सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
अँधेरीका यात्राहरू
रङ्गैरङ्गले सजिएका
इन्द्रेणीको मालाले
तराई, पहाड र हिमाललाई
रङ्गाउदा
गर्जिएका बादलबाट
निक्लिएका चट्याङहरूले
नीति बेच्ने
खजुरोलाई तर्साउँदा
जून मुस्कुराउँदै
उदाउनेछन् अनि
हट्नेछन् अँधेरीका यात्राहरू।
कुटो, कोदालो, हलोलाई
संगीनी बनाई
बिहानीको चिरबिर
आवाजसँगै अघि बढाएको
ती सङ्घर्षका पाईलाहरू
अनि
बिहानीको मिरमिरेमा
रातो टीका लगाई परदेशीएका
कदमहरू
जब कलमको मसिले
शिक्षित बनाउने छन्
हट्नेछन् अँधेरीका यात्राहरू।
पिँजडामा बन्द ती
नारी संघर्षहरू
चकोर बनी
खुल्ला आकाशमा
पखेटा फिजाउँदा
गुन्गुनाउने छन् चराहरू
जब
उजेलीसँगै
कमजोर हुनेछन्
उल्लुका दृष्टिहरू
आफूलाई बिलाएर
अर्काको सेवामा समर्पित
हुने देशबिहिन बादलहरूले
रंगाउने छन् जब भुगोलहरू
जल्ने छन् जब शान्तिका
दिप निभाउन खोज्ने
पुतलीहरू
अनि फेरि
घन्किने छन् देशभक्ति
मादलका धुनहरू
तब
हट्नेछन् अँधेरीका यात्राहरू।
गँगौटी सबै पवित्र हुँदैन
कङ्क सधैं
मांसाहारी हुन सक्दैन
त्यसैगरी सँधै
औँसी हुँदैन
सुनौलो किरण उदाएसँगै
हट्नेछन् अँधेरीका यात्राहरू।
(कमल आले मगर हेटाैंडा फापरबारीमा बस्छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)