सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
'मिडिया'को अर्थ आमसञ्चारका साधन भन्ने हुन्छ भने 'लिटरेसी'को अर्थ सारक्षता हुन्छ। मिडिया र सारक्षता यी दुइटा शब्द मिलेर बनेको मिडिया सारक्षताले आम सञ्चारका साधन वा क्षेत्रको ज्ञान चेतनाको फैलावट भन्ने बुझाउँछ।
मिडिया साक्षरता यस्तो चेत हो जसले हामीलाई कुनै पनि समाचार वा सूचनालाई आलोचनात्मक विश्लेषण गर्नेदेखि तथ्यपरक सूचना सामग्री उत्पादनसम्मको ज्ञान दिन्छ। कुनै व्यक्ति वा एक ठाउँका कुरा अर्को ठाउँमा आदान प्रदान गर्ने माध्यम नै सञ्चारका साधन वा मिडिया क्षेत्र नै हो। नेपालमा मिडिया लिटरेसीको ऐतिहासिक विकास यात्रा धेरै लामो नभए पनि यसले दिन प्रतिदिन प्रसारित गर्दै आएको सफलता आश लाग्दो देखिन्छ।
वस्तुतः मिडियाले टेलिभिजन, रेडियो, नेट, इन्टरनेट एवम् आम पत्रकारिताका माध्यमबाट विचार धारणा प्रवाहित गर्छन्। लेखपढ गर्न जान्ने समुदायमा मात्र नभई अशिक्षितहरूलाई शिक्षित बनाउन मिडिया सारक्षताको महत्त्वपूर्ण भूमिका रहिआएको छ। वर्तमान ज्ञान विज्ञान र प्रविधिकाे क्षेत्रमा मिडिया साक्षरता ज्ञान प्रवर्द्धनका लागि नभई नहुने अभिन्न अंग बनिसकेको छ।
मिडिया क्षेत्र कुनै पनि प्रजातान्त्रिक मुलुकको चौथो अंगका रूपमा परिभाषित हुँदै आएको छ। राष्ट्रलाई शिक्षित, विकसित, र सम्बृद्ध बनाउँदै लैजान मिडियाले प्रमुख भूमिका निर्वाह गरेको हुन्छ। सञ्चारको अभावमा आजको ज्ञान विज्ञान र प्रविधिको क्षेत्र अधुरो नै रहन्छ। मिडियाले आम जनमानसमा सीप विकास गर्न धेरै सहयोग पुर्याएको छ।
मिडियाबाट प्राप्त सूचनाले हामीमा चेतना जागेको छ। आजको यस कोरोनामय अवस्थामा यदि मिडिया क्षेत्रको सक्रियता नहुँदो हो भने हाम्रो जीवन अकल्पनीय हुन्थ्यो। कुन देशमा कति जना संक्रमित भए, कतिले ज्यान गुमाएजस्ता कुरा मिडियाबाट नै सम्प्रेषण भइरहेका छन्।
कोरोनाले निम्त्याएको त्राहिमय अवस्थामा आज हामी चार दिवारभित्र सीमित भएका छौं। विद्यार्थीहरू विद्यालय जान नपाई घरभित्रै बस्न बाध्य भएका छन्। यस्तो बेला मिडिया र मिडिया सारक्षताको अवधारणा हुँदैन थियो भने हाम्रा लागि अनलाइन कक्षा एवम् भर्चुअल क्लास 'आकाशको फल आँखा तरी मर' जस्तै हुन्थ्यो। यसकारण मिडिया साक्षरताको अवधारणा विश्वभर बढ्दै गइरहेको छ र यो मानवको मुटु जस्तै अभिन्न अंग बन्न सफल भएको छ।
मिडिया क्षेत्रअन्तर्गत टेलिभिजन, रेडियो, इन्टरनेट,मोबाइल, पत्रपत्रिका, रेडियो आदि पर्छन्। यिनलाई मिडियाकै प्रकारका रूपमा पनि हेर्ने गरिन्छ। नेपालमा सर्वप्रथम मिडियाको स्थापना गोरखापत्रबाट भएको हो। यसको स्थापना वि.सं १९५८ वैशाख २४ गते भएको हो। त्यसपछि वि.सं १९७० मा काठमाडौंमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको हो। मिडियाकै एउटा मुख्य क्षेत्र रेडियोको विस्तार नेपालमा रेडियो नेपालबाट भएको पाइन्छ। यसको स्थापना वि.सं २००३ सालमा भएता पनि नियमित रूपमा यसको सञ्चालन वि.सं २००७ चैत्र २० बाट भएको हो।
