सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम प्रान्जल राज चापागाईं हो। गोदावरी आवासीय मा.वि. मा कक्षा तीन पढेर हाल म घरमै बसी अनलाइनबाट अध्ययन गरिरहेकाे छु।
अहिले म कक्षा चारमा पुगे। कक्षा तीनको परीक्षा हतारहतार सकेर विद्यालय लगायत सबै कुरा कोरोना भाइरस संक्रमणको खतराले बन्द अवस्थामा छ।
मेरो विद्यालयले म पास भएर अर्को कक्षामा गएको खबर मेरो मामुको मोबाइलमा जानकारी पठाएको रहेछ। म पढाई लेखाइमा राम्रो विद्यार्थी हुँ। त्यसैले मलाई चिन्ता लागिरहन्छ। अब लकडाउनमा के गरी पढ्ने होला, के गरी स्कुल जाने, होमवर्क कसरी गर्ने होला, नयाँ कक्षामा गएर नयाँ शिक्षकलाई कहिले भेट्ने होला? मैले जानेका नयाँ कुराहरू साथीहरूसँग र शिक्षकसँग कहिले सुनाउन पाउने होला भनेर म सधैं मामुबाबासँग सोधिरहन्थेँ।
म सधैं नयाँनयाँ कुराहरूको खोजी गर्न मन पराउने भएकाले होला धेरै बोलिरहन मनपराउँछु। मेरो घरमा पनि मामुबाबाले नयाँनयाँ कुराहरूको खोजी गर्न, नयाँ पुस्तक पढ्न प्रेरणा दिइरहनु हुन्छ। त्यसले गर्दा केही समय त बित्यो तर विश्वभर मात्र होइन नेपालमा पनि कोरोना संक्रमणको डर झनै बढ्न थाल्यो।
मेरो घरमा पनि मेरो र दिदीको पढाईलाई लिएर चिन्ता हुन थाल्यो। एक-दुई दिन मात्र होइन, यो स्वास्थ्य समस्या कहिलेसम्म रहिरहने हो अझ थाहा छैन। चैत ११ गतेबाट सुरू भएको लकडाउन बढेको बढेकै छ।
२०७७ सालको वैशाख १० गते मेरो स्कुलले मामुको मोबाइलमा जुम एप डाउनलोड गर्न र त्यसको माध्यमद्वारा पढाई हुने भन्ने जानकारी पठाएछ। त्यो खबर सुनेर म केही खुसी त भए तर मामु र बाबाहरूले खासै राम्रो के होला भनेर चिन्ता लिएको थाहा पाएँ।
अनि मलाई पनि खोई मोबाइल, ल्यापटप त गेम खेल्न, मुभी हेर्न र कहिलेकाहीँ मामुबाबाले के-के थिचेर लेखेको मात्र देखेको थिएँ, यसबाट कसरी पढ्ने होला भन्ने मनमा खुल्दुली भइरहेको थियो। मेरो स्कुलले वैशाख १६ गतेबाट निरन्तर अनलाइन कक्षा सुरू गर्यो।
अनलाइन शिक्षा भन्नाले इन्टरनेटको माध्यमबाट विभिन्न प्रविधिको प्रयोग गरी विभिन्न ठाउँमा भएका शिक्षक र विद्यार्थीलाई एकै ठाउँमा ल्याई सिकाइने रहेछ। सुरूका दिनहरूमा त कहिले बिजुली, कहिले इन्टरनेट, कहिले खोल्न नजान्ने जस्ता समस्या आइरह्यो तर बिस्तारै दुई चार दिनपछि त मेरो अनलाइन कक्षा राम्ररी हुन थाल्यो।
स्कुलले रूटिन पठाएर दिनको दुईवटा कक्षा निरन्तर हुने गर्छ। शिक्षकहरूले पढाउँदा पढाउँदै समय बितेको थाहै हुँदैन। स्कुलको प्रिन्सिपल सरले प्रत्येक दिन म्यासेज पठाएर सबै शिक्षक र हामी विद्यार्थीहरूको हौसला बढाउने कुरा गर्नुहुन्छ। उहाँले अनलाइन कक्षामा मात्र होइन अरू बेला, जहिले, जहाँ पनि हामीलाई रमाइलो साथ, हामीजस्तो व्यवहार गरेर सिकाउने, रमाइलो गर्ने गर्नुहुन्छ। सबै शिक्षकहरूलाई पनि विद्यार्थीहरूलाई कुनै कुराको दबाब नदिन भनिरहनुहुन्छ।
अनलाइनबाट सुरू स्कुलको कक्षामा मेरो शिक्षकहरूले पढाइको कहिल्यै दबाब दिनुहुन्न। ज्ञान दिने हाजिरीजवाफ जस्ता खेलहरू खेलाउदै कक्षा सुरू गर्नुहुन्छ। सामाजिक विषयमा 'राेल प्ले' माध्यमबाट विभिन्न क्रियाकलाप गराई सिकाउनुहुन्छ। गृहकार्य कहिलेकाहीँ त भिडियो बनाएर पनि पठाउने गरेको छौं। असार पन्ध्र, रोपाई दिवसको अवसरमा भएकाले वक्तृत्वकलामा म प्रथम भएको थिएँ। अब स्कुल खुलेपछि मैले प्रमाण पत्र पाउनेछु।
मलाई मेरो स्कुलले सुरूआत गरेको अनलाइन कक्षा धेरै रमाइलो लाग्छ। यो कक्षाको सुरूआतपछि म प्रविधिमा धेरै अगाडि बढिसकेको छु। धेरै कुराहरू चलाउन जानिसकेको छु। म मेरो स्कुलको शिक्षकहरूलाई धेरै धन्यवाद दिन चाहन्छु किनकी यो अवस्थामा सबै जना घरमै हुँदा हामी विद्यार्थीलाई समय निकालेर धैरै नै तयारीका साथ हामीलाई पढाई रहनु भएको छ। एक-एक गरी सबैको गृहकार्य, उपस्थिति, अन्य कार्यमा ध्यान दिइरहनु भएको छ।
हामीलाई सधैं प्रेरणा दिइरहने प्रिन्सिपल सर साथै अन्य सरहरू जो हाम्रो पढाई एक दिन पनि नबिग्रियोस् भनेर लागि रहनुभएको छ। उहाँहरू सबैको कारणले म र मेरा स्कुलका सबै विद्यार्थीले आजको यस्तो अवस्थामा निरन्तर पढ्न पाइरहेका छौं। त्यसैले मेरो स्कुललाई धन्यवाद दिन चाहन्छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)