सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम अध्याय सिंह ठकुरी हो। कक्षा ३ मा पढ्छु। मलाई फुर्सदको बेला नयाँ-नयाँ ठाउँ घुम्न मन पर्छ। नयाँ ठाउँहरू घुमेर पनि हामीले धेरै कुरा सिक्न सक्छौ अनि रमाइलो गर्न सक्छौं।
अहिले कोरोना भाइरसको कारण विद्यालयहरू बन्द छन्। बाहिर हुलमुलमा घुम्न जानु हुँदैन। एकान्तमा घुम्न जान मिल्छ। केही दिनअघि म मेरो बुवासँग हाम्रो गाउँ गएको थिए। बुवाको पुरानो घर टिस्टुङ् हो। मकवानपुर जिल्लामा पर्छ। पहिलो दिन हामी काठमाडौंदेखि टिस्टुङ्सम्म गयौं। एक रात त्यहाँ बसेपछि भोलिपल्ट हामी हेटौंडाका लागि निस्कियौं। टिस्टुङबाट हेटौंडा जान पृथ्वी राजमार्गबाट जानु पर्छ। पृथ्वी राजमार्गलाई बाइरोडको बाटो पनि भनिन्छ।
बुवाले भन्नुभएको, यो राजमार्ग नेपालको सबैभन्दा पहिलो राजमार्ग हो रे। यसले इन्डिया र नेपाललाई जोड्ने काम गर्छ।
बाइरोडको बाटो साँघुरो छ, तर धेरै रमाइलो छ। बाटोमा विभिन्न ठाउँहरू पर्छन्। दामन र सिमभन्ज्याङ यो बाटोको सबभन्दा अग्ला ठाउँ हुन्। यहाँ धेरैजसो कुहिरो लागेको हुन्छ। जाडो याममा यहाँ हिउँ पनि पर्छ। काठमाडौंबाट पनि धेरै मान्छेहरू यहाँ हिउँ खेल्न आउँछन्। बाईरोडको बाटोमा धेरै घुम्तीहरू छन्। हरेक घुम्तीमा गाडीले हर्न बजाउनु पर्छ नत्र अर्को तिरबाट गाडी आएको थाहा हुँदैन। गाडी पनि बिस्तारै चलाउनु पर्छ।
बाइरोडको घुम्तीमध्ये २ वटा घुम्तीहरू मुख्य छन्। पहिलोचाहिँ ७ घुम्ती हो। यो नौबिसे काटेपछि आउँछ। यसमा सात वटा घुम्ती छन्। अर्को हेटौंडा पुग्ने बेला आउँछ। यसको नाम १२ घुम्ती हो। यसमा १२ वटा उस्तै-उस्तै घुम्तीहरू छन्। पहाड चढ्न र झर्न यस्ता घुम्तीहरू बनाएको हो रे। घुम्तीको माथि गाडी रोकेर हेर्न मज्जा हुन्छ। फोटो खिच्न र ड्रोन उडाएर भिडिओ बनाउन त झन मज्जा!
टिस्टुङबाट तीन घण्टा गाडीमा गएपछि हामी हेटौंडा पुग्यौं। हेटौंडा धेरै सफा र राम्रो शहर हो। नेपालको सबैभन्दा सफा सहरहरूमध्ये हेटौंडा पनि एक हो रे। हेटौंडाको मुख्य सडकहरूको दायाँ र बायाँ अशोकका रूखहरू रोपिएका छन्। अशोकाका रूखहरू सबै एकनाशका छन् र धेरै राम्रा देखिन्छन्।
हेटौंडापछि हामी मकवानपुर गढी घुम्न गयौं। हेटौंडाबाट कान्ति राजपथ हुँदै १६ किलोमिटरपछि मकवानपुर गढी दरबार पुगिन्छ। बाटोमा हामीले खुवा पनि किन्यौं। मकवानपुर गढी आग्लो ठाउँमा छ। हामी त्यहाँ पुग्दा सिमसिम पानी परिरहेको थियो। धेरै कुहिरो पनि लागेको थियो। गढी दरबार पुग्ने थोरै उकालो बाटो ढलान हुँदै थियो। त्यसैले, हामी खुड्किलाहरू चढेर, हिँडेर नै त्यहाँसम्म गयौ। दरबारको गेटमा पुगेपछि एकछिन आराम गर्यौ र खुवा खायौं। खुवा खाएको कागज खल्तीमा राख्यौं र फोहोर फाल्ने भाँडा भेटिएपछि त्यसैमा राख्यौं।
मकवानपुर गढी शेन राजाहरूको दरबार हो। यो पृथ्वी नारायण शाहको ससुराली गाउँ पनि हो रे। नेपाल एकीकरण गर्ने बेलामा पृथ्वी नारायण शाहले यो ठाउँमा आएर यहाँको राजकी छोरीसँग विवाह गरेको रे। अनि सानो-सानो राज्यहरूलाई लडाई गर्दै जितेर ठूलो नेपाल बनाएको रे। यो ठाउँमा धेरै लडाईहरू पनि भएको थियो रे। अंग्रेजहरूले पनि यो दरबारमा आक्रमण गरेका थिए रे। नेपालको गोर्खाली सेनाले लडाईमा उनीहरूलाई हराई दिएछन्। मलाई यो सबै सुन्दा कुनै फिल्म हेरेको जस्तै लागिरहेको थियो।
