सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म एलिसा कुँवर। जीवनज्योति इङलिस बोर्डिङ स्कुल, मनमैजुमा कक्षा ८ मा पढ्छु। नुवाकोट जिल्लामा जन्मेकी म अचेल परिवारसँगै काठमाडौंमा बस्दै आएकी छु। आजभोलि विद्यालय बन्द भएकाले घरमै बसेर पढ्ने, केही कुरा लेख्ने, नयाँ नयाँ विषयमा ज्ञान लिने गर्दैछु।
मलाई नेपालका विभिन्न सांस्कृतिक, धार्मिक, ऐतिहासिक पर्यटकीय ठाउँमा घुमफिर तथा अवलोकन गरी धेरै कुरा सिक्न मन पर्छ। गत वर्षको चैत्र महिनामा वार्षिक परीक्षा सकिएपछि बिदामा धेरै ठाउँ घुम्न जाने सोच बनाएकी थिएँ। कोरोनाका कारण टाढा गएर घुम्न भने पाइएन।
लकडाउनका बीचमा मैले आफ्नो गाउँघर गएर केही हेर्ने, जान्ने तथा सिक्ने मौका पाएकी थिएँ। यस बीचमा आमाबुबालाई सघाउन घरको काम तथा अरू नयाँ कुरा पनि गरेँ।
पढेरभन्दा पनि कतिपय कुराहरू हेरेर, अवलोकन गरेर राम्ररी सिक्न बुझ्न पाइन्छ भन्ने कुरा मलाई मेरा शिक्षकले सिकाउनुभएको थियो। आजसम्म काठमाडौंमा रहेका थुप्रै पर्यटकीय ठाउँमा घुमेकी छु। सबैतिर खुल्ला भएपछि अझै धेरै ठाउँ घुम्ने योजना बनाएकी छु। मैले पढ्ने जीवनज्योति स्कुल तारकेश्वरको सुन्दर ठाउँमा रहेकाले त्यहाँ वरिपरि पनि थुप्रै साँस्कृतिक तथा प्राकृतिक सुन्दरता भएका ठाउँ छन्। जहाँ रमाएर मैले आनन्द लिइसकेकी छु।
केही समयअघि मैले राजधानी काठमाडौंबाट झन्डै तीन घन्टामा पुगिने नुवाकोट दरबार घुम्ने मौका पाएँ। त्यति बेला म नुवाकोटमै भएकीले मलाई त्यहाँ घुम्न सजिलो भयो। त्यहाँ चारैतिर रमणीय वातावरण छ। प्राकृतिक सुन्दरताले भरिएको यस ठाँउमा मैले देखेका, सुनेका र सिकेका कुरा आज यहाँ सेतोपाटीमा लेख्दैछु।
नेपाल प्राकृतिक, सांस्कृतिक, भौगोलिक, ऐतिहासिक दृष्टिले निकै धनी छ। यहाँ ऐतिहासिक महत्त्व भएको थुपै ठाउँ छन्। त्यस्तै, ऐतिहासिक ठाउँमध्ये नुवाकोट दरबार पनि एक हो। यो दरबार नुवाकोट जिल्लाको नुवाकोट भन्ने ठाउँमा छ।
पृथ्वीनारायण शाहले नुवाकोट राज्यमाथि विजय पाएपछि वि.सं १८१६ मा आफ्ना सेनालाई यस भव्य दरबारको निर्माण गर्न लगाएका रहेछन्। यस दरबार क्षेत्रमा दरबारका बारेमा थुप्रै जानकारी राखेको देख्न पाइन्छ।
दरबारको अवलोकन गर्न जाँदा यहाँ पछिल्लो पटक आएको भूकम्पले पूरै क्षति पुर्याएको देख्यौं। पुरानो भइसकेको यस दरबारलाई फेरि निर्माण गर्ने काम पनि चलिरहेको रहेछ। पहिले यस दरबार अवलोकन गर्न थुप्रै आन्तरिक तथा विदेशी पर्यटक घुम्न आउने रहेछन्। भूकम्पले यस दरबारमा क्षति पुगेपछि त्यहाँ घुम्न जाने पर्यटकको संख्या घटेको रहेछ। हामी जाँदा भने अलिअलि मान्छे मात्रै त्यहाँ हेर्न आएका देखिन्थे।
दरबारमा पृथ्वीनारायण शाहको पालाका पुराना हात हतियार तथा उनी सुत्ने खाटसमेत संरक्षण गरिएका रहेछन्। अरू पनि थुप्रै हेर्न लायक चिज राखिएका थिए। पृथ्वीनारायण शाहले पटकपटक युद्ध गरे र तेस्रो युद्धमा नुवाकोट जिल्लालाई कब्जा गरेका थिए। उनले नुवाकोटको माथिल्लो भेगमा यस दरबारको निर्माण गर्नुको कारण दरबारबाट आफ्नो सिमानाभित्र कसैले पनि आवतजावत गरेको सजिलै देख्न सकिन्थ्यो।
हरियाली वनको बीचमा रहेको यस दरबारले विगतमा धेरै पर्यटकको मन लोभ्याउन सफल भएको थियो।
काठमाडौं नजिकैको जिल्ला नुवाकोटमा रहेका कारण पनि यो दरबार हेर्ने थुप्रै आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्थे। अहिले कोरोना महामारी र लकडाउनका कारण यहाँ आउने पर्यकटको कमी भएको छ। अवस्था सुधार भएपछि सरकारले यस क्षेत्रलाई अझ प्रचारप्रसार गरेमा यहाँ घुम्ने पर्यटकको संख्यामा निकै वृद्धि हुने देखिन्छ।
भत्किएको दरबारलाई अझै राम्रो बनाई यहाँ रहेका अरू संरचनाको पनि मर्मत सम्भार गरेमा यस दरबारको आकर्षण लामो समयसम्म राख्न सकिन्छ। यसले पछिसम्म देशको इतिहासलाई जोगाएर राख्नेछ। यत्तिकै छोडेमा देशको सम्पत्ति नष्ट भएर जानेछ। यस दरबार हेर्न आउने पर्यटकहरूबाट हुने आम्दानीले यहाँका जनता र देशलाई अझै धनी बनाउने छ।
भूकम्पले भत्काएको यो दरबार अहिले त्यति आकर्षक नदेखिए पनि यहाँ चलिरहेको निर्माण कार्य पूरा हुँदासम्म पहिलेको जस्तै राम्रो बन्नेछ भन्ने विश्वास लिएकी छु। यसको निर्माणको काम सकिएपछि फेरि एकपटक घुम्न गई नयाँ बनेको दरबार हेर्ने सोच बनाएकी छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)