुझ्न चहादैन त जीवन
र चाहन्छ जीवनलाई केवल जिउन
त्यसैले त
सही र गलत भनि
दुई भागमा बाँडिएको यो संसारमा
नैतिकता नभई आध्यात्मिकताको मार्ग
रोज्न सिक्दैछु म
किनकि
असीमित रहन चाहन्छ यो जीवन
दिनमा नै सपना देख्न चाहन्छ यो जीवन
चाहन्छ नाच्न, गाउन, रमाउन
तर
शान्त रहन चाहन्छ जीवन
तब त
मनमा भरपूर माया र
तनमा अघि बढ्ने जोस
स-साना आँखामा
अडिएका अनगिन्ती सपना
र ओठमा मीठो मुस्कान लिएर
जीवन बाँच्न मात्र होइन
पूर्ण रूपमा जिउन सिक्दैछु म
मेरो यो सिकाई कहिल्यै नरोकियोस्
कहिल्यै न सकियोस्
(स्वेच्छा अधिकारी नवोदय शिशु सदनमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com