सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
प्रिय याङ्सी,
धेरै धेरै सम्झना।
सायद तिमीलाई सम्झना छ कि छैन? हाम्रो भेट भएको ठ्याक्कै एक वर्ष भएछ। पोहोर साल जुलाई महिनामा चीनको सांघाईबाट हुनान् जाने बेलामा ट्रेनको एउटै वर्थमा वल्लो पल्लो सिट परेपछि हाम्रो भेट भएको थियो।
याद छ याङ्सी? सामुन्नेमा मलाई देख्ने बित्तिकै ‘आर यु अल्सो चाइनिज?’ भनेर कति छिटो सोधेकी थियौ तिमीले।
मैले ‘होइन म त नेपालबाट चीन घुम्न आएको’ भनेपछि तिमीले एकछिन त ट्वाँ परेर मलाई हेरेकी थियौ। त्यसपछि हामीले एकअर्का सँग आ–आफ्नो नाम सोधेका थियौं। संयोगले तिम्रो र मेरो कक्षा ग्रेड पनि चार नै रहेछ। हामीले आ–आफ्नो स्कुल र सरम्यामको बारेमा धेरै कुरा गरेका थियौं।
आफ्नो स्कुलको बारेमा बताउँदै तिमीले भनेकी थियौ, ‘बिहान आठ बजे नै स्कुल जानुपर्छ। स्कुलबस घर नजिकै रोडसम्म आउँछ। स्कुल पुगेर खाजा खाएपछि पढाइ सुरू हुन्छ। दिउँसो खाना खाएपछि दुई घन्टा सुत्न पाइन्छ। सर म्यामहरू पनि सुत्नु हुन्छ। स्कुलमै बेडरूम हुन्छ। उठेर फ्रेस भएपछि फेरि क्लास सुरू हुन्छ। त्यसपछि खाजा खाइन्छ। अनि छुट्टि हुन्छ।’
स्कुलमै सुत्न पाउने तिम्रा कुराले म त छक्क परेकी थिएँ। अझ विद्यार्थीहरूका लागि चाहिने किताब, कापी, कलम, कम्प्युटर अनि ड्रेस र खाना समेत स्कुलले नै दिन्छ भनेर तिमीले सुनाउँदा म झन अचम्म परेकी थिएँ। हाम्रो स्कुलमा त हरेक महिना क्लास टिचरले कक्षामै ल्याएर बिल दिनुहुन्छ। घरमा लगेर मामुबाबालाई दिनुपर्छ। उहाँहरूले स्कुल गएर बिलमा लेखे बमोजिमको रूपैयाँ तिर्नुपर्छ। रूपैयाँ तिर्न ढिलो भयो भने 'एक्जाम'को एडमिट कार्ड नै आउँदैन। यति कुरा मैले सुनाएपछि तिमी पनि छक्क परेकी थियौ।
याद छ नि याङ्सी? एकैछिनको चिनजानमा पनि हामी कति मिल्ने साथी भएका थियौं। खानेकुरा बाँडेर खाएका थियौं। रातभरको रेल यात्रामा अबेरसम्म नसुतेर धेरै गफ गरेका थियौं। तिम्रो चाइनीज अंग्रेजी बुझ्न गाह्रो भएको बेला मलाई हातको इसाराले बुझाउने प्रयास गर्थ्यौ। अनि मैले पनि त्यसै गर्न थालेपछि हामी दुवै बेस्सरी हाँसेका थियौं।
तिम्रो र मेरो मामुहरूले हाम्रो कुराकानीको भिडिओ बनाउनु भएको रहेछ। धेरै फोटो पनि खिच्नु भएको रहेछ। अहिले लकडाउनमा घरभित्रै बस्दा बोर भएपछि मैले त ति फोटो र भिडिओ खुब हेरेँ। बडो रमाइलो लाग्यो। तिम्रो याद पनि एकदम आयो। सायद तिमीले पनि हेर्यौ होला है!
चीनमा त कोरोना भाइरस नियन्त्रण भइसक्यो रे। त्यसैले लकडाउन सकिएर बजार र स्कुलहरू सबै खुलिसके भन्ने समाचार आइरहेका छन्। सायद तिमी पनि स्कुल जान थाल्यौ होली।
तर हेर न याङ्सी! हाम्रो देशमा त कोराना भाइरस आजकल एकदम फैलिँदै गएको छ। मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ। तिम्रो देशमा जस्तो कडा नियम नभएर होला यहाँ त मान्छेले लकडाउन पनि राम्रोसँग पालना गरेनन् रे। सरकारले पनि राम्रो व्यवस्था गर्न नसकेर एकदम भद्रगोल भइरहेको समाचार सुनिन्छ।
क्वारेन्टिनमा बसेका मानिस पनि टेष्ट नगरीकनै घरतिर गइसके रे। कत्ति जनाको त क्वारेन्टिन मै मृत्यु भएपछि रिपोर्ट पोजिटिभ आयो रे। त्यसैले होला मान्छेहरूले लकडाउनकै बेला पनि सरकारको विरोध गरेर नारा जुलुस गरेका छन्।
१६ जुनदेखि लकडाउन त खुलेको छ। तर हाम्रो स्कुल लाग्ने कुनै ठेगान छैन। सरकारले घरमै बसेर अनलाइन कक्षा लिने भनेको छ। इन्टरनेट र कम्प्युटर नहुनेलाई रेडियो र टिभीबाट सुन्ने व्यवस्था पनि गरेको छ। तर घरमा बिजुली पनि नहुनेले के गरेर पढ्ने होलान्? एकदम अप्ठ्यारो छ।
मेरो साथीको घरमा एउटा ट्याब र एउटा कम्प्युटर छ तर चार भाइबहिनी भएकाले कसरी पढ्ने? उसका मामुबाबाले यस्तो बेलामा अर्को कम्प्युटर किन्न सकिन्न भन्नुहुन्छ रे। घरमा सधैं झगडा हुन्छ भन्दैथी। अचम्म त के भने लकडाउनभर नखुले पनि 'फी' तिर्नुपर्छ भनेर मामुबाबाको मोबाइलमा स्कुलबाट म्यासेज पो आइरहन्छ भन्या।
के गर्ने साथी, दिनहरू यसरी नै बित्दैछन्। हुनानको छाङ्सामा ट्रेनबाट ओर्लेर एकअर्कालाई बाइबाइ गर्दै हामी छुट्टिएका थियौं। छुट्टिने बेला मैले अर्को साल नेपाल घुम्न आउनु भनेर तिमीलाई निम्तो पनि दिएकी थिएँ।
तिमीले पनि मामुबाबासँग घरमा कुरा गर्छु भनेकी थियौ। तर कोरानाले सब योजना भताभुङ्ग पारिदियो है! तर पनि तिमी जहाँ छ्यौ मेरो मनको सम्झनामै छ्यौ याङ्सी। सधैं सम्झनामा...
उही तिम्रो साथी
मेधावी भुसाल
भानुभक्त मेमोरीयल स्कुल, पानी पोखरी काठमाडाैं।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)