गढी दरबार पुग्नुअघि नै एउटा ठूलो हात्तीको मूर्ति रहेछ। त्यो हात्तीको दारा एउटा मात्र थियो। त्यसैले त्यो हात्तीलाई एक दन्ते हात्ती पनि भनिदो रहेछ। त्यो हात्ती पृथ्वी नारायण शाहको बिहेमा दुलही चढाएर दिएको रे। तर त्यो हात्ती त्यही मरेको हुनाले मूर्ति बनाएर राखेको रे।
हात्तीको मूर्ति हेरेपछि हामी मुख्य दरबार हेर्न गयौं। दरबार जाने बाटो राम्रो थियो। नयाँ र रंगीचंगी इट्टाहरूले बनाएको थियो। वरिपरि ठूला-ठूला रूखहरू थिए। घुम्न आउने मान्छेहरूलाई बस्नको लागि राम्रोराम्रो बेञ्चहरू पनि राखिएका थिए। केहि छिनमै हामी दरबार पुग्यौं। दरबार ठूलो तर पुरानो थियो। दरबारको वरिपरि एकदम ठूलो खाल्डो खनिएको थियो। लडाई गर्दा शत्रुहरू दरबारभित्र छिर्न नसकोस् भनेर ठूलो खाडलमा पानी जमाएर राख्ने गरिन्थ्यो रे। अहिले खाडल मात्र छ, पानी छैन।
दरबारको गेटभित्र छिरेपछि दायाँबायाँ भत्किएको पुरानो दरबारको घरहरू थिए। मन्दिरहरू पनि थिए। दरबारको बारेमा जानकारी लेखिएको बोर्ड पनि थियो। पानी पिउनको लागि धारा पनि थियो।
दरबार ठूला-ठूला ढुंगाले बनाइएको थियो। काठका ठूला ढोकाहरू पनि थिए। खानेपानीको लागि पनि खुल्ला ठाउँमा ठूला दुई खाडल बनाइएको रहेछ। म त स्विमिङ्ग पुल भनेर झन्डै झुक्किएको। त्यति बेला अग्लो ठाउँमा आकाशबाट परेको पानी जम्मा गर्नको लागि खाडल बनाको रे।
दरबार वरिपरि ठूलो पर्खाल पनि थियो। पर्खालको बीचबीचमा खाली ठाउँहरू छोडिएको थियो। लडाई गर्दा तोप हान्नलाई त्यो खाली ठाउँ बनाएको रे। दरबारभित्रको कोठाहरू भने हेर्न नमिल्ने रहेछ। ठूलो ताल्चा लगाएको थियो। दरबारको अग्लो भागमा नेपालको ठूलो झन्डा थियो। झण्डाको फेदमा कालो मार्वलमा नेपालको नक्सा कुदिएको थियो। योचाहिँ नेपालको अहिलेको नयाँ नक्सा हो रे।
दरबार भित्र थुप्रै खाली चौर थियो। हरियो थियो। मैले पहिलो पटक लज्जावती झार पनि देखें। यो झार त अचम्मको हुँदो रहेछ। छुयो कि लजाउने (खुम्चिने)। मैले साथीहरूलाई देखाउन हुन्छ भनेर यसको भिडियो पनि बनाएँ। हामी केहि छिन् बसेपछि त्यहाँबाट फर्कियौ। बाटोमा शालकको पार्क रहेछ। शालक भनेको एक प्रकारको जनावर हो। अचेल धेरै पाउदैन। नेपालबाट सकिन लागेको छ रे। त्यसैले, हामीले शालकलाई मार्नु हुँदैन।
शालक पार्क ठूलो थियो तर हेर्न लायकका कुराहरू धेरै थिएनन। पार्कबाट हेटौंडा बजार भने राम्रो देखिन्थ्यो। फर्किदा बाटोमा हेटौंडा नजिक माछा पाल्ने ठूला ठूला पोखरीहरू थिए। हामीले त्यहाँ पनि केही फोटा खिच्यौं। त्यसपछि हामी टिस्टुङ फर्कियौं। केहि दिनपछि काठमाडौँ फर्कियौ। यसपालिको मकवानपुर गढी दरबारको यात्रा धेरै रमाइलो भयो। धेरै नयाँ कुराहरू देख्न पाएँ। धेरै नयाँ कुराहरू सिक्न पनि पाएँ।
(अध्याय सिंह ठकुरी संस्कृती इन्टरनेशनल स्कुल, सानो भर्याङ्गमा कक्षा ३ मा अध्यननरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)