सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कथा:
एकादेशमा एउटा प्रसिद्ध सहर थियो। त्यस सहरको नाम थियाे टिभोली। टिभोली सहरमा रहेको एउटा गुफाको बारेमा प्रसिद्ध किम्बदन्ती छ।
त्यो गुफा संसारकै सबभन्दा डरलाग्दो गुफा भनेर चिनिन्थ्यो। त्यस गुफाको नाम भिल्ला गुफा थियो। भिल्ला गुफा ज्यादै गहिरो, अँध्यारो र भयानक पनि थियो। त्यस गुफाको बयान सबैतिर फैलिएको थियो। गुफाको बारेमा सुनेर सद्दे दिमाग हुने कसैले पनि गुफामा जान आँट गर्थेनन्।
किम्बदन्तीका अनुसार गुफामा विभिन्न दसवटा तहहरू थिए। प्रत्येक अघिल्लो तहभन्दा पछिल्लो तह अझ खतरा थियो। त्यहाँ भिमल्ला नाम गरेको एउटा भयानक र दुष्ट राक्षस बस्थ्यो।
किम्बदन्तीअनुसार भिमल्ला एकदमै शक्तिशाली थियो। जसले भिमल्ला राक्षसलाई पराजित गर्छ उसले एउटा सुनको तरबार प्राप्त गर्थ्यो। यदि राम्रो मान्छेका हातमा यो तरबार परेमा यसले दुष्टको नास गरी लोक कल्याणका लागि शक्ति प्राप्त गर्थ्यो। यदि गलत मान्छेका हातमा परेमा संसारको अस्तित्वमा खतरा हुन सक्थ्यो। तर भिमल्ला राक्षसले गुफामा जाने सबैलाई खाने भएकाले कोही त्यहाँ जानुहुन्न भन्ने विश्वास गरिन्थ्यो।
त्यो देशका प्रायः सबैलाई गुफाको कथा थाहा थियो। कथा थाहा पाउने मध्ये एउटा १२ वर्षको बच्चा थियो। उसको नाम जंगवीर थियो। जंगवीर अत्यन्त साहसी थियो। उसलाई दन्त्यकथामा भनिएका सबै कुरा सत्य होइनन्। त्यसमा कुनै रहस्य हुनुपर्छ भन्ने लाग्थ्यो।
उसलाई त्यो रहस्य पत्ता लगाउन मन थियो। तर ऊ गुफा भएको टिभोली सहरभन्दा टाढाको गाउँमा बस्थ्यो। एकदिन त्यो सहरमा उसका आमाबाबाको एउटा जरूरी काम परेकाले जानुपर्ने भयो। जंगवीर पनि उसका आमाबाबासँग टिभोली सहरको यात्रामा निस्कियो। सहर पुगेका दिन उनीहरू होटलमा बास बसे।
उसका आमाबाबालाई थाहा थियो जंगवीरले दन्त्य कथामा विश्वास गर्दैन। रहस्य खोज्न गुफातर्फ नजाओस् भनेर उनीहरूले जंगवीरलाई आफूबाट टाढा जान दिँदैनथे। सहरमा पुगेको भोलिपल्ट उनीहरू किनमेल गर्न गए। जंगवीर पनि उनीहरूसँगै थियो। तर उसको मन बेचैन भइरहेको थियो। गुफा यही सहरमा छ भन्ने थाहा भएकाले गुफा हेर्न जाने रहर जागेर आयो।
आमाबाबा किनमेलमा अलमलिएको बेला उनीहरूको आँखा छलेर जंगवीर बाहिर दौडियो। ऊ गुफाको खोजीमा निस्कियो। उसले जताततै खोजी गर्ने प्रयास गर्यो तर गुफा फेला पार्न सकेन। अन्तमा, उसले थाहा पायो कि गुफालाई सरकारले सुरक्षा दिएर राखेको रहेछ।
यता उसलाई नदेखेर आमाबाबा रोइरहेका रहेछन्। अरू मानिस समेत भेला भएका रहेछन्। ऊ फर्केर आयो र नराम्रो महशुस गर्यो। उसले सोच्यो, 'मैले तीस मिनेट छोड्दा त मेरा आमाबाबा रोइरहनुभएको छ भने जब म गुफामै पसे भने के हुन्छ?'