अहिलेसम्म आइपुग्दा ६९७ वटा रेडियो सञ्चालन गर्न मन्त्रालयबाट स्वीकृति लिइसकेका छन्। हाल ५६२ नियमित सञ्चालनमा छन्। नेपालमा सञ्चालन भएका रेडियोहरूले राष्ट्रिय स्तरमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमासमेत ख्याति पाउन सफल भएका छन्। बिबिसी, बेजिङ् चाईना लगायत कायाकैरन, नेपाल दर्पणको विश्वव्यापी सञ्चार यसका ज्वलन्त नमूना हुन्।
त्यसैगरी, गोरखापत्रबाट सुरू भएको नेपाली पत्रकारितामा २०४६ सालको प्रजातन्त्रको पुनर्स्थापना पछि पत्रपत्रिका प्रकाशनमा बाढी नै आयो। नेपालको पत्रकारिताको प्राथमिकतामा प्रायः राजनीतिक घटनाक्रमको बोलबाला रहेको पाइन्छ।
राज्यलाई बनाउने नीति राजनीति भएकाले यसको इतिहासदेखि नै राजनीतिक घटनाक्रमको चर्चा गर्नु र राजनीतिज्ञहरूको वरिपरि केन्द्रित रहनु मिडियाको नियति नै बनेको छ। सूचना विभागको तथ्याङ्कलाई हेर्दा ७ हजार ५ सयभन्दा बढी पत्रपत्रिका र अन्य सञ्चारका माध्यमहरू छन्। अहिलेको सन्दर्भमा हेर्ने हो भने हरेक मानिसको हात-हातमा मिडियाको पँहुच छ। २०५० सालपछि नेपालमा मोबाइल भित्रिएपछि नेपालमा मिडिया क्षेत्रको विकास द्रुत गतिमा भएको पाइन्छ। २०६० को दशकपछि यी मिडिया र प्रविधिहरूको दिन प्रतिदिन अझ विकास हुँदै आइरहेको छ।
आजको ज्ञान विज्ञान र प्रविधिको युगले गर्दा हामीसँग हातहातमा मिडियाका साधनहरू छन्। विज्ञानद्वारा निर्मित इन्टरनेटले मानिसलाई जोड्ने काम गरेको छ। नेपालमा इन्टरनेटका प्रयोगकर्ताहरू बढ्दै गइरहेका छन्। नेपालमा हाल १ करोड ६५ लाखका हाराहारीमा इन्टरनेट प्रयोगकर्ता पुगेका छन्। यो नेपालको कुल जनसंख्याको ५५.८५५ हो। इन्टरनेटका प्रयोगकर्ताहरू बढेसँगै नेपालमा मिडिया सारक्षता पनि बढ्दो क्रममा छ। मिडियाले दिएको सूचनाभन्दा पनि कुन मिडिया र कसले दिएको सूचना प्रभावकारी रहेको भनि विश्लेषण गर्ने क्षमता शिक्षित पाठक, दर्शक एवं स्रोतामा बढ्दै गइरहेको छ। प्रतिक्रिया वा सन्देश प्रतिसन्देश पस्कने क्रम बढेर गएको पाइन्छ।
जति मात्रामा साक्षरता बढ्छ, उति नै मात्रामा मिडिया सन्देशको मूल्याङलन गर्ने क्रम बढ्छ। मिडिया दुरूपयोग हुन सक्ने खताराबाटै मिडिया सारक्षताको सन्दर्भ उठेको हो। आफ्नो मिडिया च्यानललाई प्रचार-प्रसार गर्न र आफ्नो च्यानललाई अझ बढी प्रभावकारी बनाउन मिडियाले सही सूचनामा मरमसला हालेर तिललाई पहाड बनाउने गरेका छन्। जसलाई हामीले पीत पत्रकारिता पनि भन्न सक्छौँ। खोज अनुसन्धान नै नगरी हल्लाका भरमा मिडियाले सूचना दिने गर्छन्। मिडियामा बढेको 'कपी-पेस्ट' गर्ने चलनले मिडिया सारक्षतालाई धेरै हदसम्म रोक्न सफल भएको छ। साथै, पीत पत्रकारिताको क्रम बढ्दै गएता पनि मिडिया सारक्षताको बढ्दो जनचेतनाले यसको न्यूनिकरण गरेको पाइन्छ।
मिडिया राष्ट्रको स्वतन्त्र पक्ष भएता पनि राजनीतिको बढ्दो दबाब र मनग्य पैसा कमाउनका लागि भ्रामक समाचार सम्प्रेषित गर्ने गर्छन्। मिडिया सारक्षताको अभिवृद्धिमा यस्ता घटनाले अवरोध पुगाए पनि सुधार हुनु नितान्त आवश्यक नै देखिन्छ। मिडिया दुरूपयोगबाट निम्तिएको सकारात्मकभन्दा नकारात्मक पक्षको न्युनीकरणका लागि नेपाल लगायत विश्वका धेरै देशहरूले साइबर कानुनलाई कार्यान्वयनमा ल्याएको कुरा हामीले बिर्सनु हुँदैन। मिडिया दुरूपयोगलाई नियन्त्रण गर्ने साइबर कानुन मिडिया सारक्षताको एउटा पाटो भएता पनि यसको असल पक्षका रूपमा अहिले भइरहेको अनलाइन कक्षालाई लिन सकिन्छ। यसले सहरिया र प्रविधिको पहुँचमा नरहेका र दूरदराजमा रहेका विद्यार्थीलाई समेत जागरूक बनाउन उत्प्रेरित गरेको छ।
मूख्यतया: मोबाइलको सहयोग मिडिया सारक्षताको अभियानलाई स्तरीयता प्रदान गर्न अझ उपलब्धिपूर्ण बन्दै गइरहेको छ।
अन्ततः नेपाल विकासोन्मुख गतिमा अघि बढिरहेको देश हो। नेपालले विकासको गतिमा फन्को मार्दै गर्दा देशमा भएको भ्रष्टाचार, अन्धविश्वास, छुवाछुत जस्ता विकृतिले विकासको गतिलाई रोकिदिन्छन्। समाजमा भइरहेका यस्ता घटनालाई जनता समक्ष पुर्याउने काम मिडियाकै साधनले गरेको हुन्छ। जनतालाई सहि सूचना दिने काम मिडियाले गरेको हुन्छ। कतिपय सन्दर्भमा पीत पत्रकारिताले असल मिडियाको कार्यमा अवरोध पुर्याएता पनि साँचो अर्थमा असल मिडिया सारक्षताको अभियानले जनजागरण ल्याउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। राज्यको चौँथो अंगका रूपमा रहेको मिडिया जगतले आम सर्वसाधारण जनसमुदायमा साक्षरता जगाउन महत्त्वपूर्ण कार्य गर्नुका साथै समाजका आर्थिक, सांस्कृतिक र शैक्षिक जगतका बहुआयामिक क्षेत्रमा ज्ञान विज्ञान र प्रविधिका नयाँनयाँ संचेतना ल्याउन बहुपक्षीय भूमिका निर्वाह गरेको हुन्छ।
‘विज्ञान विदुरे भवन्तु भवताम्’ भनेजस्तै महाभारतका बुद्धिमत्तापूर्ण पात्र विदुरको जस्तो ज्ञान विज्ञानको विशिष्ट चेतना मिडिया सारक्षता अभियानले निर्वाह गर्न सक्नुपर्छ। मिडियाको साक्षरता नहुँदा समाज दृष्टिविहिन-अपाङ्ग हुने भएकाले यसको चौतर्फी विकासको आवश्यकता छ। यसका लागि सरकारले मिडिया सारक्षतालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने हुन्छ। यसको व्यापकताका लागि मिडिया सारक्षता बुझेका व्यक्तिहरूमार्फत आम जनमानसमा यसको महत्त्वका बारेमा अझ बढीभन्दा बढी जनचेतना फैलाउँदै जानु आवश्यक छ।
राष्ट्रको चौथो अंगलाई अझ बढी सबलीकरण गरी मिडिया सारक्षतालाई व्यापक बनाउँदै हाम्रो देश नेपाललाई समुन्नत, सम्बृद्ध र विकसित बनाउन मिडिया सारक्षताबाट अझ सशक्त भूमिका निर्वाह हुनु आजको अपरिहार्य आवश्यकता हो।
(पवन भट्ट पञ्चाेदया सेकेन्डरी स्कुल, धनगढीमा कक्षा १० मा अध्ययनरत छ्न्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)