त्यसपछि उसले मनमनै भन्यो, 'आमाबाबाले थाहा नपाउने गरी म भिल्ला गुफाको रहस्य अवश्य पत्ता लगाउनेछु।'
त्यस दिनदेखि जंगवीरको आमाबाबाप्रतिको सम्मान पहिलेभन्दा अझ धेरै बढ्यो। उसले पेट दुखेर झाडा पखाला लागेकाले आफू शौचालय गएको कुरा बतायो। उसको कुरामा कसैले विश्वास गरेन। किनभने उनीहरूले शौचालयको कुनाकुनामा समेत उसलाई खोजीसकेका थिए।
अरूले विश्वास नगरेको देखेर उसले फेरि भन्यो यो सपिङ् मलको शौचालय फोहोर देखेर म अर्को सपिङ मलको शौचालय गएर आएको हुँ। त्यसैले बढी समय लाग्यो। उसले कुरा मिलाउन खोज्यो तर अझै पनि सबैले उसलाई शंका गरे।
त्यस दिनपछि भिल्ला गुफाबारे सोच्दा पनि आमाबाबालाई नराम्रो लागेको कुराले उसलाई पिरोल्ने गर्थ्यो। तर पनि भिल्ला गुफाको रहस्य पत्ता लगाउनु थियो। भिमल्ला राक्षस वास्तविक थिएन भनेर उसले प्रमाणित गर्नु थियो।
अर्को दिन जंगवीरको परिवार टिभोली सहरको प्रसिद्ध प्राचीन पुस्तकालयमा गए। पुस्तकालयमा गुफाको रहस्य बारेमा अति प्राचीन किताबहरू थिए। जंगबीरको ध्यान ती किताबहरूले खिचे।
उसले आमाबाबासँग ढिपी गर्दै पुस्तकालयसँग अनुरोध गरेर केही रकम तिरेर गुफाको बारेमा लेखिएका किताबहरू केही दिनका लागि भाडामा लियो। उसलाई गुफाको बारेमा अनुसन्धान गर्नु थियो।
उसको आमाबाबालाई छोराको गुफा सम्बन्धी जिज्ञासा देखेर डर लागिरहेको थियो। तर उनीहरू जंगवीरलाई पढ्नबाट रोक्न सक्दैनथे। होटेलमा पुगेर ऊ आफ्नो कोठामा गयो। अनि रहस्यका पुस्तकहरू पढ्न सुरू गर्यो। पुस्तकहरू पढेर उसले यस्तो रहस्य पत्ता लगायो-
आदिम विश्वयुद्धको समयमा विश्वमा दुई साधारण प्रकारका सुन थिए। टिभोली सहरका राजाले एउटा पहाडमा उत्खनन गर्दा ती दुई प्रकारभन्दा भिन्नै विशेष प्रकारको सुन भेट्टाए। त्यो थोरै तर अति दुर्लभ थियो। त्यस सुनमा अद्वितीय शक्ति रहेको कुरा राजाले थाहा पाए। अनि त्यस दुर्लभ सुनको तरबार बनाए। त्यही तरबार प्रयोग गरी टिभोलीले आदिम विश्वयुद्ध जित्यो।
त्यसपछि टिभोलीका राजाले तरबारलाई कसैले थाहा नपाउने गरी रहस्यमय गुफामा राख्ने निर्णय गरे। यसलाई सुरक्षा दिन उनले सुरक्षा गार्डहरूको व्यवस्था गरे। तर बाहिर भने अर्कै कथा प्रचार गरे। कसैले पनि गुफामा जाने विचार नगरून भनी गुफाको भयानकता र भिमल्ला राक्षसको कथा बनाएर प्रचार गरे।
यो रहस्य जंगवीरले ती किताबमध्ये एक किताबमा लेखिएको संकेतको व्याख्या गरेर थाहा पायो। जंगवीर चलाख पनि थियो। उसले यो पनि थाहा पायो कि त्यो तरबार छोयो भने अलौकिक शक्ति प्राप्त हुन्छ। तरबार छुने व्यक्ति नै टिभोलीको राजा हुनेछ।
त्यो रात जंगवीरले बिहान उज्यालो भएपछि गुफा जाने योजना बनाएर सुत्यो। बिहान ऊ चाँडै उठ्यो। उठ्ने बित्तिकै उसको मस्तिष्कमा लगातार एउटा आवाज आयो, 'गुफामा जाऊ, गुफामा जाऊ, गुफामा जाऊ'। त्यसपछि ऊ होटलबाट आमाबाबाको आँखा छलेर गुफातिर लाग्यो।
जंगवीर गुफाको नजिक पुग्यो। त्यसपछि सुरक्षा गार्डको आँखा छलेर गुफाभित्र छिर्यो। जति जति गुफाको मुख्य ढोका नजिक पुग्यो उसले आफूमा शक्ति आएको अनुभव गर्यो। त्यसपछि उसको आँखाबाट क्रमशः अँध्यारो हराउँदै गयो। अन्तमा ऊ गुफाको भित्तामा रहेको मुख्य ढोकाबाट भित्र पस्यो। तहहरू पार गर्दै सजिलै दसौं तहमा पुग्यो। त्यहाँ कुनै राक्षस थिएन। तर रहस्यमय तरिकाले भित्तामा एउटा चम्किलो तरबार राखिएको थियो।
विस्तारै जंगवीरले तरबारमा हात पुर्याएर यसलाई समात्यो। त्यसपछि ऊ भित्र ठूलो शक्तिको सञ्चार भयो। गुफाभित्र उज्यालो भयो भने बाहिर आकाश कालो हुँदै गयो।
तरबार उचाल्नु हुँदैन भन्ने कुरा किताबबाट जंगवीरले थाहा पाएको थियो। उसले तरबार छोएर सबै शक्ति प्राप्त गर्यो तर त्यसलाई उचाल्ने प्रयत्न गरेन। उसले त्यसलाई त्यसकै ठाउँमा यथावत् छाडिदियो। तरबारलाई म्यानबाट झिकेर प्रहार गरेको भए संसारकै विनाश हुने थियो भन्ने कुरा उसले बुझेको थियो। तसर्थ, उसले शक्ति प्राप्त गर्यो र यसलाई संसारको कल्याणमा उपयोग गर्ने निधो गर्यो।
तरबारलाई त्यही छोडी ऊ बाहिर आयो। उसमा अब शक्ति र सामर्थ्य भरिएको थियो। त्यो तरबारमा भएको सबै शक्ति जंगवीरमा सरेको थियो। उसमा राजकीय गुण पनि प्राप्त भएको थियो। यो कुराको सबैतिर प्रचार भयो। उसको जय जयकार भयो। यो कुरा टिभोलीका राजाकहाँ पनि पुग्यो।
टिभोलीका राजाले जंगवीरलाई राजगद्दी सुम्पेर बनतिर लागे। त्यस दिनदेखि जंगवीर टिभोलीको राजा बन्यो। उसका आमाबाबाले पनि यो कुरा थाहा पाए। उनीहरूमा खुसीको सीमा रहेन। जंगवीरले नागरिकहरूको इच्छा अनुसार राज्यमा सुधार गर्यो।
अनि टिभोलीलाई समृद्ध र सुखी राज्य बनाउँदै धेरै वर्षसम्म उसले राज्य गर्यो।
(अपिल पौडेल ढाका, बंगलादेशमा बस्छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)